रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘माया गर्नु ल’ गीतका लागि राईलाई उक्त अवार्ड दिइएको हो ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पार्श्व गायकको अवार्ड जोन चाम्लिङ राईले पाएका छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘माया गर्नु ल’ गीतका लागि राईलाई उक्त अवार्ड दिइएको हो ।
उनीसँगै उत्कृष्ट पार्श्व गायकको सूचीमा 'चाहिँदैन महर' का लागि शरद हुमागाईं, 'तिम्रो मलाई हुनि मन छ' का लागि साईराज खाती, 'धेरै भयो'का लागि केतन क्षेत्री र 'कागजको खोस्टो'का का लागि पुष्पन प्रधान छनोट भएका थिए ।
राई नेपाली सुगम संगीतमा उदाउँदा कलाकार हुन् । धरानका उनी स्कुले जीवनदेखि नै संगीतमा रुचि राख्थे । सामाजिक सञ्जालमा आफ्ना ‘र’ गायनका भिडियो राख्थे । त्यसैबाट उनी श्रोतामाझ चिनिएका हुन् । उनको औपचारिक सांगीतिक यात्रा भने सन् २०२० मा सार्वजनिक भएको उनको पहिलो डेब्यु गीत ‘प्रश्न’ बाट सुरु भएको हो ।
उनले आफ्नो ब्यान्ड 'जोन एन्ड द लोकल्स’मार्फत लोकप्रिय गीत बजारमा ल्याएका छन् । ‘को छ र’, ‘पर्खिरहेछु’, ‘निहित’, र ‘हवा जस्तै’ उनका चर्चित गीत हुन् । ‘साधना’, ‘फर्कन्नँ होला’, ‘के गरूँ’, ‘भन न मात्र’, ‘भाग्यमानी मोह’ र पछिल्लो समय चर्चामा रहेको ‘माया गर्नु ल’ जस्ता गीतले उनलाई थप लोकप्रिय बनाए ।
