आलिया भट्ट स्टारर ‘अल्फा’ को सुस्त सुरुवात, पहिलाे दिन मात्र ९ करोड

यो यशराज फिल्मस् ब्यानरमा बनेका स्पाई युनिभर्स फिल्ममध्येमा सबैभन्दा कमजोर ओपनिंग हो ।

असार २०, २०८३

कान्तिपुर संवाददाता

Alia Bhatt starrer 'Alpha' has a slow start, earning only Rs 9 crore on the first day

काठमाडौँ — आलिया भट्ट स्टारर स्पाई थ्रिलर फिल्म ‘अल्फा’ ले प्रदर्शनको पहिलो दिन अनपेक्षित सुस्त सुरुवात गरेको छ । अनुमानित एक सय ३० करोड भारु बजेटको भनिएको यस फिल्मले पहिलो दिन शुक्रबार १० करोडको पनि व्यापार गर्न सकेन । जून यशराज फिल्मस् (वाईआरएफ) ब्यानरमा बनेका स्पाई युनिभर्स फिल्ममध्येमा सबैभन्दा कमजोर ओपनिंग हो । ‘एक था टाइगर’ (२०१२), ‘टाइगर जिन्दा है’ (२०१७) र ‘वार’ (२०१९) पछि यशराज फिल्मस्ले स्पाई युनिभर्सको अवधारणा बनाउँदै ‘पठान’ (२०२३) ल्याएको थियो ।

ऋतिक रोशन र टाइगर श्राफको जुगलबन्दीमा आएको ‘वार’ ले व्यवसायिक सफलता पाएपछि उत्साहित भएका यसका निर्देशक सिद्धार्थ आनन्द र निर्माता आदित्य चोपडाले स्पाई युनिभर्सको अवधारणामा काम गर्न सहमत भएका थिए । छैठौं इन्स्टलमेन्टका रूपमा गत वर्ष ‘वार २’ ल्याएको यशराजले ‘अल्फा’ बाट भने धक्का खान सक्ने जोखिम प्रबल देखिएको छ । फिल्मको ओपनिंग बिजनेसको ट्रेन्ड हेर्दा दर्शकले ‘लेडी स्पाई’ लाई लीड रोलमा खासै नरुचाएको जस्तो छ । ‘अल्फा’ को लीडमा आलियालाई शर्वरी वाघले साथ दिएकी छन् ।

Alia Bhatt starrer 'Alpha' has a slow start, earning only Rs 9 crore on the first day

फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै ‘अल्फा’ प्रति दर्शक चासो उच्च रहेको बताइएको थियो । तर यो बक्सअफिस नतिजामा परिणत हुन्छ की हुँदैन भन्ने चासोको विषय बनेको छ । भारतभर झन्डै ७ हजार ५ सय ३४ शोजबाट रिलिज भएको यस फिल्मले बिहानी शोमा १० प्रतिशत मात्र अकुपेन्सी (दर्शक चाप) रहेको बताइएको छ । जसबाट पहिलो दिन फिल्मले मात्र ९ करोड भारु कमाई भएको बक्सअफिस रिपोर्टमा उल्लेख छ । त्यसैगरी, फिल्मको ओभरसीज मार्केट पनि गतिलो हुन सकेन ।

रिलिजको पहिलो दिन विश्वव्यापी कलेक्सन पुगनपुग १६ करोड भारु गरेको ‘अल्फा’ को व्यापारलाई जारी फिफा विश्वकपले पनि असर गरेको हुन सक्ने मानिएको छ । त्यसो त फिल्म हेरेका दर्शकले पनि फिल्मको खुलेर तारिफ गर्न चाहेका छैनन् । ‘वर्ड अफ माउथ’ नै कमजोर देखिंदा ‘अल्फा’ ले खासै गतिलो व्यापार गर्ने अपेक्षा गर्न सकिन्न । फिल्मको एक्सनले केही तारिफ बटुलेपनि कथा/पटकथा नै कमजोर भएको दर्शक भनाई छ । यसले सञ्चारमाध्यममा पनि ठीकठाकको समीक्षा मात्रै पाएको देखिन्छ ।

Alia Bhatt starrer 'Alpha' has a slow start, earning only Rs 9 crore on the first day

यशराज फिल्मस्को स्पाई युनिभर्सका ७ वटा फिल्ममध्ये पहिलो दिनको कमाईमा आलिया–शर्वरी अभिनित ‘अल्फा’ ले सर्वाधिक निराशाजनक व्यापार गरेको छ । जबकी यसअघिको सर्वाधिक कम व्यापार गरेको यसै ब्यानरको स्पाई युनिभर्स फिल्म ‘एक था टाइगर’ ले नै १४ वर्षअघि पहिलो दिनमा नै ३३ करोडको व्यापार गरेको थियो । त्यसपछि ‘टाइगर जिन्दा है’ ले ३४ करोड, ‘टाइगर ३’ ले ४४ करोड ५० लाख, ‘वार २’ ले ५२ करोड, ‘वार’ ले ५३ करोड ३५ लाख र ‘पठान’ ले ५७ करोड भारुको व्यापार गरेका थिए ।

कान्तिपुर

Link copied successfully