रेडियो कान्तिपुरले वरिष्ठ गायक, संगीतकार तथा गिटारिस्ट मदनसिंह नेपालीलाई “सलाम ज्यूँदो इतिहासलाई” कार्यक्रममार्फत सम्मान गरेको छ ।
काठमाडौँ — रेडियो कान्तिपुरले वरिष्ठ गायक, संगीतकार तथा गिटारिस्ट मदनसिंह नेपालीलाई “सलाम ज्यूँदो इतिहासलाई” कार्यक्रममार्फत सम्मान गरेको छ । काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको स्टुडियोमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकर्मी नेपालीलाई सम्मान गरिएको हो ।
रेडियो कान्तिपुरका समाचार प्रमुख अनिल बोगटीले नेपालीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा नयाँ पुस्ताका बेनुप क्षेत्री, प्रशन राजभण्डारी, राजु तामाङ, ज्योति तामाङ र सलिना विकसहितका कलाकारले नेपालीका गीतमा सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, ड्रम्समा सुन्दर के महर्जन, गिटारमा सिद्धान्त शेरचन, किबोर्डमा सुनिल एस. नेपाली र बास गिटारमा कृष्ण लिम्वूले साथ दिएका थिए ।
नेपाली गीत संगीतको क्षेत्रमा चार दशकदेखि अनवरत र अविचलित रुपमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ संगीतकर्मी नेपालीलाई रेडियो कान्तिपुरले सम्मान प्रदान गरेको हो ।
वाद्यवादकको रुपमा सांगितिक यात्रा सुरु गरेका नेपालीले ५ हजार भन्दा बढी गीतमा संगीत संयोजनका साथै वाद्यवादन र सांगीतिक कोशेलीमार्फत गीत–संगीत क्षेत्रमा योगदान गरेका छन् । २०१८ सालमा काठमाडौंको डिल्लीबजारमा बुवा गणेशबहादुर परियार र माता सन्त कुमारीका सन्तानको रुपमा जन्मिएका नेपालीले व्यावसायिक जीवनको अधिकांश समय नेपाली संगीतको उन्नयनमा समर्पित गरेका छन् । अहिले पनि नेपाली संगीत र वाद्यवादनमा सक्रिय छन् । उनको “रेलिमाई रेलिमाई” र “पलपल रहरमा” नामक एकल एल्वम सर्वाधिक लोकप्रिय छन् ।
रेडियो कान्तिपुरले “सलाम ज्यूँदो इतिहासलाई” कार्यक्रममार्फत गीतसंगीत र कला क्षेत्रमा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।
