नोलनको ‘द ओडिसी’ झण्डै तीन घण्टा लामो छ, तर यसले दर्शकलाई कतै पनि बोर गर्दैन । अतीत र वर्तमान बीचको यही टकरावले ओडिसियसको कठिन यात्रा सँगसँगै फिल्मलाई अगाडि बढाउँछ ।
न्युयाेर्क — घर फर्कनु र समयको चक्रलाई उल्टो घुमाउनु निर्देशक क्रिस्टोफर नोलनका फिल्महरूको पुरानै विशेषता हो । उनको चर्चित फिल्म ‘इन्टरस्टेलर’ का एस्ट्रोनटहरूले अन्तरिक्ष यात्रामा झण्डै २३ वर्ष गुमाउँछन् । संयोगवश, होमरको ऐतिहासिक महाकाव्य ‘द ओडिसी’ मा ओडिसियस पनि झण्डै त्यति नै समय आफ्नो घरबाट टाढा रहन्छन्, एक दशक ट्रोजन युद्ध लड्न र अर्को दशक गृहराज्य इथाका फर्कने प्रयासमा ।
त्यसैले, प्राचिन महाकाव्यप्रति पूर्ण वफादार रहँदारहँदै पनि आफ्नै ‘नन लिनिअर’ कथावाचन शैलीका कारण ‘द ओडिसी’ ठ्याक्कै नोलनकै फिल्महरू जस्तो लाग्छ । ईसापूर्व सातौं वा आठौं शताब्दीको टाइम फ्रेममा भएको यो महाकाव्यको लेखक शैली आफैंमा जटिल छ । तर, यही महाकाव्यमा आधारित भएपनि ‘द ओडिसी’ का निर्देशकलाई कसैले प्रश्नै गर्नुपर्दैन । किनभने यस प्राचिन युगको कथावाचन र आधुनिक आईम्याक्स प्रविधिको भव्यताको एक उत्कृष्ट र जीवन्त समिश्रण हो ।
आफ्नो चतुरताका कारण देवताहरूलाई समेत चिढाउने एक पात्रको कथा भएकाले ‘द ओडिसी’ नोलनकै अघिल्लो फिल्म ‘ओपेनहाइमर’ को परिपूरक वा एक प्रकारको सिक्वेल जस्तै महसुस हुन्छ । मुख्य पात्र ओडिसियस (म्याट डेमन, जसले आफ्नो जीवनकै उत्कृष्ट भूमिका निर्वाह गरेका छन्) ट्रोय सहर ध्वस्त पारेपछि सिर्जना भएको हिंसा र विनाशका कारण भित्रभित्रै आत्मग्लानि र अपराधबोधले जलिरहेका छन् ।
नोलनको जुनसुकै नयाँ फिल्म आउँदा पनि बजारमा व्यापक चर्चा, परिचर्चासँगै यसलाई ‘मास्टरपिस’ भन्दै प्रशंसाको बाढी आउनु स्वभाविकै हो । तर, नोलनले पहिलो पटक पूर्ण रूपमा आईम्याक्स क्यामेराबाट खिचेको यो फिल्मले भव्यतामा कुनै सम्झौता नगरे पनि, यसले एक सामान्य मानव–केन्द्रित कथाको रूपमा आश्चर्यजनक रूपमा राम्रो काम गरेको छ ।
यो यात्राको कथा हो— र तपाईंले सुन्नुभएकै होला, महत्व गन्तव्यको भन्दा यात्राको हुन्छ । फिल्ममा यो यात्रा कतै–कतै अलि बोझिलो लाग्छ, र नोलनको आफ्नै शैली अनि कथाको ऐतिहासिक पृष्ठभूमिले गर्दा यसमा नयाँपनको केही कमी महसुस हुन सक्छ । नोलनले भ्रमको संसारमा रुमल्लिएर आफ्नो परिवारसम्म पुग्न खोज्ने मानिसको कथामा आधारित फिल्म ‘इन्सेप्शन’ त पहिले नै बनाइसकेका छन् । प्राचिन मूल ग्रन्थहरूमा आधारित भएर फिल्म बनाउँदा पनि यस्तो चुनौती आउनु स्वाभाविकै हो ।
यद्यपि, ‘द ओडिसी’ ले दर्शकलाई सधैं बाँधिराख्छ र यो एक रोमाञ्चक साहसिक कथा पनि हो । कम्तिमा पनि, यो साहित्यकै सबैभन्दा पुरानो कथाको अहिलेसम्मकै सर्वोत्कृष्ट ठूलो पर्दाको रूपान्तरण हो— जुन नोलन जस्ता महत्वाकांक्षी निर्देशकका लागि एक ठूलो उपलब्धि हो ।
