क्रिस्टोफर नोलनले ‘अब्सेसन’ र ‘ब्याकरुम्स’ को प्रशंसा गर्दै भने– ‘युवा दर्शकले एआईलाई नकार्दैछन्’

‘मैले मेरो जीवनकालमा प्रविधिमा आएको भनिएको यति ठूलो फड्कोलाई यति चाँडो र पूर्ण रूपमा खारेज गरिएको कहिल्यै देखेको थिइनँ, एआई ल्याउनका लागि धेरै ऊर्जा खर्च गरिएको छ, तर उनिहरूले यसलाई पूर्ण रूपमा नकार्दैछन् ।’

असार २७, २०८३

कान्तिपुर संवाददाता

Christopher Nolan, praising ‘Obsession’ and ‘Backrooms’, said— ‘Young audiences are rejecting AI’

लस एन्जलस — दुई पटकका ओस्कार अवार्ड विजेता क्रिस्टोफर नोलन यतिबेला ‘द ओडिसी’ का कारण चर्चामा छन् । आगामी शुक्रबारदेखि देशव्यापाी प्रदर्शनका क्रममा रहेको यस फिल्मको ‘प्रीभ्यू सोज’ पछि ठूलो प्रशंसा पाईरहेको छ । कतिपयले त नोलानको अहिलेसम्मकै उत्कृष्ट फिल्मसम्म भन्न भ्याएका छन् । तर उनै नोलानले भने यतिबेला महिना दिनअघि प्रदर्शनमा आएर तहल्का मच्चाईसकेका दुई फिल्म ‘अब्सेसन’ र ‘ब्याकरुम्स’ र यसका निर्देशकको खुलेर प्रशंसा गरेका छन् ।

‘द टेलिग्राफ’सँगको एक अन्तर्वार्तामा नोलनले आफ्नो इपिक ड्रामा ‘द ओडिसी’ को प्रबर्द्धन मात्र गरेनन्, पछिल्लो छिमलमा आएका नयाँ फिल्मकर्मीको सृजनशीलताको पनि खुलेर प्रशंसा गरेका छन् । झन्डै तीन घन्टा लामो ‘द ओडिसी’ लाई लिएर कतिपयले टिप्पणी गरिरहँदा उनले त्यसको बचाउमा फिल्मलाई वास्तविक र जीवन्त बनाउनका लागि समय लाग्ने बताए । भने, ‘हजारौं कलाकारको समूहलाई लिएर विश्व यात्रामा निस्कँदा त्यसले फिल्मको लम्बाईलाई असर त गर्छ नै ।’

नोलनले फिल्म जीवन्त र अत्यावश्यक भईरहन यसले आफूलाई निरन्तर रूपान्तरण गरिरहने धारणा राख्दै पछिल्लो समय चर्चामा रहेका जेन–जी पुस्ताका दुई निर्देशक करी बार्कर (अब्सेसन) र केन पार्सन्स (ब्याकरुम्स) को खुलेर तारिफ गरे । ‘हामीसँग यस्ता महान् नव युवा आवाजहरू छन्, जसले फिल्म माध्यमलाई आफ्नोपनमा ढाल्दैछन् र अबको फिल्म यात्रालाई अगाडि बढाइरहेका छन्,’ ५५ बर्षिय निर्देशकले भने, ‘चीजहरू सही दिशामा गइरहेका छन् भन्ने प्रमाणका रूपमा पनि यि दुईलाई प्रस्तुत गर्न सकिन्छ ।’

यी दुवै हरर फिल्मले बक्स अफिसमा ऐतिहासिक सफलता पाईरहेका छन् । १५ मेमा रिलिज भएको बार्करको ‘अब्सेसन’ ले मात्र साढे सात लाख डलरको बजेटमा विश्वभर ४० करोड डलर भन्दा बढीको कमाइ गरिसकेको छ । टोरन्टो फिल्म फेष्टिभलमा प्रिमियर भएपछि यसलाई फिल्म वितरण कम्पनी ‘फोकस फिचर्स’ ले खरिद गरेर सार्वजनिक प्रदर्शन गरेको थियो । जून फिल्म इतिहासकै सबैभन्दा बढी कमाउने ‘फेस्टिभल एक्विजिसन’ (महोत्सवबाट खरिद गरिएको फिल्म) बनेको छ । जून ‘फोकस फिचर्स’ कै पनि अहिलेसम्मकै सबैभन्दा बढी कमाउने फिल्म बनेको छ ।

Christopher Nolan, praising ‘Obsession’ and ‘Backrooms’, said— ‘Young audiences are rejecting AI’

यसैगरी, पार्सन्सको ‘ब्याकरुम्स’ ले पनि विश्वभरबाट ३५ करोड डलर भन्दा बढी कमाइसकेको छ । २१ वर्षीय पार्सन्स घरेलु बक्स अफिसको शीर्ष स्थानमा पुग्ने सबैभन्दा कान्छा निर्देशक समेत बनेका छन् ।

