कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

लालसागरमा हुथी अवरोध

इजरायल र उसका निकट सहयोगी अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकप्रति आक्रामक हुथी विद्रोहीले इजरायल–हमास द्वन्द्व सुरु भएयता लालसागर (रेड सी) मा कार्गो जहाजहरूलाई अवरोध सिर्जना गर्दै आएका छन् ।
सजना बराल

काठमाडौँ — विश्वको सबैभन्दा ठूलो मानवीय संकटले घेरिएको र अरब क्षेत्रकै अति गरिब देश मानिने यमन फेरि एकपल्ट विश्वव्यापी चर्चा र बहुपक्षीय क्षेत्रीय द्वन्द्वको केन्द्रमा छ । करिब पाँच महिनायता यमनको विद्रोही समूह हुथीले रेड सी (लाल सागर) भएर जाने कार्गो जहाजहरूमाथि लगातार आक्रमण गरेसँगै यसले विश्वव्यापी आपूर्ति शृंखला र अर्थतन्त्रमा कम्पन सिर्जना गरेको छ ।

लालसागरमा हुथी अवरोध

युरोप र एसियाबीच सामानहरू ढुवानीका लागि प्रयोग हुने विश्वको एक प्रमुख जलमार्ग, रेड सीमा अशान्ति फैलिँदा यसले मुद्रास्फीतिसँगै अर्थतन्त्रमा दूरगामी असर पार्ने विश्व आर्थिक मञ्चले जनाएको छ ।

अफ्रिका र मध्यपूर्वबीचमा फैलिएको रेड सीले हिन्द महासागरलाई स्वेज नहर र भूमध्य सागरसँग जोड्छ । २२५० किमि लामो र ३५५ किमि चौडा रेड सीको दक्षिणमा हिन्द महासागर र उत्तरमा स्वेज नहर र भूमध्य सागर छ । यो एसिया र युरोपबीचको सबैभन्दा छोटो समुद्री बाटो पनि हो । इजिप्ट, साउदी अरब, यमन, सुडान, इरिट्रिया र जिबोटीको सीमा जोडिएको रेड सीको क्षेत्रफल ४ लाख ३८ हजार वर्गकिमि छ ।

विश्लेषकहरूले विश्वभर जलमार्गबाट हुने व्यापारमध्ये लगभग ३० प्रतिशत स्वेज नहर र रेड सीमा निर्भर रहेको तथ्यांक प्रस्तुत गरेका छन्, जुन लगभग १० खर्ब अमेरिकी डलर बराबर हो । यो संख्या कति ठूलो हो भने विश्वका लगभग १९ देशको कुल गार्हस्थ्य उत्पादन मात्रै सो संख्याको आसपास वा त्योभन्दा बढी छ । फोर्ब्सको २०२४ फेब्रुअरी १५ को तथ्यांकअनुसार विश्वका सात ठूला कम्पनी माइक्रोसफ्ट, एप्पल, साउदी अराम्को, अल्फाबेट (गुगल), अमेजन, एनभिडिया र मेटा प्लाटफर्मको मात्रै कुल बजार मूल्य १० खर्ब डलरभन्दा माथि छ । विश्वभर जलमार्गबाट हुने व्यापारको लगभग १२ प्रतिशत कार्गो जहाजहरू रेड सी र गल्फ अफ एडेन भएर हिँड्ने गर्छन् । तीमध्ये तेललगायत इन्धन बोक्ने कार्गोको हिस्सा ठूलो रहने गरेको छ ।

हाल हुथी समूहको आक्रमणपश्चात् बाटो अवरुद्ध भएकाले जहाजहरूलाई अफ्रिका घुमाएर सबैभन्दा लामो मार्ग हुँदै वारपार गराउन थालिएको छ । यसले गर्दा आपूर्तिको समय र शुल्क बढ्न पुगेको छ । आपूर्तिमा भएको ढिलाइ र उच्च ढुवानी शुल्कका कारण अन्ततः उपभोक्ताले मूल्यवृद्धि खेप्नुपर्ने हुन्छ । रुस–युक्रेन युद्धका कारण विद्यमान आर्थिक दबाबलाई यो संकटले थप पेचिलो बनाउने अनुमान गरिएको छ ।

रेड सीमा देखिएको यो समस्याले भारतको पुँजीगत मालसामान र मल आपूर्तिमा सबैभन्दा बढी प्रभाव पर्ने त्यहाँका थिंक ट्यांक संस्थाहरूको अध्ययनले देखाएका छन् । कच्चा तेल, औषधि र ढुवानी क्षेत्रमा मध्यम असर पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तत्काल भने भाडादर र बिमा लागत बढे पनि आपूर्ति शृंखला प्रभावित नरहेको इकोनमिक टाइम्सको रिपोर्टमा उल्लेख छ । नेपालका महत्त्वपूर्ण आपूर्तिहरू भारत निर्भर रहेकाले भारतले बेहोरेको आर्थिक बोझको प्रभाव नेपालले पनि झेल्नुपर्ने देखिएको छ ।

नेपाली निर्यातकर्ताहरूले चर्को भाडा तिर्नुपर्ने हुन सक्ने साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टका कार्यकारी निर्देशक पारस खरेलले कान्तिपुरलाई बताए । ‘नेपालको एक चौथाइ निर्यात स्वेज नहर हुँदै टर्कीलगायत युरोप र अमेरिकामा हुने गरेको छ,’ उनले भने, ‘नियमित मार्ग छाडेर अन्य मार्ग प्रयोग गर्दा आयात र निर्यात दुवैको भाडा दर र समय बढ्न जान्छ । यसले गर्दा युक्रेनबाट आयात हुनेमध्येको एक सूर्यमुखी तेलको भाउ महँगो हुन सक्छ ।’ रिपोर्टहरूका अनुसार भारतले निर्यात गर्ने वासमती चामल र त्यहाँ आयात हुने छाला, प्लास्टिक र मरमसलाको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।

भारतको करिब २० प्रतिशत व्यापार स्वेज नहरमार्फत हुने गर्छ । नेपालको प्रमुख व्यापारिक साझेदार भारतले लाल सागरको तनावका कारण पश्चिम एसिया र रुसको आयातमा चुनौती खेप्न सक्नेतर्फ व्यापार विज्ञहरूले औंल्याएका छन् । रेड सीको तनाव जारी रहे ढुवानी शुल्क ४० प्रतिशतसम्म वृद्धि हुन सक्ने आकलन गरिएको छ । हुथी विद्रोहीहरूले चाहिँ इजरायलले हमासमा युद्धविराम नगरेसम्म रेड सी हुँदै जाने जहाजहरूमा आक्रमण जारी राख्ने बताउँदै आएका छन् । रेड सीको महत्त्वपूर्ण जलमार्ग अवरुद्ध गर्दै आएका हुथीहरूले अन्तर्राष्ट्रिय व्यापार ठप्प पार्ने प्रयास जारी राखेका छन् ।

यमनको उत्तर–पश्चिमी भेगको अल्पसंख्यक जैदी (सिया मुस्लिमअन्तर्गत) को सम्प्रदायका हुसैन अल–हुथीले १९९० को दशकमा ‘अन्सर अल्लाह’ स्थापना गरेका थिए । यमनको सशस्त्र राजनीतिक तथा विद्रोही समूह अन्सर अल्लाहले हुसैनको नेतृत्वमा उत्तरी यमनस्थित आफ्नो क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेका थिए । २००४ मा युद्धका क्रममा हुसैन मारिएपछि अन्सर अल्लाहको नाम ‘हुथी’ राखिएको हो । हाल यो समूहको नेता अब्दुल मलिक अल–हुथी हुसैनका भाइ हुन् ।

इजरायललाई दुश्मन ठान्ने हुथी समूहले आफूलाई इरान नेतृत्वको ‘एक्सिस अफ रेसिस्टेन्स’ को महत्त्वपूर्ण अंग बताउँछ । एक्सिस अफ रेसिस्टेन्समा सिरिया, लेबनानी सिया विद्रोही समूह हेजबोल्लाह र विभिन्न प्यालेस्टिनी विद्रोही समूहहरू आबद्ध छन् । हुथी समूहले हाल यमनी राजधानी साना र उत्तर–पश्चिमी भूभागमा नियन्त्रण कायम गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार भने दक्षिणी बन्दरगाह सहर अदेनमा सीमित छ ।

