बाल नाटकको अभावबीच सुन्दर तर दुर्लभ रंगमञ्चीय अनुभव गराउँछ नाटक - 'गुलियो स्याउ'ले । नाटकले बालबालिकाको सिकाइ, बुझाइ र समग्र अभिभावकत्वका विविध पाटालाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ ।
काठमाडौँ — नेपालमा महिनैपिच्छे जस्तो नाटक घरमा नयाँ नयाँ नाटक लागिरहेका हुन्छन् । नाटकको व्यापकताले गर्दा दर्शकको भागमा हप्ता, पन्ध्र दिनमा एउटा न एउटा नयाँ नाटक परिरहेको हुन्छ । प्रौढ र वयस्क दर्शकलाई छानिरोजी नाटक हेर्न पर्याप्त शो उपलब्ध हुन्छन् ।
तर यस्तोमा बाल नाटकको अवस्था भने शून्य जस्तै छ । त्यसमा पनि व्यावसायिक बाल नाटकको त कुरै नगरौँ । वार्षिक रूपमा बाल नाट्य महोत्सवहरू भइरहँदा स्कुले बालबालिका केही हदसम्म रंगमञ्चसँग साक्षात्कार हुने मौका भने पाइरहेका छन् । तर स्वतन्त्र रूपमा हेर्नका लागि व्यावसायिक बाल नाटक छँदै छैनन् भन्दा पनि हुन्छ । यस्तै अभावबीच सुन्दर तर दुर्लभ रंगमञ्चीय अनुभव गराउँछ नाटक - 'गुलियो स्याउ'ले ।
बालनाटक - 'गुलियो स्याउ' हाल काठमाडौंको थापागाउँमा रहेको मण्डला थिएटरमा मञ्चनरत छ । बाल साहित्य सर्जक एवं रंगकर्मी केदार श्रेष्ठको यो बाल नाटक मंगोलियाको विश्व यात्रापछि घर फर्किएको हो । यो नाटक मंगोलियाको वन्डरलस्ट फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो ।
नाटक गुलियो स्याउले बालबालिका विचारशील हुन्छन्, उनीहरू फरक तरिकाले सोच्छन्, सिर्जनशील हुन्छन्, जिज्ञासु एवं कल्पनाशील हुन्छन् भन्ने कुरालाई नौलो तरिकाले प्रस्तुत गरेको छ । त्यो हो चित्र, रंग र अन्तर्क्रियामार्फत ।
यो बालबालिकाको लागि त हो नै अभिभावकको लागि पनि बनेको नाटक हो । नाटकले बालबालिकामाथि कुनै पनि विचारको भारी थोपर्नुअघि उनीहरूका विचारलाई पनि आत्मसात् गर्नुपर्ने कुरालाई जोड दिन्छ । कुनै पनि कुरालाई एकैनासले हेर्ने र सोच्नु हुँदैन । कुनै पनि कुराका फरक, फरक पाटा हुन्छन् । हरेक कुरालाई बहुआयामिक तरिकाले हेर्न सकिन्छ भन्ने कुरा नाटकको केन्द्रीय मर्म हो । नाटकले बालबालिकाको सिकाइ, बुझाइ र समग्र अभिभावकत्वका विविध पाटालाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ ।
एक दशकअघि चित्र कथाका रूपमा आएको ‘गुलियो स्याउ’ (अ स्वीट एप्पल) लाई यसपटक रंगकर्मी श्रेष्ठले नाटकका रूपमा तयार पारेका हुन् । नाटकले ३ वर्षदेखि माथिको उमेर समूहका बालबालिका र अभिभावकलाई केन्द्रीय दर्शकका रूपमा रोजेको छ । यस भिजुअल बाल नाटकमा जटिल संवाद छैनन् । नाटकको कथा दृश्य सञ्चार एवं नेपाली बाल नाटकमा बिरलै भेटिने अन्तरक्रियाबाटै सकिन्छ ।
