‘लुसिफर राइजिङ’ : सत्ताको अंहकार र उन्मादमाथि व्यंग्य

लामो समय विवादमा अल्झिएको यो नाटकले 'शक्तिको उन्मादले लुसिफर' बन्नेहरूलाई व्यंग्य गर्छ ।

असार २, २०८३

रीना मोक्तान

'Lucifer Rising': A satire on the arrogance and madness of power

What you should know

काठमाडौँ — सुरू गरौं कब्जा 

अनि आउँछ मज्जा 

सुरू गरौं कब्जा 

अनि आउँछ मज्जा 

र्‍यापर साकारले गाएको ‘कब्जा’बोलको यो र्‍यापसँगै नाटक ‘लुसिफर राइजिङ’ सुरू हुन्छ । र्‍यापमा भनिएझैं नाटकले कब्जाकै समय देखाउँछ-त्यो पनि जेन-जी विद्रोह ! सत्ता, शक्ति र समयमाथिको कब्जा । र्‍यापको सुरूवातमै साकार देशमा भएको बेथिति र भ्रष्टाचारमाथि प्रश्न उठाउँदै गाउँछन् – साकारको सरकार….सुरू गरौं कब्जा अनि आउँछ मज्जा !

रोचक त के छ भने यो नाटकमा निर्देशक सहलेशले जेन-जी विद्रोहका घटना सुन्दर तरिकाले कथामा उनेका छन् । उदाहरणका लागि आन्दोलनकारीद्वारा धपाइएका, दुर्व्यवहारमा परेका प्रहरी जवान आफूलाई बचाउन एउटा यस्तो कोठामा शरण लिन पुग्छन् । जुन  कोठाको  पुरुष पात्र आफैं जेन-जी विद्रोहमा सक्रिय हुन्छ । सपिङमल लुट्छन्, प्रहरीमाथि ज्यादती गर्छन्, अनि पैसा चोर्छन् । अनि भन्छन्,'सब सिटी जेन-जीको कब्जामा आइसक्यो, बुझिस् । सब कप्स आउट, अब जेन-जीको राज चल्छ ।' 

अब सोच्नुस्, आन्दोलनकारीद्वारा रक्ताम्मे भएका प्रहरी जवान, सत्ता र शक्ति हातमा लिएका प्रदर्शनकारी एकअर्काको आमुन्ने सामुन्ने कसरी उभिएलान् ? त्यसमाथि आन्दोलनकारीको हातमा बन्दुक । प्रहरीकै बर्दी । प्रहरी जवान भने निरीह, निसहाय, निशस्त्र ! एक थिएटरमा मञ्चनमा आएको यो नाटकले जेन-जी विद्रोहको त्यो अवस्था, आक्रोश अनि विध्वंस हुबहु मञ्चमा उतार्छ । सत्ता, शक्तिसँग निराश भएका, आशाविहीन एउटा यस्तो तप्कालाई निर्देशकले मञ्चमा उभ्याउँछन्, जसका कार्य र अभिव्यक्तिमा तपाईं आफूलाई समानूभुत र सहानूभुत गर्नुहुन्छ । एकाध दृश्य र संवादबाहेक यो नाटकमा बिझाउने पक्ष खासै छैनन् । 

पहिला कथासार हेरौं - यो कथा राज्यप्रति आक्रोशित युवाको विद्रोह उपर भए पनि निर्देशकले मञ्चमा दुई पात्रलाई विशेष महत्त्वका साथ उभ्याएका छन् । पहिलो -एलिशा । उनी अधिकांश समय कोठाभित्रै हराइरहन्छिन् । केही अदृश्य शक्तिले उनलाई तड्पाइरहेको छ, जसलाई उनी शैतान(लुसिफर)को संज्ञा दिन्छिन् । अनि प्रभु येशुसँग आफूलाई उक्त छायाबाट, तड्पनबाट जोगाइदिन प्रार्थनामा अनुरोध गर्छिन् ।

अरूबेला त त्यसै टोलाइरहने उनी लागुऔषधि सेवनपछि होसै हराएझैं हुन्छिन् । उनको प्रेमी प्रताप पनि ड्रग्सकै नशामा मस्त । तर, ड्रग्सको नशाले भन्दा प्रतापलाई आफूले पाएको शक्तिको मात लागेको छ -जब देशमा जेन-जी विद्रोह हुन्छ । प्रतापले हिजो 'ट्यापे' भनेर घुस्न नदिएको सपिङमल तोडफोड गर्ट । चौकी फुटाएर, प्रहरीलाई नङ्ग्याएको छ । सपिङ मलबाट एक थुप्रो समान र पैसा चोरेको छ । तर, त्योभन्दा बढी, बन्दुक बोक्दाको शान र मान पाएको छ । क्षणभरकै लागि भए पनि प्रतापको हात शक्ति आइलागेको छ । सिंहदरबार जलाएको उनलाई थाहा छ -अब देशमा आफ्नै सरकार छ । बन्दुकले एक किसिमको शक्तिको उन्माद उनमा भरिदिएको छ ।  ‍