पात्र र अभिनयको सन्तुलन
होमरको महाकाव्यमा ओडिसियसको प्रवेश ‘बुक ५’ बाट मात्र हुन्छ, तर नोलन (जसले फिल्मको पटकथा पनि लेखेका हुन्) ले कथाको सुरुवात ओडिसियसको गृहराज्य इथाकाबाट गरेका छन् । जहाँ ओडिसियसकी श्रीमती पेनेलोप (एनी हृयाथवे) लाई विवाह गर्न चाहनेहरूको भीड लागेको छ र तिनीहरूले उनको घर कब्जा गरेर भोज गरिरहेका छन् । ती आकांक्षीहरूका प्रमुख एन्टिनसको भूमिकामा रोबर्ट प्याटिन्सनले घृणास्पद तर जीवन्त अभिनय गरेका छन् । आफ्ना अन्य फिल्महरूमा अलि फरक देखिने प्याटिन्सन यस भूमिकामा निकै सहज देखिएका छन् ।
पेनेलोप र ओडिसियसका युवा छोरा टेलिमेकस (टम हल्यान्ड) आफ्ना बेपत्ता बुबाको खोजीमा निस्कने निर्णय गर्छन् । यसैबीच, हामी ट्रोयको पतनपछि उमेरले पाका र सेतो दाह्री भएका ओडिसियसलाई भेट्छौं । उनलाई एगामेम्ननले जबरजस्ती युद्धमा सामेल गराएको दृश्य फ्ल्यासब्याकमार्फत देखाइएको छ । एगामेम्ननको भूमिकामा बेनी साफ्दीले स्टार वार्सको ‘डार्थ वेडर’ जस्तै डरलाग्दो देखिएका छन्, तर उनको टाउकोमा रहेको विशाल हेलमेटले बढी ध्यान खिच्छ ।
फिल्ममा भूमध्य सागरको तटमा ओडिसियसको लामो जहाज हल्लिरहेको दृश्य पनि लोभलाग्दो देखिन्छ । नोलन र सिनेमाटोग्राफर होय्ट भ्यान होय्टेमाको काम ‘डंकिर्क’ मा प्रकृति र विपदसँग लड्दा जस्तै ‘द ओडिसी’ मा पनि आँधीबेहरीले भरिएका समुद्रहरू र जादुई टापुहरूमा आउने बाढीका दृश्यमा पनि उत्कृष्ट छ ।
होमरको कविताको पहिलो हरफले (एमिली विल्सनको अनुवाद अनुसार, जसलाई नोलनले पछ्याएका छन्) ओडिसियसलाई ‘एक जटिल व्यक्ति’ को रूपमा चिनाउँछ । जेम्स जोयस (जसको उपन्यास ‘युलिसिस’ यही महाकाव्यमा आधारित थियो) ले एक पटक भनेका थिए, ‘हृयाम्लेट केवल एक छोरा मात्र हुन्, तर ओडिसियस एकैसाथ पिता, पति, प्रेमी र योद्धा हुन् । छोटकरीमा भन्नुपर्दा, तिनी एक आम व्यक्ति हुन्, तर निकै चतुर । र म्याट डेमनले यो बहुआयामिक पौराणिक नायकको चरित्रलाई निकै गहिराइमा बुझेर न्याय गरेका छन् ।’
हामी ओडिसियसलाई सुरुमा एक सैनिकको रूपमा भेट्छौं, जसले आफ्ना सह–कमान्डर युरीलोकस (हिमेस पटेल) सँग मिलेर एगामेम्ननको फ्लिटबाट आफ्ना जहाजहरूलाई दक्षिणतर्फ डोर्याउँछन् । उनीहरूको यो यात्रा विभिन्न साहसिक शृंखलाहरूमा विभाजित छ; एउटा मात्र आँखा भएको राक्षस साइक्लोप्सको गुफामा हुने मुठभेड । मान्छे खाने राक्षसहरूको सल्लाको जंगलमा भएको आक्रमण । बोक्सी सिर्से (सामन्था मोर्टन) सँगको भोजन र समुद्री अप्सरा क्यालिप्सो (चार्लिज थेरोन) सँग ओडिसियसले बिताएको सात वर्ष ।
तपाईंलाई लाग्न सक्छ, ‘ओडिसी’ केवल विभिन्न घटनाहरूको संग्रह मात्र हो । तर ती दृश्यहरू आफैंमा कमालका छन् । यसमा ट्रोजन हर्सको कथा पनि छ, जुन मूल कवितामा छोटकरीमा मात्र उल्लेख भए पनि यहाँ फिल्मको मुख्य आकर्षण नै यही हो । दुई दशकअघि झन्डै ‘ट्रोय’ फिल्म बनाउन लागेका नोलनको दिमागमा बालुवामा गाडिएको ट्रोजन हर्सदेखि ट्रोय सहर जल्दै गरेको दृश्य वर्षौंदेखि खेलिरहेको स्पष्ट बुझिन्छ ।
ओडिसियसको यात्राको प्रत्येक बिसौनीले नोलनलाई एक पौराणिक खेलमैदान दिएको छ, जहाँ उनले हरर जनरा जस्ता लाग्ने दृश्यहरू सिर्जना गरेका छन् । मलाई फिल्मका सबैभन्दा काल्पनिक दृश्यहरूले आकर्षित गरे जस्तै आध्यारोबाट अचानक एउटा विशाल हात निस्किएको दृश्य र पातालको कालो माटोबाट ओडिसियसका मृत सैनिकका आत्माहरू ब्युँझिएको दृश्य ।
वर्तमानको सान्दर्भिकता
फिल्मलाई ‘स्पष्ट जादुको समय’ भन्दै परिचय गराइन्छ । नोलनले बुद्धिमानीपूर्वक देवताहरूलाई पर्दा पछाडि नै राखेका छन् । तिनीहरूको शक्ति वास्तविक छ, तर ओडिसियसको सल्लाहकार जस्तै देखिने जेन्डायाको ‘एथेना’ बाहेक अन्य देवताहरू पर्दामा देखिँदैनन् ।
यो छनोटले नोलनको ‘ओडिसी’ र यसका त्याग, वफादारिता र सम्मानका विषयवस्तुहरूलाई यथार्थको नजिक ल्याउँछ । फिल्ममा विभिन्न पृष्ठभूमिका कलाकारहरूलाई कास्ट गर्ने नोलनको निर्णय सह्रानीय छ । यो शताब्दीयौंदेखि गायक र कथावाचकहरूद्वारा हस्तान्तरण हुँदै आएको मानव जातिकै साझा दन्त्य कथा हो । ट्रोयकी हेलनको भूमिकामा लुपिता न्योंगो जस्ता कलाकारलाई लिनु यो पौराणिक कथाका लागि न्यायसंगत मात्र होइन, यसले फिल्मलाई आधुनिक जीवन्तता पनि दिएको छ ।
इलियट पेज (एक मृत सैनिकको भूमिकामा अविस्मरणीय), जोन लेगिजामो र म्याट डेमन जस्ता कलाकारहरूलाई यो प्राचीन परिवेशमा देख्नु नै यो फिल्म हेर्नुको अर्को ठूलो कारण हो । यदि यसमा वर्तमानको कुनै भूमिका छैन भने, यो कथा फेरि भन्नुको के अर्थ ? आखिर ईसापूर्व ७०० मा क्यामेरा पनि त थिएनन् नि ।
नोलनको ‘द ओडिसी’ झण्डै तीन घण्टा लामो छ, तर यसले दर्शकलाई कतै पनि बोर गर्दैन । अतीत र वर्तमान बीचको यही टकरावले ओडिसियसको कठिन यात्रा सँगसँगै फिल्मलाई अगाडि बढाउँछ । परम्परागत पुरुषत्वलाई कायम राख्दै फिल्मले लैंगिक भूमिकाहरूको पनि समीक्षा गरेको छ ।
कविताको अन्त्य, जसमा सामूहिक हत्या समावेश छ (जुन अलि जटिल छ), त्यसलाई फिल्ममा अलि बढी स्वीकार्य एक्सन–मूभीको शैलीमा प्रस्तुत गरिएको छ । तर ‘द ओडिसी’ को वास्तविक मर्म यहाँ छ । आफ्ना गल्तीहरू बिर्सेर आफ्नो प्रतिवद्धतामा अडिग रहने ओडिसियसको खोज आज पनि उत्तिकै जीवन्त महसुस हुन्छ । नोलन, भन्न सकिन्छ, आफ्नै घर (उत्कृष्ट लय) मा फर्किएका छन् ।
(एपीका लागि फिल्म समीक्षक ज्याक कोयल)
