रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘हे साइँला’बाट ब्यान्डले उक्त अवार्ड हात पारेको हो ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट ब्यान्डको अवार्ड अभया एन्ड द स्टिम इन्जिन्सले उचालेको छ ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘हे साइँला’बाट ब्यान्डले उक्त अवार्ड हात पारेको हो । यो गीतको स्वर तथा कम्पोज अभया सुब्बाको रहेको छ ।
नेपाली रक र वैकल्पिक संगीत क्षेत्रकी 'रक स्टार' सुब्बा बाल्यकालदेखि नै घरको सांगीतिक माहोलमा हुर्किइन् । दार्जिलिङमा जन्मिएर पछि काठमाडौंलाई कर्मथलो बनाएकी उनले प्रारम्भमा 'रेड इभ्स' र 'पारिजात' जस्ता ब्यान्डमा आबद्ध भएर संगीतको व्यावसायिक जग बसालिन् । सन् २००३ मा आफ्नै नेतृत्वमा 'अभया एन्ड द स्टिम इन्जिन्स' नामक रक ब्यान्ड स्थापना गरिन् ।
अभयाका लैजाऊ मलाई, हावाहुरी, सधैंभरि, बाँसको घरजस्ता थुप्रै गीत चर्चित छन् । उनी गीतमार्फत मात्र होइन आफ्नै जीवनमा पनि महिला स्वतन्त्रता र अधिकारका विषयमा सधैं दरिलो स्वरमा बोलिरहेकी हुन्छिन् ।
