कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘गाउँम‍ै टिक्‍ने विकल्प खै ?’ 

हरि गौतम

रुकुम पश्चिम — जापानमा झण्डै ३ महिना बेरोजगार भएपछि घर फर्केका बाँफिकोट गाउँपालिका–२ का पशुपति पौडेल अन्योलमा छन् । पढ्ने र कमाउने उद्देश्यसहित जापान पुगेका पौडेलले कोरोनाको कारण रोजगारी त गुमाए नै पढाइसमेत छोड्नुपर्‍यो ।

‘गाउँम‍ै टिक्‍ने विकल्प खै ?’ 

कृषि वा पशुपालन व्यवसाय गर्ने उद्देश्यसहित घर फर्किएका उनी झट्ट व्यवसाय गर्न हच्किएका छन् । ‘यताको अवस्था र परिस्थिति अनुकूल भएन,’ उनले भने, ‘अब लगानी गर्ने कि नगर्ने अन्योल बढेको छ ।’उत्पादित बस्तुले बजार पाउने ग्यारेन्टी नभएका कारण लगानीमा समस्या भएको उनले बताए ।

भारतको केरलाबाट फर्किएका लालबहादुर नाथले पनि व्यवसाय गर्ने योजना बनाएका छन् । कोरोनाकै कारण खाइपाइ आएको रोजगारी गुमेपछि गाउँ फर्किएको भन्दै उनले स्थानीय सरकारबाट प्रोत्साहन नपाएको गुनासो गरे ।

पशुपति र लालबहादुर मात्रै होइन, कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरु स्वेदेश फर्किएकाहरु अहिले अन्योलमा परेका छन् । ‘हामीलाई पराइ देशमा गएर पसिना बगाउने रहर पनि छैन,’ सानीभेरी गाउँपालिका–४ का नन्दराम ओलीले भने, ‘तर गाउँघरमै टिक्ने विकल्प पनि केही देखिएन ।’

उनका अनुसार भारत वा अन्य मुलुकबाट फर्केपछि अधिकांशको १४ दिन क्वारेन्टाइनमै बित्यो । धेरैले एक महिना भेटघाटमा विताए भने अब विकल्प खोजिरहेका छन् । सरकारले सहयोग गरे धेरथोर लगानी गर्न आफू तयार रहेको उनको भनाइ छ ।

भारत तथा तेस्रो मुलुकमा रोजगारी गुमाएर झण्डै ५ हजार व्यक्ति गाउँमा फर्किएका छन् । रोजगारी गुमाएका व्यक्तिका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने रुकुम उद्योग वाणिज्य संघका सदस्य धनबहादुर खड्काले बताए । ‘सबै मान्छे गाउँ फर्केका छन्, केही गरौं भन्ने भावना पनि उनीहरुमा छ,’ उनले भने, ‘यसलाई सरकारले अवसरका रुपमा लिनुपर्छ ।’ उनका अनुसार स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी प्रदान गर्ने कार्यक्रम नबनाउँदा अधिकांश युवाको विचल्ली भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले भने आवश्यक योजना बनाएको बताएका छन् । बाहिरबाट फर्किएका युवालाई कृषि, पशुपालन र विकास निर्माणमा जोड्ने योजना बनाइएको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।

सकेसम्म धेरैलाई रोजगारीमा समेट्ने गरी कार्ययोजना निर्माण गरिएको उनको दाबी छ । ‘निरन्तर रोजगारीमा जोड्नका लागि के गर्न सकिन्छ भन्नेबारे पनि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘युवालाई उत्पादनमा जोड्न सके गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्थ्यो ।’

प्रकाशित : आश्विन ४, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?