चौथो श्रृंखला ‘धमाल ४’ झन्डै ७ वर्षपछि आउँदा तीब्र चर्चामा छ । तर समीक्षा भने पूर्ववत फिल्मले भन्दा पनि कम औसतमा १ देखि १.५ स्टारसम्म रेटिंग पाएको छ । तर फिल्मको व्यापार भने आक्रामक छ ।
काठमाडौँ — बलिउडमा निकै रुचाइएको चर्चित कमेडी फ्रेन्चाइज ‘धमाल’ को चौथो संस्करण ‘धमाल ४’ शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ । निर्देशक इन्द्रकुमारको निर्देशन रहेको यस फिल्मले बक्सअफिसमा कमाईको आक्रामक सुरुवात गरे पनि सञ्चारमाध्यम र समीक्षकहरूबाट भने मिश्रित प्रतिक्रिया पाएको छ ।
अजय देवगन, अरशद वारसी, रितेश देशमुख, सञ्जय मिश्रा, जाभेद जाफेरी जस्ता हस्ती कलाकारहरूको मुख्य अभिनय रहेको ‘धमाल ४’ ले पनि यसको सिरिजको मुख्य कथा खजानाको खोजीलाई पुरानै फर्मुला शैलीमा प्रस्तुत गरेको छ ।
समीक्षकहरूको कमजोर रेटिङका बावजुद पनि दर्शकहरू फिल्म हेर्न हलमा ओइरिएका छन् । ट्रेड एनालिस्टहरूका अनुसार फिल्मले घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैमा सुखद ओपनिङ गरेको छ ।
प्रदर्शनको पहिलो दिन शुक्रबार भारतमा मात्रै ‘धमाल ४’ ले १३ करोड ७५ लाख भारुको नेट कलेक्सन गरेको छ । विश्वव्यापी ग्रस कलेक्सन भने करिब साढे २१ करोड भारु रहेको बताइएको छ । फिल्मले पहिलो दिनको तुलनामा शनिबार ६० प्रतिशतले उछाल लिएको छ । घरेलु बक्सअफिसमा मात्रै फिल्मले शनिबार साढे २२ करोड भारु कमाएको छ । दुई दिनमै ‘धमाल ४’ ले ५३ करोड ८० लाख भारुको विश्वव्यापी ग्रस कलेक्सन गरिसकेको बताईन्छ । व्यापार विश्लेषक तरन आदर्शले ‘धमाल ४’ ले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन र साना सहरहरूमा समेत आक्रामक व्यापार गरिरहेको छ । उनका अनुसार, फिल्मले पहिलो सप्ताहन्तसम्म १ सय करोडको कोशेढुंगा पार गर्ने देखिन्छ ।
समीक्षकहरू भन्छन् : ‘कमेडी ठिकै, लेखन झूर’
बक्सअफिसमा राम्रो गरे पनि भारतका प्रमुख सञ्चारमाध्यम र समीक्षकहरूले भने ‘धमाल ४’ लाई औसत मानेका छन् । समीक्षकहरूको मुख्य असन्तुष्टि यसको कमजोर लेखन र अत्यधिक मात्रामा एआई र सीजीआई दृश्यहरूको प्रयोगमा देखिएको छ ।
‘द इन्डियन एक्सप्रेस’ मा समीक्षक शुभ्रा गुप्ताले ‘धमाल’ लाई मात्र एक स्टारको रेटिंग दिँदै निर्देशक इन्द्रकुमारको प्रस्तुति पुरानै शैलीको भएको टिप्पणी गरेकी छन् । कथा वाचनको शैली पुरानो शताब्दीकै जस्तो भएको भन्दै उनले ‘धमाल ४’ ले सोचेजस्तो गति लिन नसकेको समीक्षा गरेकी छन् । त्यसैगरी, ‘हिन्दुस्तान टाइम्स’ ले भने गुप्ता भन्दा केही लिबरल हुँदै डेढ स्टार दिएको छ । ‘धमाल नाम राखिए पनि फिल्ममा धमाल गर्ने खालको मनोरञ्जन निकै कम छ,’ समीक्षामा भनिएको छ, ‘यसले पुरानै कथा, संगीत र कमेडीलाई रिसाइकल (पुनःमिश्रण) गरेको छ र दर्शकलाई धमालकै पुराना कमेडी किस्साका भरमा मात्र चल्न खोजेको छ ।’
‘इन्डिया टुडे’ ले पनि डेढ स्टारको रेटिंग दिँदै फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएपनि यसको कथा ‘खजाना हराए जस्तै’ भएको र पछिल्लो फ्रेन्जाइजमा भित्रिएका नयाँ कलाकारहरूले पनि ऊर्जा थप्न नसकेको टिप्पणी गरेको छ । ‘एनडीटीभी’ का लागि समीक्षक सैबाल चटर्जीले फिल्मलाई दुई स्टार रेटिंग दिंदै ‘धमाल ४’ लाई अल्छिलाग्दो र केही दृश्यहरूमा कमजोर कमेडी भएको बताएका छन् ।
त्यसो त फिल्मलाई अरशद (आदि), रितेश (रोय) र सञ्जय मिश्राको कमेडी टाइमिङले आम दर्शकलाई रिझाउन सफल भएको बताइएको छ । दर्शकहरूले पनि सामाजिक सञ्जालमा यी कलाकारहरूको जुगलबन्दीलाई मन पराएको भाव व्यक्त गरेका छन् । फिल्मको अन्त्यमा ‘धमाल ५’ को पोस्ट–क्रेडिट सिन समेत दिइएकाले दर्शकहरूमाझ आगामी भागलाई लिएर कौतुहलता बढाएको देखिन्छ ।
सन् २००७ मा प्रदर्शनमा आएको बलिउडको कल्ट कमेडी ‘धमाल’ ले दर्शकलाई पेट मिचीमिची हँसायो । चार बेरोजगार साथीहरू र १० करोडको लुकेको खजाना खोज्ने त्यो यात्रा आज सन् २०२६ सम्म आइपुग्दा ‘धमाल ४’ ले पनि पच्छ्याईरहेको छ । विगत १९ वर्षमा यो फ्रेन्चाइजको बजेट, स्टारकास्ट र बक्सअफिस कलेक्सन आकाशिए पनि समीक्षकहरूको रेटिङ भने लगातार ओरालो लागेको देखिन्छ ।
‘धमाल’ लाई समीक्षकले कल्ट क्लासिक फिल्म मान्दै समग्रमा ३.५ स्टार रेटिंग दिएका थिए । करिब २० करोड भारुको बजेटमा बनेको यस फिल्मले विश्वभरबाट ५० करोड भारुको ग्रस कलेक्सन पनि गरेको थियो । फिल्ममा ‘आदि–मानव’ र ‘बोमन’ वाला कमेडी टाइमले यसलाई बलिउडकै उत्कृष्ट कमेडी फिल्मको सूचीमा पुर्यायो । समीक्षकहरूले यसको चुस्त लेखन र मौलिक कमेडीको खुलेर प्रशंसा गरेका थिए ।
त्यसपछि, यसकै सिक्वेलमा सन् २०११ मा ‘डबल धमाल’ आयो । यसको कथा कमजोर र कमेडी केही लाउड भएको भन्दै समीक्षकले मिश्रित प्रतिक्रियासहित औसतमा २.५ स्टार रेटिंग गरे । अघिल्लो फिल्मको भन्दा १५ करोड बढि करिब ३५ करोड भारुको बजेट मात्र पुर्याइएन, कलेक्सन पनि बढ्यो । ‘डबल धमाल’ ले विश्वभरबाट ७० करोड भारु भन्दा बढी कलेक्सन गर्यो । यसमा पुरानै कलाकारको टिममा कंगना रानौत र मल्लिका शेरावत पनि थपिएपछि दर्शक उत्साहित भएका थिए ।
८ वर्षपछि सन् २०१९ मा करिब एक सय करोडको बीग बजेटसहित ‘टोटल धमाल’ रिलिज भयो । यस फिल्मले झन् खराब समीक्षा बटुल्यो । औसतमा १.५ स्टार मात्र रेटिंग पाएको फिल्मलाई दर्शकले भने अत्यधिक रुचाईदिए । ‘टोटल धमाल’ ले विश्वभरबाट टोटल २ सय २८ करोड भारुको कलेक्सन गर्दै व्यापारमा ऐतिहासिक छलाङ नै मारिदियो ।
यस श्रृंखलाबाट सञ्जय दत्त र आशिष चौधरी बाहिरिए पनि अजय देवगन, अनिल कपुर र माधुरी दीक्षित जस्ता सुपरस्टारहरू भने जोडिएका थिए । समीक्षकहरूले यसलाई ‘दिमाग नभएको कमजोर कमेडी’ भनेर निकै आलोचना गरे पनि सहरदेखि गाउँसम्मका दर्शकले यसलाई ब्लकबस्टर बनाइदिए ।
अहिले यतिबेला यसको चौथो श्रृंखला ‘धमाल ४’ ७ वर्षपछि आउँदा तीब्र चर्चामा छ । तर समीक्षा भने पूर्ववत फिल्मले भन्दा कम १ देखि १.५ स्टारसम्म औसतमा रेटिंग पाएको छ । तर फिल्मको व्यापार भने आक्रामक छ ।
प्रदर्शनको दुई दिनमै झन्डै ५४ करोड भारु कमाइसकेको यो फिल्मले पहिलो विकेन्डमै १ सय करोड क्लबको नजिक पुग्ने संकेत देखाएको छ । अजय देवगन र पुरानो टोली यथावत रहेको यस फिल्मलाई समीक्षकहरूले ‘नयाँ शताब्दीमा बासी फर्मुला’ भन्दै कटु आलोचना गरेका छन् । तर बक्सअफिसको कमाइले समीक्षकहरूको मतलाई फेरि गलत साबित गरिदिएको छ ।
‘धमाल’ फ्रेन्चाइजको १९ वर्षको यात्रा हेर्दा जति–जति समीक्षकको रेटिङ घट्दै गएको छ, त्यति–त्यति नै यसको बक्सअफिस कलेक्सन बढ्दै गएको छ । पहिलो भाग ‘धमाल’ लाई समीक्षक र दर्शक दुवैले उत्कृष्ट मानेका थिए । तर, ‘धमाल ४’ सम्म आइपुग्दा यो फ्रेन्चाइज विशुद्ध ‘मास इन्टरटेनर’ र ‘नो–ब्रेन कमेडी’ मा रूपान्तरण भएको छ । समीक्षकहरूले यसको घिसिपिटि कथा र हँसाउने नाममा गरिने जबरजस्ती हर्कतको आलोचना गरे पनि सञ्चारमाध्यमका यी समीक्षालाई बेवास्ता गर्दै दर्शकहरू सपरिवार हलमा पुगेर मनोरञ्जन लिइरहेका छन् ।
