नतिजा अहिले सार्वजनिक गरे पनि अवार्ड वितरण भने वर्ष २०८२ कै अवार्ड समारोहमै गरिने बताइएको छ ।
काठमाडौँ — चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले दिने वर्ष २०८१ को ‘क्रिटिक्स अवार्ड’मा ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ । समाजले सार्वजनिक गरेको विज्ञप्ति अनुसार यही फिल्मबाट निर्देशक मीनबहादुर भाम उत्कृष्ट निर्देशक र अभिनेत्री थिन्ले ल्हामो उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।
१० विधामा वितरण गरिने यो अवार्डमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता घोषित भएका छन् । यही फिल्मबाट साउन्ड डिजाइनर किशोर आचार्यले 'उत्कृष्ट साउण्ड डिजाइन'को अवार्ड उचाल्नेछन् । समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण नतिजा अहिले सार्वजनिक गरे पनि अवार्ड वितरण भने वर्ष २०८२ कै अवार्ड समारोहमै गरिने बताए । 'अब हामी २०८१ र २०८२ को अवार्ड सँगै वितरण गर्नेछौं,' अध्यक्ष तिमल्सिनाले भने ।
‘क्रिटिक्स अवार्ड २०८१’मा 'सानो संसार'बाट उत्कृष्ट पटकथा/लेखनको अवार्ड सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी, 'राजागञ्ज'बाट जे. हिम ली र एलेक्स गुर्भिट्सले उत्कृष्ट सम्पादन, 'बोक्सीको घर'बाट बाल कलाकार सुपला सापकोटालाई अभिनयमा स्पेसल मेन्सन, 'पूर्ण बहादुरको सारङ्गी'लाई उत्कृष्ट कला निर्देशनतर्फको स्पेसल मेन्सन दिने घोषणा भएको छ ।