नाटकले बालबालिका र अभिभावकबीचको सम्बन्धलाई बाल दृष्टिकोणबाट प्रस्तुत गर्छ । स-साना कुरा र सरल कथाको मर्म विश्वभरका बालबालिकाले बुझ्छन् र ग्रहण गर्छन् भन्ने कुरालाई अन्तरक्रियात्मक यस नाटकले प्रस्टसँग उजागर गर्छ ।
नाटक घरलाई नै बाल दर्शकसँग जोडेर अन्तरक्रियात्मक बनाइएको छ । नाटक घर भित्र छिर्नुअघि नै बाहिरी प्रांगणमा राता बेलुनलाई स्याउको आकार दिएर रुखका हाँगा हाँगामा सजाइएको छ । नाटक हल प्रवेश गर्ने गल्लीमै बाल पुस्तकहरू फिँजाएर प्रदर्शनीमा राखिएको छ । हल बाहिरै रंगीचंगी कागजका ताराहरू बनाएर टाँगिएको छ । नाटक हल प्रवेशद्वारमा स्याउको कटआउटसहितको गेट छ । त्यही गेटबाटै दर्शकहरू गुलियो स्याउको यात्रामा निस्कन्छन् ।
नाटक हलभित्रको सजावट पनि उस्तै । भित्ताभरि रंगीचंगी तारा । बाल मनलाई आकर्षित गर्ने नरम पहेँलो प्रकाश । हलमा बस्नका लागि स-सना कुर्सी ।
नाटकको सुरुवातमै मुख्य पात्रले चित्रमा रंग भर्नलाई ट्रलीमा रंग र ब्रस लगायतका चिजबिज बोकेर आउँछ । उसले इजेल (क्यान्भास स्ट्यान्ड) उठाउन सक्दैन र बाल दर्शकसँग सहयोग माग्छ । नाटकलाई धेरैभन्दा धेरै अन्तरक्रियात्मक बनाउन नाटकभरि नै मुख्य पात्रले ब्रस, रंग र अन्य कुराबारे दर्शकहरूसँग दोहोरो कुराकानी गर्छ ।
आमा र छोरा पात्रबीच हुने कुराकानीलाई बाल सुलभ र अन्तरक्रियात्मक बनाउन कतिपय अवस्थामा संवादहरू दोहोर्याउने, तेहेर्याउने काम गरिएको छ । त्यो झन्झटिलो र दिक्क लाग्दो छैन । बाल दर्शकलाई त्यो निकै नै रसिक एवं स्वतःस्फूर्त लाग्छ । हुँदा हुँदा पात्रले खाएको खानेकुरालाई बाल दर्शकलाई खुवाउनेदेखि अन्तिममा मुख्य पात्रले बनाएका चित्र दर्शकलाई हस्तान्तरण समेत गरिन्छ ।
नाटकको कथा
नाटकको कथा एकदमै सरल छ । बिहान सूर्योदय भएदेखि राति खाना खाने बेलासम्मको समयलाई नाटकको टाइमलाइनका रूपमा लिइएको छ ।
चित्रमा रङ लगाइरहेको बालकले सूर्यको चित्रमा रातो रंग लगाउँछ ।
आमाले सूर्य त पहेँलो हुन्छ नि भन्छिन् ।
उसले त्यो बिहानको घाम भएको र पहिलो घाम रातो हुने बताउँछ ।
बालकले पातमा खैरो रंग लगाउँछ ।
आमाले पात हरियो हुने बताउँछिन् ।
उसले त्यो सुकेको पात रहेको भन्छ ।
यस्तै, बालकले आकाशमा कालो रंग लगाउँछ ।
आमाले आकाश निलो हुने बताउँछिन् ।
उसले त्यो कालो आकाश रातिको आकाश भएको बताउँछ ।
केहीबेरमै दर्शकदीर्घामा भएको प्रकाश हराउन थाल्छ र उसले बनाएको चित्रतिर प्रकाश सोझिन थाल्छ । बाल दर्शकहरू संगीतको तालसँगै ट्विंकल ट्विंकल लिटिल स्टार... गाउन थाल्छन् ।
अन्तिममा बालकले स्याउमा हरियो रंग लगाउँछ ।
आमाले स्याउ रातो हुने बताउँछिन् ।
उसले त्यो काँचो स्याउ भएको बताउँछ ।
आमाछोराबीच काँचो र पाकेको स्याउको स्वादबारे कुराकानी समेत हुन्छ ।
नाटकको बीच बीचमा मौरी, चरा, मुसा र उल्लु पात्र आएर आमा र छोराबीचको अभिनयमा मिठास भर्ने काम गर्छ ।
नाटक सरल छ तर त्यसलाई चित्र, रंग र बाल दर्शकसँग दोहोरो संवाद गराएर निकै नै अन्तरक्रियात्मक बनाइएको छ । बाल दर्शकहरू नाटकमा मग्न भएर अन्तर्क्रिया गर्छन् ।
नाटक बाल दर्शकका लागि क्षणिक भए पनि त्यो सिकाइका हिसाबले निकै नै गहिरो हुने देखिन्छ । बालबालिकाका अभिभावकलाई भने नाटकमा देखाइएका कुरा सोचनीय, मननीय हुने देखिन्छ ।
नाटकबारे के भन्छन् निर्देशक ?
१०-१२ वर्ष भन्दामाथिको उमेर समूहका बालबालिकालाई नेपालमा फाट्टफुट्ट नाटक मञ्चन नभइरहेका भने होइनन् । निर्देशक केदार श्रेष्ठलाई अर्लि चाइल्डहुड वा भनौं प्रि-प्राइमरी लेभलका बालबालिकालाई देखाउन मिल्ने नाटक बनाउने चाहना रहेछ । त्यसैले उनले ३ वर्षभन्दा माथिको उमेरका बालबालिकाका लागि आफैंले लेखेको कथालाई नाटकमा रूपान्तरण गरेको बताए ।
चित्र कथाको किताबका रुपमा 'गुलियो स्याउ'लाई रुम टु रिडले पहिलो पटक एक दशकअघि छापेको थियो । किताब नेपालमा मात्रै तीन लाख प्रति छापिइसकेको उनको दाबी छ । पाठ्यक्रम विकास केन्द्रले यसलाई सहयोगी पुस्तकका रूपमा समेत छनोट गरेको छ । रुम टु रिडमार्फत यो विश्वका विभिन्न देशका बाल पाठकसम्म पुगिसकेको पनि छ ।
बालबालिकालाई आफ्नै लागि बनेको नाटक घरमा आएको छु भन्ने होस् भन्ने सोचेरै नाटक घरको बाहिरी प्रांगणदेखि भित्री सजावट र व्यवस्थापनमा बालमैत्री कुरालाई ध्यानमा राखिएको उनले बताए । उनले भने, 'बालबालिकालाई नाटक हलमा जाने बेलामै यो मेरो जोन हो, मेरो स्पेस होस् भनेरै त्यसलाई प्रभावकारी बनाउन बालमैत्री हिसाबले व्यवस्थापन गरेका छौं ।'
अरुबेला नाटक घरमा कलाकार र दर्शकबीच दोहोरो कुराकानी गर्न पाइँदैन । दर्शकदीर्घामा अँध्यारो हुन्छ, स्टेज बाहेक अन्यत्र अन्धकार मात्रै छाउँछ । तर यो नाटक चलुन्जेल केही क्षणलाई छाडेर पूरै समय दर्शकदीर्घामा बत्ती निभ्दैन । बालबालिकालाई थिएटरमा बस्दा डर, त्रासको माहोल नहोस् भन्ने कुरा ख्याल गरेरै त्यस कुराको व्यवस्थापन गरिएको श्रेष्ठले बताए । नाटकको डिजाइन बाल दर्शकलाई केन्द्रमा राखेर तयार गरिएको उनले बताए ।
