एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को ८ विधाका मनोनयन सार्वजनिक

असार २६ गते पुल्चोकस्थित ‘द प्लाजा' मा आयोजना हुने यस कार्यक्रमका लागि नेपाली संगीतिक क्षेत्रका उत्कृष्ट सर्जकहरूको सूची सार्वजनिक आएको हो ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Nominations for 8 categories of Extreme Energy Radio Kantipur National Music Awards-2082 announced

What you should know

काठमाडौं — कान्तिपुर रेडियोले २८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ का विभिन्न ८ विधाका मनोनयनहरू सार्वजनिक गरेको छ ।

आगामी २६ असारमा पुल्चोकस्थित ‘द प्लाजा' मा आयोजना हुने अवार्ड कार्यक्रमका लागि नेपाली संगीतिक क्षेत्रका उत्कृष्ट सर्जकहरूको सूची सार्वजनिक भएको हो ।

यस वर्ष उत्कृष्ट गीतकारको विधामा 'झरीले कतै' गीतका लागि राजुबाबु श्रेष्ठ, 'न ज्युन सके न मर्न' का लागि प्रतिमा गुरुङ, 'सुन्छौं मलाई कसम' का लागि नारायणकुमार आचार्य, 'अन्तिम रात' का लागि मनोज भण्डारी र 'लाखौं लाख पटक' गीतका लागि पुष्कर पन्त मनोनयनमा परेका छन् ।

यस्तै, उत्कृष्ट संगीतकारतर्फ 'झरीले कतै' बाट राजनराज शिवाकोटी, 'बुझ्ने मान्छे'बाट गैरे सुरेश, 'कस्तो नशा' बाट न्ह्यु बज्राचार्य, 'मायाका गीत'बाट रेश्मा पुन र 'साथ कहिले सम्म' बाट कवीन्द्र तामाङ प्रतिस्पर्धामा उत्रिएका छन् ।

पार्श्व गायनतर्फ उत्कृष्ट गायिकाको विधामा 'धागोले बाटेको' बाट रचना रिमाल, 'कुन हावाले' बाट सलिना विक, 'युमा हजुरी' बाट सुनिता थेगिम, 'नत्र भने जिन्दगी' बाट समीक्षा अधिकारी र 'काफ्ले' गीतबाट झुमा लिम्बु मनोनयनमा परेका छन् । 

उत्कृष्ट पार्श्व गायकको सूचीमा 'माया गर्नु ल' का लागि जोन चाम्लिङ राई, 'चाहिँदैन महर' का लागि शरद हुमागाईं, 'तिम्रो मलाई हुनि मन छ' का लागि साईराज खाती, 'धेरै भयो'का लागि केतन क्षेत्री र 'कागजका खाता' का लागि पुष्पन प्रधान छनोट भएका छन् ।

आधुनिक संगीत विधामा उत्कृष्ट गायिकातर्फ 'मायाका गीत' बाट रेश्मा पुन, 'कस्तो नशा' बाट सञ्जा चौलागाईं, 'आमा'बाट रचना रिमाल, 'जुनी पनि'बाट बानिका प्रधान र 'हल्का हल्का'बाट स्मिता प्रधानबीच प्रतिस्पर्धा हुनेछ । 

उत्कृष्ट आधुनिक गायकको विधामा 'सुन्छौं मलाई कसम' बाट प्रविण बेडवाल, 'तिमी अर्कैको भइदियौं' बाट शिव परियार, 'हरेक रात' बाट राजेश पायल राई, 'आमा के गरेर तिरौँ' बाट स्वरूपराज आचार्य र 'झरीले कतै' बाट सुमनकुमार श्रेष्ठ मनोनयनमा परेका छन् ।

त्यसैगरी लोक संगीत विधाको उत्कृष्ट गायिकातर्फ 'पोखरा पृथ्वी चोक' बाट शान्तारानी परियार, 'झ्याप्पै'बाट ज्योति मगर, 'मनाङ कोटैमा'बाट शान्तिश्री परियार, 'ललितै बालेर हेर्यो मायाले' बाट टीका पुन र 'यानीमाया'बाट देवी घर्ती मगर मनोनयनमा समेटिएका छन् । 

लोक गायकतर्फ भने 'झलिको'का लागि अर्जुन सापकोटा, 'छैन र माया'का लागि प्रकाश दूतराज, 'यानीमाया'का लागि वसन्त थापा, 'सानी नखाया' का लागि राजु परियार र 'शिरमा शिरबन्दी' का लागि सुवास खत्रीबीच प्रतिस्पर्धा हुनेछ ।

'द प्लाजा' मा भव्य रूपमा सम्पन्न हुने यो अवार्ड समारोह कान्तिपुर मिडिया ग्रुपका सम्पूर्ण आधिकारिक डिजिटल तथा सञ्चार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण गरिनेछ । 

यस कार्यक्रमको टिकट डिजिटल वालेट इसेवा र https://kantipurevents.com को आधिकारिक वेबसाइटबाट सहजै खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully