‘द टेस्ट अफ सेलरोटी’ : जेन–जी आन्दोलनदेखि जनयुद्धसम्मको पीडाको यात्रा

कौसीमा मञ्चन भइरहेको नाटक 'द टेस्ट अफ सेलरोटी' असार २८ सम्म चल्नेछ ।

असार ९, २०८३

रीना मोक्तान

‘The Taste of Celeroti’: A Journey of Pain from the Gen-G Movement to the People’s War

What you should know

काठमाडौँ — 'दयालु रुख' मञ्चको ठिक बीच्चमा ठिङ्ग उभिएको छ । त्यो रुख कहाँ सधैँ सानो केटो खै के के माग्न आइरहन्छ ? कहिले खेल्न आइपुग्छ, कहिले त्यहीँ फलेको फल खान । कहिले छहारीमा शीतल खोज्न त कहिले त्यही रुखको डुङ्गा बनाउन । केटोले सधैँ रुखलाई केही न केही मागिरहन्छ । रुख भने दिएर कहिल्यै नथाक्ने, खुसी भएर दिइरहने । फेरि रुखमा त्यो अद्‌भुत शक्ति पनि छ, आफ्ना भाग(फल, हाँगा…)हरू दिएरै फुच्चेका आकांक्षा पुरा गरिदिन सक्ने ! 

ठिक ८ वर्षअघि आकांक्षा कार्कीले पनि यही रुखको कथा सुनाउँदै नेपाली रंगप्रेमीहरूलाई कौसी थिएटर(कथा घेरा) सुम्पेकी थिइन् । ९औँ वर्ष प्रवेश गर्दा यो थिएटरले रंगमञ्चलाई दयालु रुखले झैं के मात्रै दिएन होला त ? कहिले महिला मुद्दामाथि निरन्तर बहस गर्ने सिर्जना पस्किरह्‌यो त कहिले प्रयोगले भरिएका आवाजलाई मञ्च दिइरह्‌यो । नयाँ प्रतिभालाई अभिनयको बाटो मात्रै देखाएन, फिल्म क्षेत्रमै पनि हाँगाबिँगा फैलाइरह्यो -कहिले कलाकार रुपमा, कहिले कास्टिङ निर्देशकका रुपमा ।

टेकुस्थित कौसीमा खोलिएको कथा घेराले नयाँ कथाहरू भनिरह्यो, रंगमञ्चमा आफ्नो छुट्टै दर्शक पनि बढाइरह्यो । पुरुष दमित रंगकर्ममा ठिङ्ग उभिएको रुखजस्तो मजबुत उभिइन् आकांक्षा । कर्णाली पुग्दा  भाइरल भएको रंगकर्मीको समूह होस् वा कान्ससम्म पुगेको 'एलिफेन्ट्स इन द फग', कौसी कहीँ न कतै देखिएकै छ । हरियो रुखझैं बढ्दैछ । व्यावसायिक रुपले बलियो नभइसकेको रंगकर्मको यो यात्रामा ‍हरियाली छरिरहने कौसीका कदम वास्तवमै यस्तो क्षेत्रमा टिकिरहनेका लागि एउटा 'केस स्टडी' नै हो । 

यस पटक कौसीले नयाँ कथासहित नयाँ निर्देशक दिएको छ । कौसीले ९औँ वर्ष टेक्दा घोषणा गरिएको 'प्रोडक्सन ग्रान्ट' अन्तर्गत छानिएको नाटक 'द टेस्ट अफ सेलरोटी' असार ७ देखि मञ्चनमा आइसक्यो । यो नाटक कवि एवं कलाकार मिल्सन डि चाम्लिङको डेब्यू निर्देशन हो । नाटकको केन्द्रमा सन्तानका कारण तड्पनमा परेका दम्पतीको कथा छ । मानव सम्बन्धको जटिलता चाम्लिङले नाटकमार्फत देखाएका छन् । ३ भागमा भनिएको यो कथामा एउटै जोडी दम्पतीका रुपमा देखा पर्छन् । तर, सन्तान प्राप्ति र त्यसलाई गुमाउँदाको पीडा मुख्य विषयको रुपमा उभिन्छ । पति र पत्नी बनेका छन्, कलाकारहरू वेदना राई अनि प्रयास बान्तवा राई । 

पहिलो कथा जेन-जी आन्दोलनबाट सुरु हुन्छ । मञ्चमा कथा सुरु हुनुअघि सेतो पर्दामा प्रदर्शनका दृश्यहरू देखाइन्छन् । त्यो पनि जेन-जी आन्दोलनमा सिंहदरबारअघि भएको घटनाको । प्रदर्शनकारीको चर्को आवाजबीच बालबालिकाको हाँसो पृष्ठभूमिमा सुनिन्छ । त्यसपछि मञ्चमा देखा पर्छन् म्हिसाम्मा(वेदना)र सोम्योक(प्रयास) । मञ्चको देब्रेतिर किचनजस्तो देखिने ठाउँमा उभिएर संयोगले सेल बनाउँदै हुन्छन् । यता खाली कुर्सी छेउ म्हिसाम्मा मौन, मनमै कुरा गुम्साएर उभिएजस्तो । सेलको बहानामा सोमो त्यहाँ अल्झिन चाहन्छिन्, सोम्योक पनि सोमोलाई रोक्न चाहन्छन् । सेल पाक्न पनि त समय लाग्छ । अक्मकिँदै २ एक अर्कासँग बातचित गर्न थाल्छन् । बिस्तारै दुईबीचको उकुसमुकुस बाहिरिन्छ, जब म्हिसाम्मा सोम्योकलाई सोध्छिन्,'जेन-जी आन्दोलनमा तिमी हाम्रो नानी लिन किन स्कुल पुगेनौं ? त्यो दिन तिमी कहाँ थियौ ?’ सोम्योक आत्तिन थाल्छन्, म्हिसाम्मा प्रश्नमाथि प्रश्न गर्छिन् । प्रश्नको प्रहार थाम्न नसकेपछि आफू त्यसदिन स्कुल नपुग्नुको कारण सुनाउँछन् सोम्योक ।

त्यसपछि खुल्छ, यी दुईबीचको जटिल सम्बन्ध ! वर्तमान पतिलाई तलै पर्खाएर आखिर म्हिसाम्मा पूर्वपतिबाट के सुन्न चाहन्थिन् त ? नाटक ‘द टेस्ट अफ सेलरोटी’को यो पहिलो भागको कथा निकै हृदयविदारक छ । निर्देशक मिल्सनले यो कथामार्फत दाम्पत्य जीवनको जटिलता अनि सन्तान गुमाउँदाको पीडा सुन्दर शैलीमा पस्केका छन् । तर, यो भागका केही दृश्य निकै कमजोर छन् । जस्तै, आफू स्कूल नपुग्नुको कारण सुनाउँदै गर्दाको दृश्यमा संयोगले बोल्ने संवाद होस् या स्वीकारोक्ति, त्यसमा विश्वसनीयता भेटिन्न । त्यो विषय अचानक कथामा प्रवेश हुँदा, उक्त दृश्य यथार्थपरक देखिन्न । 

अर्को त, निर्देशक मिल्सनले सन्तान गुमाएको दम्पती पीडा पस्कन यो नाटकमा निकै ठूल्ठूलो कालखण्ड जोडेका छन् । जेन-जी आन्दोलनसँगै जनयुद्ध । तेस्रो कथामा त किराँतीले विश्वास गर्ने सृष्टिकै कथा पनि समावेश छ । तेस्रो भागमा पनि सन्तान गुमाएकै दम्पती केन्द्रमा देखिन्छ । तर, यतिबेलाको अवस्था केही फरक छ । जनयुद्धको समय देखाउँदै यो समयमा सन्तान गुमाएका पति र पत्नीको प्रतिनिधित्व हुन् वेदना र प्रयास । सन्तान गुमाउनुभन्दा पनि पर्खनेका पीडा यो भागमा समेटिएको छ । घरको दैलोमा दियो बालेर आफ्नो सन्तानको बाटो पर्खिरहेकी आमा होस् वा आस मारिसकेको बाबु । तेस्रो कथामा जनयुद्धमा हराएका सन्तान पर्खने परिवारको पीडा छ । हुन त युद्धबीच नै यो दम्पतीले आफ्ना छोरा गुमाएका हुन्छन् । तर, उनीहरू त्यो सत्य स्विकार्न सक्दैनन् । उनीहरूलाई लागिरहन्छ, माओवादीबाट बचाउन भगाएको छोरो कुनै दिन घर फर्कन्छ । त्यसैले आमा पात्रले लालटिनको प्रकाशको साहयतामा बाटो हेरिरहन्छन् । उनको आँखामै त्यो पर्खाइ देखिन्छ । तर, यो दम्पतीलाई थाहा छ, उनीहरूका छोरा कहिल्यै नफर्कन बाटो हिँडेका छन् । तर गलेका आँखा, शिथिल शरीर यो सत्य स्विकार्दैन । युद्धमा सन्तान गुमाएका परिवारको मानसिकता, उनीहरूको पर्खाइ र छटपटी उनीहरूमार्फत देखाइएको छ । 

यस्तो मसिनो भावनाका कथा भन्न यो नाटकमा निर्देशकले ठूल्ठूला घटनाको तादत्म्य मिलाउन भने जानेका छैनन् । मिहिन कथा भन्न निर्देशकले ठूलो घटना समाएका त छन् तर विषयवस्तुको गहिराईमा पुग्न सक्दैनन् । सतहमै बसेर कथा सुनाउँछन् । 'सेलरोटी'को मिथक भने साँच्चै सेलरोटी झैं मिठो तरिकाले कथा र पात्रहरूमा मिसाइएको छ । सेलरोटीको त्यही मिठाससँग जोडिएको भावलाई भने निर्देशकले ठूला घटनामार्फत बगाउन खोज्दा सरल ढंगमा बग्दैन । 

अन्तमा, कौसीकै कुरा । फुच्चे केटोले मागेको सबै दिँदै गर्दा एकदिन 'दयालु रुख' ठूट्टोमा परिणत हुन्छ । तर पनि रुखले खुसीखुसी सबै दिन्छ । कौसीले पनि खुसी हुँदै रंगमञ्चलाई फेरि नयाँ निर्देशक दिएको छ । यति ठूलो क्यानभासको कथा भन्न खोज्ने निर्देशकलाई विश्वास गर्दै यो मञ्च दिनु, कौसीको 'दयालु रुख'को स्वरूप हो । यसरी मञ्च, प्रतिभा र नयाँ कथा दिने कौसी कहिल्यै दिएर थाकेको देखिन्न । तर हाँगाबिँगा फैलाएर झनै झ्याङ्गिँदै रुखमा परिणत भएको देखिन्छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully