अभिनेता तथा निर्देशक नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा शाहलाई एक लाख राशिसहित उक्त अवार्डबाट सम्मानित गरियो ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Actor and director Nir Shah receives Lifetime Achievement Award

काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ ।

पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा  शाहलाई एक लाख राशिसहित उक्त अवार्डबाट सम्मानित गरियो ।

उमेरले सात दशक पार गरिसकेका शाहले थुप्रै सिर्जनात्मक काम गरेका छन् । सफल अभिनेता, निर्देशक, निर्माता, गीतकार कथा कविसमेत हुन् उनी । पछिल्लो फिल्म ‘परान’ (२०८२) बाट उनले राष्ट्रिय चलचित्र पुरस्कारतर्फ उत्कृष्ट अभिनेताको अवार्डसमेत हात पारेका थिए ।

आफ्नो अभिनय यात्राको सुरुवात उनले २०२४ सालमा हिरासिंह खत्रीद्वारा निर्देशित चलचित्र ‘परिवर्तन’बाट गरेका थिए । कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको,  बलिदान, ढुकढुकी, यो मायाको सागर, बादलपारि, अर्जुन, सिउँदोको सिन्दूर, जीवनसाथी, गौंथली, बक्सिस र बाचा बन्धन, मुनामदन, सानो संसार, ६ एकान ६, वडा नम्बर ६, छक्कापञ्जा३ ‌लगायत थुप्रै फिल्ममा उनले सशक्त अभिनय गरेका छन् ।

शाह अहिले आफ्नो निर्देशनमा बनेको फिल्म ‘कमला मिस’को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । उनले सेतो बाघ, वसन्ती, राजमती, वासुदेव, मसान, पच्चीस वसन्त जस्ता फिल्म निर्देशन गरिसकेका छन् । उनका पर्खी बसेँ आउला भनी’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ लगायत थुप्रै गीत लोकप्रिय छन् ।

नेपाल टेलिभिजनको स्थापनाको श्रेय पनि शाहलाई जान्छ ।

कान्तिपुर

Link copied successfully