रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा बज्राचार्यले गीत 'कस्तो नशा' बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ मा उत्कृष्ट संगीत निर्देशकको अवार्ड न्ह्यु बज्राचार्यले पाएका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा बज्राचार्यले गीत 'कस्तो नशा' बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।
उत्कृष्ट संगीतकार विधातर्फ बज्राचार्यसँगै 'झरीले कतै' बाट राजनराज शिवाकोटी, 'बुझ्ने मान्छे'बाट गैरे सुरेश, 'मायाका गीत'बाट रेश्मा पुन र 'साथ कहिलेसम्म' बाट कवीन्द्र तामाङ प्रतिस्पर्धामा थिए ।
बज्राचार्यको सांगीतिक यात्रा विसं. २०४० को दशकबाट सुरु भएको हो । उनले प्रकाश श्रेष्ठको स्वरमा रहेको गीत ‘कति कति मनका कुराबाट’ संगीत यात्रा औपचारिक रुपमा थालनी गरेका थिए । उनको संगीतबद्ध गीत ‘सायद तिम्रो बाटोमा’, ‘ओराली लागेको हरिणको चाल भो’ र ‘हाँस्ने रहर जिन्दगीले’ अहिले पनि उत्तिकै लोकप्रिय छन् ।
‘सयथरी बाजा एउटै ताल’ मा गरेको संगीत उनको जीवनको अर्को अद्वितीय काम हो । उनी पछिल्लो समय 'नेपाल आइडल' रियालिटी शोको निर्णायकका रुपमा पनि सक्रिय थिए ।
