बेलायती सेनाको जागिर छोडेर हिप–हपमा होमिएका ‘योद्दा’

केही वर्षयता नेपालमा हिप–हपको विकास भइरहेको देख्दा खुशी लाग्छ । नेपाली हिप–हप प्रशंसकहरूमा विविधता देखिएको छ । यसले संगीतप्रति उनीहरूको चासोलाई दर्शाउँछ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

‘Yoddha’ who left a job in the British Army to pursue hip-hop

What you should know

काठमाडौँ — योद्दा उर्फ सनम गुरुङ, नेपाली हिप–हप आर्टिस्ट । युट्युबमा योद्दा च्यानलबाटै अक्टोबर २०१८ मा अपलोड गरिएको उनको चर्चित गीत ‘खराब बानी’ ले अहिलेसम्म १ करोड ७१ लाख भन्दा बढी भ्युज पाईसकेको छ । उनै योद्दा एक्स्ट्रीम इनर्जी ड्रिंकको प्रस्तुतीमा यसै साताको अन्त्यमा आयोजना हुने ‘नेशनल म्युजिक अवार्ड्स’ मा उपस्थित हुँदैछन् । उनको नयाँ गीत ‘अभियान’ पनि युट्युबमा उपलब्ध छ । गुरुङसँग उनको व्यक्तिगत जीवन, सांगीतिक करियर र भावी योजनाका बारेमा रिभाष रिजालले गरेको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ ।

१६ वर्ष बेलायतमा बिताएपछि अहिले तपाईं नेपालमा हुनुहुन्छ । तपाईं किन यहाँ आउनु भयो ? बेलायतको तुलनामा नेपालमा संगीत सिर्जना गर्दा के फरक पाउनुभएको छ ?

म पोखराको लेखनाथ–बेगनास ताल क्षेत्रमा हुर्किएको हुँ । अहिले नेपाल फर्किएपछि म फेरि त्यहींबाट काम गरिरहेको छु । नेपाल फर्कनुका धेरै कारणहरू छन्, तर मुख्य कारण पक्कै पनि संगीत नै हो । नेपालमै हुर्किए पनि मैले वास्तवमा देशको धेरै भाग देखेको छैन । वयस्क भएपछि म नेपालमा बसेको यो नै पहिलो पटक हो । 

म आफ्नो काममा पर्याप्त समय लिन्छु, जुन राम्रो कुरा हो । म मेरो संगीतको गुणस्तर खस्कियोस् भन्ने चाहन्नँ । अब म संगीतमा अझ बढी निरन्तरता दिन चाहन्छु । मेरा समकालीन सबै साथीहरू यहीं नेपालमै छन् । यही ठाउँमा बसेर अरू संगीतकारबाट पनि प्रेरणा लिंदै संगीत सिर्जना गर्नु निकै राम्रो अनुभव हो ।

मेरा अधिकांश दर्शक/श्रोता पनि यहींका हुनुहुन्छ । जबसम्म मलाई कुनै अफरहरू आइरहेका थिएनन्, तबसम्म त ठीकै थियो, तर जब अफरहरू आउन थाले, मलाई लाग्यो कि मैले केही गुमाइरहेको छु । अर्को कुरा, मैले अघि भने जस्तै, देश घुम्ने इच्छा पनि हो ।

देशभरिका मानिसहरूले मलाई मेरो संगीत मन परेको भन्दै म्यासेज गर्छन्, तर मलाई अक्सर ती ठाउँहरू कहाँ छन् भन्ने पनि थाहा छैन । त्यसैले, म उनीहरूलाई भेट्न र ती ठाउँहरूलाई नजिकबाट चिन्न पनि नेपाल आएको हुँ ।

‘Yoddha’ who left a job in the British Army to pursue hip-hop

हिप–हप र यसमा आएको परिवर्तनको बारेमा के भन्नुहुन्छ ?

पक्कै पनि, म नेपालमा हिप–हपलाई अगाडि बढाउन चाहन्छु । पछिल्ला वर्षहरूमा केही गीतहरू निकै सफल भएका छन् र मानिसहरूले तिनलाई मन पराइरहेका छन् । तर त्यो संगीत राम्रो भएकाले हो, हिप–हप भएकाले मात्र होइन । उनीहरूलाई त्यो हिप–हप हो वा हिप–हप भनेको के हो भन्ने समेत थाहा नहुन सक्छ । यदि मैले यो फैलँदै गरेको संगीत क्षेत्रमा थोरै मात्र पनि योगदान पुर्‍याउन सकें भने मेरा इच्छाहरू पूरा भएको मान्नेछु ।

केही वर्षयता नेपालमा हिप–हपको विकास भइरहेको देख्दा खुशी लाग्छ । अहिले नेपाली हिप–हपमा धेरै शैलीहरू देखिएका छन् । जसले गर्दा प्रशंसकहरूमा विविधता देखिएको छ । यसले संगीतप्रति उनीहरूको चासोलाई दर्शाउँछ । मलाई लाग्छ, निकट भविष्यमै यस क्षेत्रका कोही न कोही नेपाली कलाकार अन्तर्राष्ट्रिय रूपमा प्रख्यात हुनेछन् । जब त्यो क्षण आउनेछ, त्यो निकै गर्वको विषय हुनेछ । म सानो छँदा त यस्तो कुरा कल्पनासम्म गर्न पनि सक्दिनथें ।

चार दिनअघि तपाईंको नयाँ गीत ‘अभियान’ सार्वजनिक भयो । यसअघिको गीतले तीन महिनामा नै युट्युबमा १३ लाख भन्दा बढि भ्युज पाइसकेको छ । तपाईं आफ्नो यो संगीतिक फड्कोलाई कसरी लिनुहुन्छ ?