बालबालिकाको सोचाइ बेग्लै हुन्छ । स्टेरेरियोटाइपमा बस्ने त अभिभावक र वयस्क न हुन् । श्रेष्ठ भन्छन्, 'बालबालिकाले पनि आफैं सोच्न, देख्न र महसुस गर्न सक्छन् । बाउन्ड्री क्रिएट गर्ने त वयस्कहरूले नै हो ।' फरक विचारलाई आत्मसात् गर्न र स्टेरियोटाइपलाई तोड्नलाई यस नाटकले 'बियोन्ड द बक्स शैली'को काम गर्ने उनले बताए ।
बालबालिका भावनात्मक हुने र बाल सुलभता गहिरो र फरक किसिमको हुने उनले सुनाए । बालबालिकाले आफैं देखेर, हेरेर अन्वेषण गर्ने, नियाल्ने लगायतका कुरालाई अभिभावकले रोकटोक गर्ने प्रवृत्ति विद्यमान रहेको उनको भनाइ छ । नाटकमा आमा पात्रलाई कन्भिन्स गर्न बाल पात्रले नै भूमिका खेलेको छ र त्यो संवादमार्फत बाल दर्शकसम्मै पुग्छ र उनीहरूलाई समेत कन्भिन्स गर्छ । हाम्रो सिकाइ प्रक्रिया निगरानी गर्ने किसिमको भएको तर सिकाइ भनेको बगैँचामा फूल फुलेझैँ बच्चाहरूलाई स्वच्छन्द रूपमा फुल्न दिनुपर्ने श्रेष्ठ तर्क गर्छन् । उनी भन्छन्, 'कानुन र नियम बनाउने त अभिभावकले हो । सिकाइको प्रक्रियामा बच्चाको लजिक आफ्नै किसिमको हुन्छ । बच्चाले आफैं डिस्कभर गर्ने कुरालाई रोकटोक गर्नु हुँदैन ।'
नाटक घरमा पनि स-साना बालबालिकालाई नाटक देखाउने कुरामा वयस्कलाई जस्तो नियममा बाँधेर राख्न सकिँदैन र हुँदैन भनेर नाटकलाई बालमैत्री बनाएको उनले बताए । अझ उनले यस नाटकमा 'फोर्थ वाल' नै नरहेको सुनाए । नाटकलाई सहभागितामूलक बनाउन त्यसो गरिएको उनले सुनाए । नाटक आफ्नै स्क्रिप्टमा बाँधिएको भए पनि बाल दर्शकको तात्कालिक प्रतिक्रियामा आधारित रहेर कलाकारहरूले तत्कालै नाटकका संवादलाई मिलाउँछन् र नाटकलाई गति दिन्छन् ।नाटकलाई बढीभन्दा बढी इन्गेजिङ बनाउन त्यसो गरिएको उनले बताए ।
नाटक नाटक मात्रै हुनुहुँदैन । नाटकलाई शिक्षा र सिकाइसँग जोड्ने अभिप्रायसहित नाटकलाई लेखनको चरणदेखि नै योजनाबद्ध रूपमा बालमैत्री बनाएको श्रेष्ठले बताए । उनले भने, 'बालबालिकाको साइकोलोजी, विचारलाई आत्मसात् गर्दै नाटक लेखेको थिएँ । नाटक लेख्दा म आफैँ बच्चा भएर लेखेको थिएँ र नाटक खेल्ने आर्टिस्टलाई समेत आफ्नो बाल्यकालमा फर्किएर बालबालिका हुन निर्देशन दिएको थिएँ ।' उनले नाटकको स्क्रिप्टमै आर्टिस्टलाई बाल दर्शकलाई संवाद एवं अन्तर्क्रियाका लागि प्रेरित गर्ने भन्दै लिखित निर्देशन नै दिएका रहेछन् ।