गत अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि नै यमनका हुथी विद्रोहीहरू इजरायल र उसका निकट सहयोगी अमेरिका, यूकेलगायतका पश्चिमा मुलुकप्रति आक्रामक देखिएका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार २ सय जनाको मृत्यु भएको थियो । त्यसका साथै, आक्रमणपछि हमासले २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लगेको थियो ।

त्यसको जवाफमा इजरायलले हमासविरुद्ध भीषण आक्रमण गरेसँगै गाजा क्षेत्रमा तनाव जारी छ । इजरायली आक्रमणमा हालसम्म २९ हजार सात सय प्यालेस्टिनीको ज्यान गइसकेको छ । इस्लामिक चरमपन्थी संगठन हमासले २००७ यता गाजा स्ट्रिपमा शासन गर्दै आएको छ । गाजा स्ट्रिपमा २००७ यता इजरायल र इजिप्टले नाकाबन्दी गर्दै आएका छन् । हमासले प्यालेस्टाइनबाट इजरायललाई हटाएर स्वतन्त्र इस्लामिक राज्य स्थापना गर्ने लक्ष्य लिएको छ ।

स्थिति बिग्रँदै गएपछि गाजा क्षेत्रमा युद्धविरामका लागि अमेरिकी प्रशासनले समेत कोसिस जारी राखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको अन्त्यसम्ममा गाजामा युद्धविराम हुनेमा आफू आशावादी रहेको मंगलबार बताएका छन् । यद्यपि, युद्धविरामका लागि हमासले बन्दीहरू रिहा गरिनुपर्ने, इजरायली फौज फिर्ता लगायतका केही सर्तहरू राखेको जनाइएको छ । इजरायली पक्षले भने युद्धविरामबारे केही उल्लेख गरेको छैन ।

अक्टोबर ७ को आक्रमणयता हुथी विद्रोहीले स्वेज नहर कटेर आउने कार्गो जहाजहरूमाथि फाट्टफुट्ट क्षेप्यास्त्र आक्रमण गर्दै आएको थियो । नोभेम्बर १४ मा पहिलो पटक हुथी समूहका नेता अब्दुलले रेड सी भएर जाने इजरायली जहाजहरूलाई रोकिदिने घोषणा गरेका थिए । त्यसलगत्तै नोभेम्बर १९ मा हुथीहरूले इजरायलको स्वामित्वमा रहेको ग्यालेक्सी लिडर नामक कार्गो जहाजलाई रेड सीमै सैन्य हेलिकोप्टर प्रयोग गरी आक्रमण गरेर कब्जामा लिए । त्यो बेला २२ जनालाई बन्धकसमेत बनाएका थिए ।

त्यसपछि हुथीहरूले विशेषतः अमेरिकी र इजरायली ठेगानामा हिँडेका जहाजमा निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न सुरु गरे । इजरायलले गाजामा खाद्यान्न र औषधिजस्ता मानवीय आपूर्ति रोक्ने हो भने आफूहरूले पनि रेड सी हुँदै जाने सबै इजरायली जहाजहरू रोकिदिने हुथीहरूको भनाइ छ । डिसेम्बर १२ मा एक नर्वेली जहाजमा हुथीले क्षेप्यास्त्र आक्रमण भएपछि जवाफमा इजरायलले आफ्नो सबैभन्दा बलियो युद्धपोतलाई सो क्षेत्रमा खटाउने घोषणा गरेको थियो ।