‘अभियान’ को मैले बजार प्रबर्द्धन गर्न पाईसकेको छैन । मलाई थाहा छ, मेरा केही नियमित श्रोताहरू हुनुहुन्छ जसले मेरा नयाँ गीतहरू बारम्बार सुन्नुहुन्छ र मन पराईदिनुहुन्छ । मलाई लाग्छ, नयाँ दर्शक/श्रोतामाझ पुग्न समय लाग्नेछ ।

समस्याको एउटा पाटो, र जुन मेरो नियन्त्रण बाहिरको कुरा हो, त्यो के हो भने नेपाली संगीतका अधिकांश श्रोताहरू युट्युबमै छन् । पहिले नेपाली संगीतका लागि एउटा छुट्टै ‘ट्रेन्डिङ पेज’ हुन्थ्यो, तर अहिले त्यो छैन । म जस्ता कलाकारहरू, जो भर्खरै सुरु गरिरहेका पनि होइनन् र एकदमै धेरै चर्चित भइसकेका पनि छैनन्, तिनीहरूका लागि ट्रेन्डिङ पेज वृद्धि गर्ने एउटा उत्कृष्ट माध्यम थियो ।

हाम्रा नयाँ गीतहरू त्यहाँ आउँथे र यसले दर्शक/श्रोतामाझ हाम्रो उपस्थिती देखिन्थ्यो । तर अहिले नेपाली संगीत पनि भारतीय संगीतसँगै एउटै ट्रेन्डिङ पेजमा देखिन्छ । यसले गर्दा कुराहरू अझ गाह्रो बनेका छन् ।

अन्य स्ट्रिमिङ प्लेटफर्महरूको हकमा पनि यही लागू हुन्छ । तिनीहरू बिस्तारै नेपाली बजारमा प्रवेश गर्दैछन्, तर यी कुनै पनि प्लेटफर्ममा नेपाली संगीतका लागि छुट्टै क्युरेट गरिएको सेक्सन छैन । यदि भइदिएको भए, हामी कलाकारका लागि ठूलो मद्दत पुग्ने थियो । देशमा कुनै आधिकारिक ‘म्युजिक चार्ट्स’ पनि छैन ।

यसले गर्दा हामी कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनिन गाह्रो छ । हामीले विदेशमा ‘मेरो देशमा मेरो संगीत यति पटक बजाइयो’ भनेर गर्वका साथ भन्न सक्ने अवस्था छैन । यी सबै कारणहरूले गर्दा, ‘अभियान’ ले भ्युजको मामिलामा जति स्थान पाएको छ, त्यो स्वाभाविक लाग्छ ।

‘Yoddha’ who left a job in the British Army to pursue hip-hop

‘अभियान’ के को बारेमा हो ?

यो गीतले भन्छ, ‘म आइसकेको छु ।’ यसले ‘केही नयाँ कुरा आउँदैछ र यसको सुरुवात अब यहाँबाट हुन्छ’ भन्छ । म चाहन्छु कि मानिसहरूले यसलाई सुनून् र मलाई आफ्ना प्रतिक्रिया दिऊन् । ताकि मलाई मेरो संगीतको दिशा तय गर्न मद्दत गरोस् ।

मैले धेरैको सपना हुने गरेको ब्रिटिश आर्मीको छँदाखाँदाको करियर छोडेर सांगीतिक क्षेत्र रोजेको हुँ । म चाहन्छु कि मानिसहरूले मलाई यो यात्रामा साथ दिऊन् र मलाई अघि बढ्न मद्दत गरून् । मैले अब यसैमा आफुलाई समर्पित गरेको छु र अब म नेपाली हिप–हपमा एउटा उल्लेखनीय छाप छोड्न चाहन्छु । यदि कसैलाई ‘अन्डरडग’ को कथा मन पर्छ भने उनीहरूले ‘अभियान’ सुन्नै पर्छ ।

‘एक्स्ट्रीम इनर्जी ड्रिंक प्रिजेन्ट्स नेशनल म्युजिक अवार्ड्स’ का बारेमा तपाईको धारणा के छ ?

अवार्डहरू हुनु राम्रो कुरा हुन् । यसले कलाकारलाई हौसला मिल्छ । राम्रो संगीत सिर्जना गर्दा धेरै कुराहरू सँगै आउँछन् । तर एउटा ट्रफी भनेको तपाईंको काम र उपलब्धिको मूल्यांकन हो । आशा गर्छु, नेशनल म्युजिक अवार्ड्सहरूको निरन्तरता रहोस् ।

फिचर

कान्तिपुर

Link copied successfully