समीक्षकलाई चित्त बुझाउनु संसारकै सबैभन्दा गाह्रो काम : अभिनेता आचार्य

फिल्म ‘भूठान’ बाट उत्कृष्ट अभिनेताको ‘क्रिटिक्स अवार्ड’ थापेपछि अभिनेता हरिवंश आचार्यले समीक्षकहरूबाट पुरस्कार पाउनु निकै गौरवको कुरा भएको बताए ।

असार ७, २०८३

कान्तिपुर संवाददाता

Satisfying critics is the most difficult job in the world: Actor Acharya

What you should know

काठमाडौँ — काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा शनिबार आयोजित एक विशेष समारोहमा बोल्दै अभिनेता हरिवंश आर्चायले समीक्षकलाई चित्त बुझाउनु सबैभन्दा अप्ठ्यारो काम भएको बताएका छन् ।

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) द्वारा वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका फिल्महरूको मूल्यांकनका आधारमा प्रदान गरिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ मा फिल्म ‘भूठान’ बाट उत्कृष्ट अभिनेताको अवार्ड थापेपछि आचार्यले समीक्षकहरूबाट पुरस्कार पाउनु निकै गौरवको कुरा भएको बताए । ‘फिल्ममा यो भएन, त्यो भएन भनेर दोषैदोष देखाउने व्यक्तिहरूले दिएको अवार्ड हो यो,’ ठट्यौली गर्दै अभिनेता आचार्यले थपे, ‘मलाई त आज श्रीमतीले अवार्ड दिए जस्तो लागिरहेको छ, किनकि श्रीमती र समीक्षक दुवैलाई चित्त बुझाउनु भनेको संसारकै सबैभन्दा गाह्रो काम हो ।’

कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, पर्यटन बोर्डका पदाधिकारी तथा फिल्म क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले विजेतालाई अवार्ड हस्तान्तरण गरेका थिए । अभिनेता श्रेष्ठले व्यापारिक रूपमा सफल हुन नसकेका तर कलात्मक हिसाबले अब्बल फिल्म र प्राविधिकलाई समीक्षक समाजले न्याय गरेको बताए ।

‘सबै राम्रा फिल्मले व्यवसायिक सफलता पाउँछन् नै भन्ने छैन, प्रचारप्रसारको अभाव वा अन्य विविध कारणले पनि कतिपय उत्कृष्ट फिल्म ओझेलमा परिरहेका हुन सक्छन्,’ फिल्म ‘सानो संसार’को उदाहरण दिंदै उनले भने, ‘फिल्म चलेन भन्दैमा हरेश खानु पर्दैन, आज त्यसैको प्रमाण स्वरूप ‘सानो संसार’ ले अवार्ड पाएको छ ।’

‘शाम्बाला’ र ‘ऊनको स्वीटर’ ले जिते फिक्सन अवार्ड

गत वर्ष सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्ममध्येबाट ‘ऊनको स्वीटर’ ले उत्कृष्ट फिल्मको फिक्सन अवार्ड जितेको छ । यसै फिल्मबाट नवीन चौहानले उत्कृष्ट निर्देशक तथा उत्कृष्ट पटकथामा सुरज कटुवालसँग संयुक्त गरी दुई अवार्ड जिते । ‘ऊनको स्वीटर’ का लागि चौथो अवार्ड पार्श्व संगीतका लागि कोविद बज्रले पाए । विधागत उत्कृष्टको नाम यसअघि नै घोषणा गरेको समीक्षक समाजले शनिबार अवार्ड प्रदानसहित पुरस्कृतको सम्मान गरेको हो ।

Satisfying critics is the most difficult job in the world: Actor Acharya

त्यसैगरी, वर्ष २०८२ को उत्कृष्ट अभिनेताको फिक्सन अवार्ड ‘भूठान’ बाट हरिवंश आचार्यले पाउँदा उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ‘रमिताको पिरती’ बाट आना शर्माले जितिन् । ‘भूठान’ बाटै सुशन प्रजापतिले उत्कृष्ट छायांकन र अञ्जय खड्काले उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरे ।

फिक्सन अवार्डको वर्ष २०८१ तर्फ फिल्म ‘शाम्बाला’ले उत्कृष्ट फिल्मसहित चार अवार्ड हात पारेको छ । यही फिल्मबाट उत्कृष्ट निर्देशक घोषित मीनबहादुर भाम तथा उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामोले फिक्सन अवार्ड पाए । यस्तै, फिल्म ‘गाउँ आएको बाटो’ बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको अवार्ड चुम्दा सोही फिल्मका लागि किशोर आचार्यले उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड हात पारे ।

फिल्म ‘सानो संसार’का लागि सरिष्मा खत्री र सिद्धार्थ पुडासैनीले उत्कृष्ट पटकथा/लेखनको अवार्ड जिते भने फिल्म ‘आँखा’ बाट आलोक शुक्लाले उत्कृष्ट छायांकारको अवार्ड थापे । फिल्म ‘राजागञ्ज’ का लागि जे. हिम ली र एलेक्स गुर्भिट्सले उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरे भने ‘स्पेसल मेन्सन’ अन्तर्गत अभिनय विधामा फिल्म ‘बोक्सीको घर’ की बालकलाकार सुपला सापकोटा र ‘पूर्ण बहादुरको सारङ्गी’ का कला निर्देशक रोशन दिवानालाई पुरस्कृत गरियो ।

समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले फिल्मकर्मी र समीक्षकबीच ‘लभ एन्ड हेट’ को सम्बन्ध रहने गरेको स्वीकार गर्दै समीक्षालाई सिर्जनामाथिको आक्रमणका रूपमा बुझ्न नहुने धारणा राखे । ‘हामीकहाँ समीक्षकलाई व्यावसायिक फिल्मको दुश्मनका रूपमा हेर्ने चलन छ, तर समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो,’ तिमल्सेनाले थपे, ‘स्वस्थ समीक्षाले नेपाली फिल्मलाई अझ उत्कृष्ट बनाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन इमानदार संवादको भूमिका खेल्छ ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले फिल्मले देशको पर्यटन र अर्थतन्त्रमा कायापलट गर्न सक्ने भन्दै अब सरकारले यस क्षेत्रलाई नजरअन्दाज गर्न नसक्ने बताए । उनले आगामी दिनमा पर्यटन बोर्डले चलचित्र प्रवर्द्धनका लागि छुट्टै बजेट नै विनियोजन गरेर अघि बढ्ने र नेपाललाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’ बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully