साहित्यकार ताना शर्मा रहेनन्

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

साहित्यकार ताना शर्मा रहेनन्

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।

‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।

शर्माका भतिजा दीपेन्द्रनाथ शर्माका अनुसार लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।

भतिजा शर्माका अनुसार, मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?