रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘यानीमाया’बाट उनले उक्त अवार्ड हात पारेकी हुन् ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट लोकगायिकातर्फ देवी घर्ती मगरले अवार्ड हात पारेकी छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘यानिमाया’बाट उनले उक्त अवार्ड हात पारेकी हुन् ।
उनीसँगै लोकसंगीत विधाको उत्कृष्ट गायिकातर्फ 'पोखरा पृथ्वी चोक' बाट शान्तारानी परियार, 'झ्याप्पै'बाट ज्योति मगर, 'मानुङ कोटैमा'बाट शान्तिश्री परियार, र 'लाइटै बालेर हेर मयाले' बाट टीका पुन मनोनयनमा समेटिएका थिए ।
बागलुङमा जन्मिएकी मगरलाई सानैदेखि त्यहाँको सुमधुर लोक-संस्कृति र रोइला/सालेजोको माहोलले गायनतर्फ आकर्षित गर्यो । उनी विसं. २०६० को दशकको सुरुवाती चरणमा काठमाडौं आएकी थिइन् । सुरुमा दोहोरी साँझहरूमा उनले लोकगीत गाइन् । उनको पहिलो डेब्यु गीत ‘बर्खा लागेछ’ (अमर विरही गुरुङसँगको सहकार्य) थियो, तर उनलाई लोक बजारमा स्थापित गराउने गीत भने २०६३ सालतिर सार्वजनिक भयो । त्यो गीत थियो ‘ओरालीमा बत्ती बलेको’ (रामजी खाँणसँगको सहकार्यमा) ।
त्यसपछि उनले नेपाली लोक संगीत क्षेत्रलाई थुप्रै चर्चित गीत सुम्पिइन् । उनका चर्चित गीतको सूचीमा ‘उदास छु म’, ‘झ्यालमा पर्दा छ’, ‘रातो पछ्यौरी’, ‘लुकीलुकी माया नलाऊ’, ‘तिमी मेरो हुन पाएनौ’, ‘के भनूँ र ओइली गएको फूललाई’,‘वनकी चरी’लगायत पर्छन् । आजकल उनी नयाँ र पुराना दुवै पुस्ताका कलाकारका लागि सहकार्यको पहिलो रोजाइमा समेत पर्छिन् ।
