२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सहरमा साइकल रहर

कामको प्रकृतिका आधारमा बजारमा सामान्यतः सिटी, हाइब्रिड, क्याजुअल, क्रस कन्ट्री, ट्रेल, इन्दुर र डाउनहिल  गरी ७ लेबलका साइकल उपलब्ध छन् । तर आफ्ना लागि उपयुक्त हुने साइकलको छनोट गर्न नजान्दा कतिपय साइकलप्रेमीले अनावश्यक दुःख पाउने गरेका छन् । 
प्रशान्त माली

काठमाडौँ — बढ्दो सहरीकरण र जीवनशैलीका कारण पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई स्वास्थ्यको चिन्ताले पिरोल्न थालेको छ । जसका कारण स्वास्थ्यको ख्याल राख्ने धेरैले साइकल चढ्न थालेका छन् । अझ वातावरणको चिन्ता गर्नेका लागि त झन् साइकल उत्तम विकल्प हो । 

सहरमा साइकल रहर

तर साइकलप्रेमीले नयाँ साइकल किनेर चलाएको केही महिनामै विभिन्न समस्या देखिन थाल्छन् । पछि ग्रेल नचल्ने, ब्रेक बिग्रिने जस्ता समस्या देखापर्छ । मर्मत गरेर हैरान भएपछि कतिपयले त साइकल नै थन्काउने गरेका छन् । आवश्यकता र कामको प्रकृतिअनुसार खरिद गर्न नजान्दा प्रायलाई साइकलले निराश बनाउने गरेको छ । यस्तै समस्या भोगेका मध्ये एक हुन्, पठाओ चालक लमजुङका रमेश थापा मगर ।

उनले सुरुमा १२ हजार रुपैयाँ तिरेर माउन्टेन बाइक खरिद गरेका थिए । ५ महिना नबित्दै ब्रेक, ग्रेल अनि रिममा समस्या देखा पर्‍यो । बनाउँदा बनाउँदै हैरान भएपछि उनले पछिल्लो समय कामको प्रकृतिको आधारमा ब्रान्डेड साइकल खरिद गरेका छन् । अहिले उनी निर्धक्क चलाइरहेका छन् । भन्छन्, ‘पहिला यस्तो कुरा थाहा थिएन । सबै साइकल एउटै जस्तो लाग्थ्यो । आफ्नो आवश्यकताको आधारमा छुट्टाछुट्टै कम्पनीको पार्टपुर्जा जडान गराउन मिल्ने रैछ ।’

रमेश कामका लागि दैनिक उकालो आरालो र कच्ची सडकमा कुदिरहनुपर्छ । पछिल्लो समय उनले साइकलमा काँटा वाला कैचीको सट्टा सक हालेका छन् । बढी यात्रा गर्नुपर्ने भएकाले हलुका होस् भनेर फलामको सट्टा एल्मुनियमको फ्रेम हालेका छन् । ‘मुल्य भने ३५ हजार रुपैयाँ पर्‍यो,’ उनले भने । अर्का पठाओ चालक बझाङका प्रकाश बोहरा पनि कच्ची सडक र उकालो–ओरालो कुदिरहन्छन् । उनले रातिको समयमा पनि चलाइरहन्छन् । प्रकाशले पनि सुरुमा माउन्टेन्ट बाइक खरिद गरेका थिए । मर्मत गर्दागर्दै हैरान बनेपछि पछिल्लो समय आफ्नो कामको प्रकृतिको आधारमा पार्टपुर्जा जडान गराउन लगाएका छन् । भी ब्रेकको सट्टा डिस्क ब्रेक अनि काँटा वाला कैंचीको सट्टा ‘सक’ भित्र पनि स्प्रिङ भएको कैंची हालेका छन् । भन्छन्, ‘आवश्यकता आधारमा पार्टपुर्जा जडान गरेपछि हत्तपत्त बिग्रँदैन । यात्रा पनि सहज अनि शारीरिक रूपमा पनि फिट हुने रैछ ।’ उनले राति हिड्न हेडलाइट र दुर्घटनाबाट बच्न सूचक पनि जडान गरेको बताए ।

ट्रेल राइडर (डाँडाकाँडा चढ्ने/ओर्लने) बागलुङका सुमन खड्काको अनुभव पनि उस्तै छ । उनले ठाउँ अनुसारको साइकल नहुँदा आफू फुल्चोकीमा दुर्घटनामा समेत परेको सुनाए । अहिले उनी फुल एक्सपेन्सन भएको एल्मुनियमको फ्रेम, हाइड्रोलिक ब्रेक र कैची भएको ट्रेल ब्रान्डको साइकल चढ्छन् । उनी सुनाउँछन्, ‘ट्रेल गर्न अगाडि/पछाडि दुवै चक्कामा सक, ब्रेक अनि कैंची दुवै हाइड्रोलिक र सिंगल ग्रेल चाहिन्छ । नत्र दुर्घटनामा पर्न सक्छ ।’ उनीहरू जस्तै पछिल्लो समय कामको प्रकृतिको आधारमा साइकल खरिद गर्नेहरूमा पठाओ, खाना तथा सामान डेलिभरी गर्नेहरू बढी छन् ।

बजारमा माउन्टेन्ट बाइकको मूल्य कम्तीमा आठ हजार रुपैयाँ छ । पछिल्लो समय साइकल किन्नेको भीड छ । तर, प्रायः ले १० देखि २५ हजार रुपैयाँ पर्ने खरिद गरिरहेका छन् । अधिकांशले साइकलको प्रकार र लेबलको आधारमा खरिद गर्ने गरेका छैनन् ।

कान्तिपथस्थित पुरानो पञ्चअष्ट नारायण साइकल पसलका सञ्चालक तिरेक मानन्धरका अनुसार प्रायले साइकल चलाउने सोख पूरा गर्न मात्र खरिद गर्छन् । ‘कालोपत्र, कच्ची र डाँडाकाँडामा चलाउने छुट्टाछुट्टै हुन्छन् । यसको पार्टपुर्जा फरक हुन्छ,’ उनले भने, ‘तर, कच्ची सडकमा बढी चलाउनुपर्नेले कालोपत्रमा चलाउने खालका साइकल खरिद गर्छन् । अनि मर्मत गरेर हैरान बनेपछि थन्काउने गर्छन् ।’ उनले ५/१० हजार रुपैयाँ महँगो परे पनि ब्रान्डेड साइकल नै खरिद गर्न सुझाव दिन्छन् । ‘ब्रान्डेडमा वारेन्टी पनि हुन्छ,’ उनले भने, ‘पछिल्लो समय इलेक्ट्रिक साइकलको माग पनि बढ्दो छ ।’

तर कतिपय चालकले साइकल चलाउँदा ग्रेल, सिट मिलाउन नजान्दा पनि चाँडै बिग्रिने गरेको पनौतीका साइकलिस्ट प्रशान्त श्रेष्ठ बताउँछन् । ‘सिट उकालो चढ्दा हेन्डलभन्दा अलि माथि र झर्दा अलि तल गर्नुपर्छ,’ उनले भने, ‘जथाभावी चढ्नाले पनि चाँडै बिग्रिने समस्या आउँछ ।’ उनका अनुसार साइकल पानीले पखाल्नुभन्दा पनि कपडाले पुस्नु उचित हो । ‘पानी पस्यो भने चक्का, पाइडेल खिइने जोखिम हुन्छ,’ उनले भने ।

बजारमा कामको प्रकृतिका आधारमा सिटी, हाइब्रिड, क्याजुअल, क्रस कन्ट्री, ट्रेल, इन्दुर र डाउनहिल गरेर ७ लेबलका साइकल छन् । सिटी साइकल सहरी सडकलाई ध्यान राखेर बनाइएको हुन्छ । यसमा ग्रेल हुँदैन । रबरको पुरानो प्रकारको ब्रेक, फलामे फ्रेम, कैंचीवाला सक र टायर २३ देखि २८ मिलिमिटर मोटाइको हुन्छ । जसको बजार मूल्य ८ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्छ ।

हाइब्रिड कच्ची सडकलाई लक्षित गरेर बनाएको हुन्छ । यसमा फ्रेम फलामको नभई क्रोम, चक्का १.९ सेन्टिमिटर मोटाइ र २१ स्पिड (अगाडि ३ पछाडि ७ घाट) को ग्रेल हुन्छ । जसको मूल्य १५ हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँ छ । सिटी र हाइब्रिड दुवैमा पुरानो ‘भी’ ब्रेक हुन्छ । उकालो चढ्न बनाइएको क्याजुअल साइकलमा एल्मुनियमको फ्रेम, डिस्क ब्रेक, २ सेन्टिमिटर मोटाइको चक्का हुन्छ । जसको बजार मूल्य २० हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँ छ । हाइब्रिड र क्याजुअलमा २१ स्पिड (अगाडि ३ पछाडि ७ घाट) को ग्रेल हुन्छ ।

क्रस कन्ट्री डाँडाकाँडा चढ्न, ट्रेल डाँडाकाँडा चढ्न र जम्प गर्न, इन्दुर र डाउनहिल पहाडबाट झर्न र जम्प गर्न बनाइएको हुन्छ । क्रस कन्ट्रीमा ब्रेक र काँटा दुवै हाइड्रोलिक र चक्का २.१ सेन्टिमिटर मोटाइका हुन्छन् । ट्रेल, इन्दुर र डाउनहिलको फ्रेम फुल सस्पेन्सन एल्मुनियमको हुन्छ । काटा क्रमशः हाइड्रोलिक (कम्तीमा १२० एमएम), एयर (कम्तीमा १४० एमएम) र एयर (कम्तीमा १४० एमएम) को हुन्छ । चक्का भने क्रमशः २.२, २.३ र २.४ सेन्टिमिटर मोटाइको हुन्छ । मूल्य ट्रेल, इन्दुर र डाउनहिलको क्रमशः ६५ हजार रुपैयाँदेखि ९५ हजार रुपैयाँ, २ लाख ५० हजारदेखि ४ लाख ५० हजार रुपैयाँ र ४ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म पर्छ । ट्रेल, इन्दुर र डाउनहिलको अगाडि १ र पछाडि १० वटा घाट भएको सिंगल ग्रेल हुन्छ ।

मानन्धरका अनुसार तराईमा सबभन्दा बढी हाइब्रिड, हिमाली भेगमा क्रस कन्ट्री र पहाडी भेगमा क्याजुअल चलाउँदा फिट हुन्छ । नेपालमा साइकल चीन, ताइवान र इन्डोनेसियाबाट आउने गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ घरधुरीमध्ये ३५.२४ प्रतिशत अर्थात् २३ लाख ४७ हजार ४ सय ३३ घरघुरीमा मात्र साइकल उपलब्ध छ । तीमध्ये सहरी क्षेत्रमा १७ लाख १९ हजार ३ सय २१ र ग्रामीण क्षेत्रमा ६ लाख २८ हजार १ सय १२ घरधुरीमा साइकल रहेको देखिएको छ । हिमाल, पहाड र तराईमा क्रमशः ४ हजार ६०, २ लाख १८ हजार ५ सय ७३ र २१ लाख २४ हजार ८ सय घरघुरीमा साइकल उपलब्ध छ ।

प्रकाशित : पुस १३, २०८० ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?