‘यी दुवै फिल्महरू निकै रहस्यमयी र चिन्तनयोग्य छन् । मेरो मतलब, ‘ब्याकरुम्स’ का केही भागहरू डेभिड लिन्चको सबैभन्दा एब्सट्रयाक्ट आर्ट जस्तै छन् । तैपनि युवाहरू ती फिल्म हेरेर थाकेका छैनन्,’ आफ्नो फिल्म ‘द ओडिसी’ को लम्बाईको बचाउ गर्दै नोलनले भने, ‘त्यसैले पनि मैले अहिलेका युवाको एकाग्रता तीन घण्टा भित्र ग्रीक महाकाव्यको आनन्द लिन नसक्ने गरी बिग्रिसकेको छ भन्ने तर्कलाई कहिल्यै स्वीकार गरिनँ ।’ 

नोलनले पछिल्लो समय चर्चाको केन्द्रमा रहेको एआई प्रविधिका बारेमा पनि आफ्नो धारणा राखेका छन् । ‘मैले मेरो जीवनकालमा प्रविधिमा आएको भनिएको यति ठूलो फड्कोलाई (एआईलाई) यति चाँडो र पूर्ण रूपमा खारेज गरिएको कहिल्यै देखेको थिइनँ,’ ‘ओपेनहाइमर’ का निर्देशकले अगाडी थपे, ‘एआई ल्याउनका लागि धेरै ऊर्जा खर्च गरिएको छ, तर यदि तपाईंले त्यो पुस्ताको प्रतिक्रिया हेर्नुभयो भने उनीहरूले यसलाई पूर्ण रूपमा नकार्दैछन् ।’

नोलनले आफ्ना २० वर्ष लाग्दै गरेका छोराछोरीको उदाहरण दिंदै एआईको प्रदूषणप्रति उनीहरूको बुझाइ कठोर रहँदै आएको बताए । ‘उनीहरूले यो वास्तवमा के हो भनेर धेरै चाँडै बुझ्छन् । र उनीहरूका लागि यसलाई पहिचान गर्न धेरै सजिलो छ, किनभने यो उनीहरूले राम्रोसँग चिनेको अनलाइन संसारबाटै हुर्किएको हो ।’

यसको अर्थ प्रविधिको हरेक पक्ष बेकार वा अर्थहीन छ भन्ने नभएको प्रष्ट्याउँदै उनले भने, ‘तर फिल्म निर्माणको क्षेत्रमा एआई एकदमै गलत समयमा आइपुगेको छ । किनभने हामी अहिले अत्यधिक भर्चुअल दुनियाँलाई छोडेर प्रत्यक्ष अनुभव गर्न सकिने वास्तविक कथाहरु पस्कने पद्दतीलाई पुनर्जीवित गर्ने चरणमा फर्केका छौं ।’

Christopher Nolan, praising ‘Obsession’ and ‘Backrooms’, said— ‘Young audiences are rejecting AI’

उनका अनुसार अहिलेका दर्शकहरू कम्प्यूटर जेनेरेटेड इमेज (सीजीआई) मा आधारित मार्भलका फिल्महरुको महामारीबाट दिक्क भइसकेका छन् । जसले गर्दा अहिलेका दर्शक यस्ता बीग बजेट फिल्म हेर्न पनि अनिच्छुक देखिन थालेको उदाहरणमा ‘अब्सेसन’ र ‘ब्याकरुम्स’ को सफलता भएको नोलन बताउँछन् । नोलन मात्र नयाँ पुस्ताका प्रतिभाहरूको समर्थन गर्ने एक मात्र दिग्गज फिल्म निर्देशक होइनन् । यसअघि स्टिभन स्पिलबर्गले पनि यी दुई निर्देशक र उनिहरुका फिल्मको तारिफ गरेका थिए भने कम बजेटमा फिल्म बनाएकामा प्रशंसा पनि गरेका थिए ।

नोलनको ‘द ओडिसी’ ले ट्रोजन वारपछि आफ्नी पत्नी पेनेलोप र छोरा टेलिमेकसलाई बचाउन इथाका फर्कने क्रममा ओडिसियसको लामो र कष्टकर यात्राको कथा भन्छ । फिल्ममा म्याट डेमन, एन हृयाथवे, टम होल्याण्ड, जेन्डेया, रोबर्ट प्याटिनसन, जन बर्नथल, ट्राभिस स्कट, इलियट पेज, लुपिता न्योङ्गो जस्ता स्टारकास्टको लर्को छ ।

धनाढ्य एलन मस्कले ‘द ओडिसी’ मा संसारकै सबैभन्दा सुन्दरी मानिने हेलेन अफ ट्रोयको भूमिकामा अश्वेत अभिनेत्री लुपिता न्योङ्गो लाई लिइएको विषयमा कडा विरोधसँगै आलोचना गरेपछि फिल्म विवादमा मुछिएको थियो । मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘एक्स’ मा यसबारे टिप्पणी गर्दै ऐतिहासिक र पौराणिक रूपमा गोरा जातिका ग्रीक पात्रहरूलाई आधुनिक हलिउडले विविधता देखाउने नाममा जबर्जस्ती परिवर्तन गरेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले यसलाई हलिउडको ‘इतिहासलाई बङ्ग्याउने प्रयास भन्दै आलोचना गरेका थिए ।

फिचर

कान्तिपुर

Link copied successfully