शक्तिले मानिसलाई कस्तो अनुभव गराइदिन्छ, अनि त्यो शक्तिले दिने ऊर्जा कतिञ्जेलका लागि हो ? आखिर शक्तिमा पुगिसकेपछि किन मानिसमा अहम् हुन्छ ? नाटकमा प्रताप चरित्रमार्फत देखाइएको छ । शक्तिले आफैंलाई कब्जा गरिहाले के हबिगत हुन्छ प्रताप उदाहरण पनि हो । एलिशा, प्रताप अनि जेन-जी विद्रोहले उनीहरूको कोठाभित्र भित्र्याएको अन्य पात्र(२ कैदी)को कथा 'लुसिफर किंग'मा समेटिएको छ । 

यो नाटक विषयवस्तुकै हिसाबले नौलो हो । सत्ता र शक्तिप्रति आक्रोशित एउटा समुदायको कथा यसमा समेटिएको छ, जसलाई आजसम्म कसैले मानवीय नजरले हेरेन । जस्तै एलिसालाई ट्यापे भनेरै सपिङ मल छिर्न दिइएन । शक्ति हात लाग्दा प्रतापले त्यसैको बद्ला लिन्छन् । 'अस्ति के रे, सपिङ मलकोले तँलाई ट्यापिनी भनेर छिर्न दिएको छैन भन्थिस् नि होइन ? जलाएर आको छु मैले । अब एकएकको बदला लिने हो अब,'विद्रोहबीच विध्वंस मच्चाएका प्रतापले एलिशालाई सुनाउँछन् । यो नाटक त्यस्तो व्यक्तिको कथा हो, जसमा न राज्यको ध्यान पुग्यो, न समाजकै । समाजको एक हिस्सा भएर पनि नजरअन्दाज गरिएको त्यही समूह र पात्रले राज्य र प्रशासनप्रति पोख्ने आक्रोश नाटकले देखाउँछ ।  

लागुऔषध सेवनकर्तालाई गरिने दुर्व्यवहार, समाजले गर्ने अपहेलना प्रताप र एलिशाले देखेका छन् । चोर भन्दै गरिएको दुर्व्यवहार सहेका छन् । आफूमाथि गरिएको यस्तै दुर्व्यवहारको आक्रोशमा प्रतापले बन्दुक उठाउँछ । अनि आफूहरूमाथि अनावश्यक शंका र अपहेलना गर्नेप्रति गोली बर्साउँछ । राज्य र प्रशासनप्रति जनता किन आक्रोशित भए ? यी दुईले भोगेको भोगाइ र त्यसको आक्रोशमा भेटिन्छ । तर, के आक्रोशले सधैं अराजकता मात्रै पछ्याउँछ ? प्रश्न जवाफ खोजिरहेको छ । 

यो नाटकले जुन वर्ग र समूहको कथा समेट्छ, त्यहीँको भाषा पक्रेको छ । जस्तै पात्रहरूले आक्रोश पोख्दा 'अश्लील' शब्दमात्रै फलाक्छन् । अधिकांश समय पात्रले अश्लील संवाद बोल्छन् ।  त्यही संवादले नै त्यो पात्र र उनीहरूको परिस्थितिछेउ दर्शकलाई पुर्‍याउँछ । अब पात्र र परिस्थितिको यथार्थछेउ पुर्‍याउने नाटकका संवाद के श्लील, के अश्लील ? 

तर, गरिब बस्ती(सुकुमवासी, अव्यवस्थित बस्ती)भित्रको पात्रको  कथा भनिरहँदा, अपराध र अश्लीलता मात्रै प्रस्तुत गर्नुपर्ने भाष्य भने परम्परागत देखिन्छ । यो नाटकको कथा, बलात्कारको दृश्यबिनै पनि अगाडि बढाउन सकिन्थ्यो । तर, उक्त बस्तीका पात्रलाई आपराधिक देखाउने विचारधारा यही दृश्यमा पनि दोहोरिएको छ । तर, नाटकका यस्ता कमजोरीलाई कलाकारको अभिनयले भने ढाकछोप गर्छ । एलिशा बनेकी तारा, प्रताप बनेका अनोज पाण्डेले त चरित्रभित्रको त्यो 'एड्रिनल रस' सुमधुर ढंगले प्रस्तुत गरेका छन् । अन्य कलाकारहरू बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुव्रतराज सिलवाल र एडन बातीको अभिनयले पनि नाटक बलियो बनेको हो । 

लामो समय विवादमा अल्झिएको यो नाटकले 'शक्तिको उन्मादले लुसिफर' बन्नेहरूलाई व्यंग्य गर्छ । बाइबलअनुसार लुसिफर त्यो पात्र हो, जो कुनैबेला 'परमेश्वर'को नजिकको स्वर्गदूत थियो । तर, जसै उनमा शक्तिको अहम् छिर्छ, तब त्यही घमण्डले उनलाई पतनमा पुर्‍याउँछ ।

इसाई धर्मको विश्वासीलाई पात्र बनाउँदै यही धर्मका मानिसले विश्वास गर्दै आएको आस्थामार्फत नाटकले 'लुसिफर' बन्ने प्रवृत्तिमाथि प्रश्न उठाउँछ । आखिर शक्तिमाथिको कब्जाबीच तपाईंमा लुसिफरको जस्तै अहम् आए कस्तो हबिगत होला ? नाटकले यही सत्ताको उन्मादी प्रवृत्तिमाथि कडा व्यंग्य गर्छ । साकारको र्‍यापमा भनिएझैं शक्तिमाथि कब्जा त गर्न सकिएला तर शक्तिले तपाईंलाई कब्जा गरिहाले ? नतिजा के होला ? नाटकले प्रश्न उठाउँछ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully