कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
श्रद्धासुमन

तानाको तानाबाना

देवेन्द्र भट्टराई

काठमाडौँ — 'यो पहाडाँ मजत्तिको जान्ने को पो होला र ?" भन्ने भ्रम थियो तारानाथसँग । चण्डी, रुद्री, कौमुदी, अमरकोश र कर्मकाण्डसमेत छिचोलिसकेको त्यस बाहुनचरीको मनले ठानेको थियो- 'अब ता उस्तै परे आतेपाते गरेर अथवा स्कुलॉ पढाएर भए 'नि गरिखाइनेछ ।

तानाको तानाबाना

उसको त्यस अहम्मा एक दिन एक्कासि ठूलै वज्रपात पर्‍यो । बिब्ल्याँटेमास्तिर बरबोटेमा पर्ने आफ्नो घरनजिकैको उकालीमा उसै सुसेला मारेर हिँडिरहेका बेला तारानाथले बाटामा केही लेखिएको एउटा कागतको टुक्रा फेला पारेछन् । यसो उठाइहेरे । त्यहाँ के लेखिएको रहेछ, पढ्नु पो पर्‍यो भनी आँखा च्यातिहेरे । तर ज्यान गए पनि त्यसको साउँअक्षर फुटेनछ । परेन त बित्याँस ! त्यत्तिकैमा कागजको त्यो चिर्कटो बोकेर उनी बाटाका डिलमा बसेर क्वाँक्वाँ रुन लागे । केहीबेरमा त्यही बाटोबाट कतै हिँडिरहेको एउटा पल्टनियाँ लाहुरेले उनलाई देखेछ र रुनाको कारण सोधेछ । त्यस कागजको लेखोट फुटाउन नसकेको गुह्य पहिल्याएर ती 'घाँसीरूपी' लाहुरेले भनेछ- 'थुइक्क बाहुन, यो ता अङ्ग्रेजी भाषा पो हो, संस्कृत र नेपाली सिकेको भरमा कहाँबाट यो फुटाउन सक्नु ? तिमी आज बालाई गएर भन, म अङ्ग्रेजी पनि पढ्छु भनेर ।'

झन्डै साठी वर्षअघि तारानाथको जीवनमा आएको त्यस लाहुरेले जिन्दगीमा बहारै ल्याइदियो । उनले एबीसीडी मात्रै पढ्ने मौका मात्रै होइन, दार्जिलिङ र खर्साङतिर गएर पढ्ने अवसरसमेत पाए । १३-१४ वर्षको उमेरमा घरमै अङ्ग्रेजीका साउँअक्षर फुटाउन सिकेपछि उनी अङ्ग्रेजीमै 'तारानाथ' लेख्न सक्ने भए । तर फेरि अर्को टन्टो आइपर्‍यो उनका सामुन्ने । आफ्नो थर भण्डारी वा उपाध्यायको 'स्पेलिङ' के हुन्छ होला भन्दै उनी खुबै भौतारिए । तर अहँ, ज्यान गए पनि पत्तो लागेन । फेरि पनि उनको जीवनमा अर्को एउटा लाहुरे आयो र भन्यो- 'शर्मा' थर लेख्न कति सजिलो हुन्छ ! त्यही लेख्दा भइहाल्छ नि !

तारानाथ शर्मा भण्डारीको त्यही 'शर्मा-पहिचान' ले आज छुट्टै उचाइ समातिसकेको छ । नेपाली साहित्यका सिकारु विद्यार्थीले पनि 'घनघस्याको उकालो काट्दा भुल्न सक्तैनन् त्यो उकालो नभुल्नु भनेकै तारानाथको उचाइ हो । पछि 'बेलायततिर बरालिंदा' आए, 'पाताल प्रवास' आए। निबन्ध र नियात्राका ठेलीहरू नै आउन लागे। कथा, उपन्यास र समालोचना पनि निक्लिए। सम्पादन र अनुवादका पुस्तक त औंला भाँचेरै गन्नुपर्छ । झन्डै पाँच दर्जन पुस्तक पुगिसकेका छन् उही तारानाथ र ताना शर्माको नाममा । मदन पुरस्कार, साझा पुरस्कारलगायतका सम्मान पनि त्यही नामले पाइसकेको छ । तर विडम्बना, जोबन छँदाको त्यस लगानीले अहिले भने रत्तीभर चैन दिन सकेको छैन । ‘म अमेरिकाबाट पढाइ सकेर सात वर्षपछि नेपाल फिर्दा साझा प्रकाशनमा रहेका आफ्ना १३ पुस्तकको रोयल्टीबापत सात हजार रुपैयाँ पाएको थिएँ,' आफूले पुस्तक लेखेर कमाएको सबैभन्दा ठूलो रकमको सम्झना तारानाथसँग आजपर्यन्त छंदै छ । ‘आफ्नो स्वाभिमानी स्वभावप्रति मलाई खेद छ,' दुःख पाएका क्षणमा आवेशमा आएर शर्मा भन्न लागेका छन्। अङ्ग्रेजीमा समेत तिखारिएको लेखन छँदाछँदै आफ्नो भाषा भनेर मरिहत्ते गर्नाले र विदेशबाट बरोबर काम गर्न प्रस्ताव आउँदासमेत अटेरी बनेर आफ्नो माटो भनेर डेग नचलेका तानाको जीवनमा यतिखेर पछुताउने कुराहरूको ढेर लागेको छ। 'श्रीमतीले भनेको मानेर मैले बेलैदेखि अङ्ग्रेजीमा लेख्दै आएको भए आज सायद नोबेल पुरस्कारको छनोटमा परिसक्ने थिए' यो तानाको आवेगको स्वर पनि हुन सक्छ । अहिले उनलाई न त कुनै सरकारी निकाय वा कुनै निजी संस्थाले नै काम दिएको छ । दुई-चारवटा अनुवादका काममा जोतिदै 'सबै कुरा रित्तिए र टुंगिए झै' हिजोआज ताना आफ्नो 'शून्य' समय कटाइरहेका छन् ।

जन्म भयो इलामको बरबोटेमा । पछि समय र भाग्यका पछि कद्दाकुद्दै चाह गरेका धेरै करा ओझेलमा परे। 'शीतल मलमको खोजमा भौतारिदै म बेलाइततिर बरालिए, पातालतिर पसें र अन्तर्मुखी हुदै पुस्तकहरूमा फसे, तानाको स्वीकारोक्ति हो यो । त्यो आफू जन्मेको, खेलेको र नाचेको बरबोटेमा ४५ वर्षपछि मात्रै पुगेपछि कुनै नामनिसान नरहेको वरको फेदमा छाँद हालेर, भक्कानिएर रोएका छन् ताना। त्यहाँको फेरिएको माहौल देखेर 'मेरो प्यारो बरबोटे' मा तानाले लेखेका छन्- म पशुपति काकालाई सम्झेर रोइरहें, रिट्ठू गाईलाई सम्झेर रोइरहें, अमलाको बोटलाई सम्झेर रोइरहें। म अन्धी पुतली र त्यसकी सिकुटी आमालाई मात्र होइन, मेरा बाल्यकालका समस्त सम्झनालाई अँगालेर धेरैबेर अलल्लिई-अलल्लिई रोइरहें।

बरबोटेसँग गाँसिएका यस्ता अनेकौं सम्झना छन् । त्यही वरका जराजत्ति नै स्मृतिका लहरा दिमागमा गुजुल्टिएर बसेका छन् । तीमध्ये धेरै त लेखिएका छन् पनि । पछिल्लोपटक प्रकाशित 'आँसु छचल्किंदै जान्छ' कृतिमा पनि अनेकौं ठाउँमा बरबोटे, रिट्ठू गाई, चिहानडाँडा र कलधाराको स्मृति सँगालेका छन् उनले ।

तारानाथ शर्माको जिन्दगी नै 'झर्रो' छ, झर्रोमय छ । २०१३ सालमा बनारसमा पढ्दै वल्लभमणि दहाल, बालकृष्ण पोखरेललगायतका दौतरी मिलेर आरम्भ गरेको 'झरों आन्दोलन' नेपाली साहित्यको इतिहासमा एउटा कालखण्ड बनेर उभिएको छ । नेपालीमा हिन्दी भाषाको पकड र प्रभाव उर्लंदै गएका बेला त्यसलाई छेकथुन गर्न त्यो अभियान आरम्भ भएको थियो । 'त्यस अभियानले एउटा ऐतिहासिक चरण र महत्त्व पार गरिसकेको छ । अहिले भाषा-साहित्यप्रति सचेत हुनेहरू सबै भाषिक शुद्धीकरणतिर लागिसकेका छन्,' उनको अनुभव छ ।

हिजोअस्तिजस्तो लाग्छ सपना देख्न थालेको । कति छिट्टै ती आलाकाँचा सपना पनि परित्यक्त बनिसकेका छन् । केही सपना पूरा भए होलान् । धेरै उसै टुक्रिएर, धूमिल बनेर गएका छन् । ६७ वर्षको फेरोमा दौडिरहेको जिन्दगानीले अब त जानी नजानी भन्न लागेको छ- 'आँसु छचल्किंदै जान्छ' । 'मसँग अब छ त एउटै कुरा- शैली, ताना भन्छन् 'उमेर ढल्कदै गए पनि मसँग नेपाली भाषाको शैली बाँचेकै छ, त्यो त अझ गडगडाएर अगाडि बढिरहेछ ।'

चाबहिल, गोपीकृष्ण चलचित्र हलपछाडि घरमा चारैतिर साइबाबाका तस्बिर राखिएका छन्। 'विभूति लाउँदा पनि हुन्छ, खाँदा पनि हुन्छ,' ताना दम्पतीको आस्थाले भन्छ- 'प्रभुकै कृपाले मेरो (तानाको) मुटुको रोग साम्य भएर गएको छ ।' हिजोआज स्वामी सच्चिदानन्द विशुद्धदेवकृत 'चरित्र विज्ञान को अङ्ग्रेजी अनुवाद गर्न लागिरहेका ताना भन्छन्- 'यस पुस्तकमा चरित्र सिकाउने संसारकै एक जाति नेपाली मात्रै हुन् भनिएको छ ।'

२०६२ साल माघमा प्रकाशित 'स्रष्टा र समय' पुस्तकबाट साभार ।

प्रकाशित : फाल्गुन ३, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?