नाटकलाई अन्तरक्रियात्मक बनाउने सोच उनलाई कहाँबाट आयो त ? युरोपमा भएका बालनाट्य महोत्सवमा अभिभावकहरू एक-डेढ वर्षका बालबालिकालाई ट्रलीमा लिएर रंगमञ्चमा आएको देख्दा नेपालमा पनि यस्तै गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने उनलाई लाग्थ्यो रे । यहाँ भएको त्यस अभावलाई नै ध्यानमा राखेर उनले यो नाटक बनाए ।
त्यसो त आफू रंगमञ्चमा १८/२० वर्षदेखि सक्रिय हुँदादेखिको बालबालिका केन्द्रित नाटक देखाउने सोच अहिले आएर साकार भएको समेत उनले बताए । पहिलो दिनको पहिलो शोदेखि नै बालबालिका एवं अभिभावकको अपार खुसीका प्रतिक्रियाले उनी निकै दंग छन् ।
बालबालिकाले नाटक मञ्चन भइरहेका बेला प्रतिक्रिया दिन्छन् भने अभिभावकले नाटक सकिएपछि । एक जना अभिभावक उनलाई आफ्नो बाल्यकालको कुरा सुनाउन आएछन् । 'स्कुल पढ्दा स्याउमा हरियो रंगको बनाउँदा मैले शिक्षकबाट सजाय पाएको थिएँ नि !' भन्दै भावुक पो भएछन् ।
पछि भविष्यमा गुलियो स्याउ लामो यात्रामा निस्कने पनि उनले सुनाए । उनले भने, 'थुप्रै स्कुल र काठमाडौं बाहिर लैजाने योजना छ । अनि मिल्यो भने वार्षिक रूपमै क्यालेन्डर बनाएर यसलाई देखाइरहने योजना छ ।'
यसै वर्ष इन्डोनेसिया र अर्को वर्ष कोरियाको यात्रा गर्दैछ यो नाटकले ।
नाटकमा आफूले देखाएको कथा युनिभर्सल स्टोरी रहेको उनले सुनाए । बालबालिकाले ग्रहण गर्ने विश्वव्यापी कुरालाई हाम्रो एस्थेटिकसँग जोडेर काम गरेमा थोरै मिहिनेतमै राम्रो नतिजा निस्कने उनको दाबी छ ।'यसको प्रस्तुति, शैली र भाषा नै युनिक छ । यो भिजुअल ल्यांवेजमा बनेको नाटक हो,' उनले भने । बालबालिकाको आफ्नै तर्क हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै साना तर महत्त्वपूर्ण कुराहरूलाई मिहिन ढंगले ध्यानमा राखेर नाटक बनाएको उनले बताए । उनले थपे, 'बालबालिकाको लजिक भनेकै स्वच्छन्दता हो । बच्चा भएर नाटक हेरेमा सामान्य कुरा पनि लजिक भेट्न सक्नुहुन्छ ।'
नाटकलाई अन्तरक्रियात्मक बनाउन सानो हल रोजेको पनि उनले बताए ।
नाटकमा मनिष व्याञ्जु, इलिना नकर्मी र सञ्जिता पराजुलीले अभिनय गरेका छन् । संगीत संयोजन देव न्यौपानेको रहेको छ भने प्रोप्स निर्माण गर्ने जेनी सुनुवार र इलिना नकर्मी हुन् । मञ्च व्यवस्थापन सुशीलालक्ष्मी महर्जनले गरेकी छन् भने प्रकाश संयोजनको काम बलबहादुर राईले गरेका छन् ।
२५ असारदेखि मण्डला थिएटरमा मञ्चनरत नाटक थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल), थिएटर मल र आसितेज नेपालको संयुक्त निर्माणमा तयार भएको हो । नाटक २ साउनसम्म मञ्चन हुनेछ ।
