चलचित्रलाई सामाजिक जागरण र राष्ट्रिय पहिचानको माध्यम बनाउनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले चलचित्रको पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र विभिन्न भूगोलका समुदायको प्रतिनिधित्व सम्मानजनक र यथार्थपरक हुनुपर्नेमा जोड दिए ।

असार ५, २०८३

कान्तिपुर संवाददाता

Films should be made a medium of social awareness and national identity: President Poudel

What you should know

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताएका छन् । 

शुक्रबार आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उनले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । राष्ट्रपति पौडेलले नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य एवं सामाजिक जीवनलाई विश्व मञ्चमा चिनाउन चलचित्रले सेतुको काम गर्ने बताएका छन् । 

बदलिँदो परिवेशअनुरूप नीतिगत तथा कानूनी सुधारको आवश्यकता औंल्याउँदै राष्ट्रपतिले चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन सरकारले आवश्यक सुविधा र सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले नेपाली चलचित्रले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउन सरोकारवालाहरूको ध्यान जानुपर्ने बताए । कलाकार र प्राविधिकहरूले यसै क्षेत्रमा आफ्नो भविष्य सुरक्षित र आत्मसम्मानित महशुस गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । 

‘चलचित्र हाम्रो साझा पहिचान निर्माणको आधार हो । प्रविधिको विकासले निर्माणदेखि वितरणसम्म सहजता ल्याए पनि यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार संरक्षणमा सचेत हुन आवश्यक छ । जब हरेक नेपालीले चलचित्रको पर्दामा आफ्नो कथा र प्रतिबिम्ब देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्दछ,’ उनले भने । 

नेपाली मौलिकताका सन्दर्भमा चर्चा गर्दै राष्ट्रपति पौडेलले गाउँठाउँ र कुनाकाप्चाका कथालाई सुक्ष्म ढङ्गले पर्दामा उतार्न सके नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सव र विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे । यसका लागि चलचित्रकर्मीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक पक्षमा केन्द्रित रहन उनले सुझाव दिए ।

यस्तै, राष्ट्रपति पौडेलले चलचित्रको पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति र विभिन्न भूगोलका समुदायको प्रतिनिधित्व सम्मानजनक र यथार्थपरक हुनुपर्नेमा जोड दिए । 

कान्तिपुर

Link copied successfully