डिसेम्बर दोस्रो सातायता व्यापारिक जहाजहरूमा आफ्नो आक्रमण बढाएका हुथी विद्रोहीले डिसेम्बर १८ मा स्विस स्वामित्वको मेडिटरियन सिपिङ कम्पनी (एमएससी) र नर्वेली स्वामित्वको स्वान एटलान्टिकमा आक्रमण गरेका थिए । सँगसँगै अमेरिकी युद्धपोतहरूमा पनि ड्रोन आक्रमण जारी राखेका छन् । हुथीले डिसेम्बर २३ मा नर्वेली तेल जहाज र डिसेम्बर २६ मा एमएससीको अर्को कार्गो जहाजमा आक्रमण प्रयास गरे । डिसेम्बर २८ सम्म यमनी विद्रोहीहरूले रेड सी भएर पार हुने अन्तर्राष्ट्रिय जहाजहरूमा २२ पटक आक्रमणको प्रयास गरिसकेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

डिसेम्बर ३१ मा तीनवटा डुंगा कब्जा गर्न खोज्ने १० हुथी विद्रोहीहरूलाई अमेरिकी सेनाले मारिदिएपछि जनवरी ३ मा अमेरिका, बेलायतलगायतले अन्तर्राष्ट्रिय जहाजहरूमा आक्रमण नगर्न हुथीहरूलाई अन्तिम चेतावनी जारी गरेका थिए । ‘अरब क्षेत्रको महत्त्वपूर्ण जलमार्गमा मानव जीवन, विश्व अर्थतन्त्र र निर्बाध व्यापारलाई गम्भीर समस्यामा पार्ने गरी सुरु गरेको आक्रमण र त्यसले निम्त्याउने समस्याको जिम्मेवारी हुथीहरूले भोग्नुपर्नेछ,’ चेतावनीमा भनिएको थियो ।

चेतावनीको प्रत्युत्तरमा जनवरी ४ मा अमेरिकी जलसैन्य जहाज र व्यापारिक जहाजको नजिक आक्रमण गरेका हुथीले अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भने जनवरी ९ मा गरेका थिए । उनीहरूले २१ वटा ड्रोन र जमिनबाट समुद्रमा हान्ने क्षेप्यास्त्रमार्फत रेड सीमा आक्रमण गरेका थिए । अमेरिकी रक्षा मन्त्रालयका अनुसार उक्त आक्रमण व्यावसायिक जहाजमाथिको २६ औं आक्रमण हो । जनवरी ११ मा गल्फ अफ एडेनमा हुथीले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि हुथीहरूको नियन्त्रणमा रहेका झन्डै ६० स्थानमा अमेरिका र बेलायतले जवाफी आक्रमण सुरु गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म हुथीद्वारा ३३ वटा अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूमा आक्रमण भइसकेको छ । तीमध्ये १६ वटामा प्रत्यक्ष क्षति पुगेको जनाइएको छ । हुथी नेतृत्वले भने इजरायल समर्थक देशहरूका ४८ वटा जहाजमा आक्रमण गरिएको दाबी गरेको छ । पछिल्लो समय बेलायतका लगभग आधाजस्तो जल यातायात र व्यापार कम्पनीहरूले यी आक्रमणबाट नियमित आपूर्ति अवरुद्ध हुने र आपूर्ति शुल्क बढेर जाने अनुमान गरेकोबारे अलजजिराले समाचार प्रकाशित गरेको छ । सो मार्ग बिथोलिँदा पूरै अफ्रिका अर्थात् ‘केप अफ गुड होप’ घुमाएर लानुपरेको अवस्थामा सिपिङ कम्पनीहरूले झन्डै तीन गुणा बढी शुल्क लिने गरेको बेलायती व्यवसायीको अनुभव छ ।

आयातकर्ता, थोक व्यवसायीसँगै साना उद्यमीहरूले समेत बेलायतमा रेड सी समस्याको कम्पन महसुस गरेको र बिस्तारै यो दबाब धान्न नसकिने प्रतिक्रिया दिएको बीबीसीको समाचारमा उल्लेख छ । रेड सी समस्याका कारण विश्वभर जलमार्गबाट हुने व्यापारको एक भागमा मात्रै प्रभाव पारेको देखिए पनि यसको घुमाउरो असर क्रमशः विश्वका अन्य क्षेत्रमा पनि पर्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन १६, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?