एकलव्यहरुले अब न त पुस्तकमा न समाजमा, कतै पनि जातीय विभेद सहिरहन नपर्ने समाज, सवाल र संवादको पक्षमा नाटक उभिन्छ । नाटकले पौराणिक विचार समाएका रुढीवादी परम्परा पक्रनेहरुमाथि बेजोड ब्यंग्य गर्छ ।
What you should know
काठमाडौँ — पुस्तकका पात्रहरु लेखकसँग झट्ट बोल्न आइपुगे कस्तो देखिँदो हो ? अझ आफ्नै चरित्रमाथि लेखकसँग प्रतिप्रश्न गर्न थाले के होला ? त्यतिबेला लेखक र पात्रबीचको संवाद कस्तो सुनिँदो हो ? तपाईंलाई के लाग्छ ? के पुस्तकका पात्रहरु फुत्त बाहिर आएर लेखकसँग प्रतिवाद गर्न सक्छन् होला त ?
कान्तिपुर थिएटरमा मञ्चन भईरहेको नाटक 'महाभारत'मा यस्तै अवस्था आइलाग्छ । महर्षी व्यास (सुवर्ण थापा) महाभारतको कथा भन्दै जान्छन्, गणेश जी (मनोज गजुरेल) लेख्दै जान्छन् । मन्चमा एकलव्य (सन्दीप श्रेष्ठ) को कथानक दृश्य द्रुत गतिमा बग्न थाल्छ । अनि नाटकको उत्तरार्द्धमा एकलव्य अचानक प्रश्न गर्न आइपुग्छन् । गणेश पनि एकलव्यको चरित्र चित्रणमाथि असहमती राख्दै महर्षी व्याससँग प्रश्न गर्न थाल्छन् । मन्चमा पात्रहरुबीच विवाद उत्कर्षमा पुग्छ । गणेश आफैँ एकलव्यसँग उसको चरित्रका बारेमा परामर्श गर्छन् र व्याससँग प्रतिवादमा उत्रन्छन् ।
जे होस्, मञ्चमा यी पात्रहरु एकअर्कासँग चिरपरिचित देखिन्छन् । कथाका लेखक र त्यसका पात्र कथामा यसरी एकाकार भइदिन्छन् कि, कुन कथा वास्तविक हो ? कुन कलाकार कुन पात्रमा हो ? एकछिन दर्शक नै घोत्लिनुपर्ने अवस्था आईदिन्छ । नाटक 'महाभारत'को कथा वाचनको सशक्त पाटो नै यही हो कि यसमा कथाभित्र पनि कथा मिसाइएको छ ।
उदाहरणका लागि गणेशलाई थाहा छ, कथाको अन्त्यतिर एकलव्यले आफ्नो बुढीँऔंला काट्नुपर्छ भनेर । त्यसैले एकातिर उनी यही कथालाई नयाँ तरिकाले विकास गर्न महर्षी व्याससँग प्रतिवाद गरिरहन्छन् । एकलव्यले बुढीँ औंला काट्नै नपर्ने कथामार्फत उनको दृश्यलाई अगाडि बढाउन व्याससँग अनुरोध गर्छन्, अनुरोध के भन्नु ? वाद विवाद मै उत्रन्छन् । यता, बुढीँ औंला काट्नैपर्ने कथाको अन्त्यसँग जानकार एकलव्यले पनि गणेशसँग यसमा असहमति जनाउँछन् । महर्षी व्यास परे, कथाकार । अब उनले कथालाई कसरी अघि बढाउलान् ?
महाभारतको चर्चित पात्र एकलव्यमाथि केन्द्रित रहे पनि नाटक 'महाभारत' पौराणिक कथा भने होइन । यहाँ त एकलव्यको कथा सुनाउने र लेख्ने व्यक्ति आफै चरित्रका रुपमा मञ्चमा देखा पर्छन् । अनि कथाका पात्र कथाभित्रबाट कथा वाचक र लेखकसँग साक्षात्कार गर्न आइपुग्छन् ।
पौराणिक कथाको संरचना र सन्देश भत्काउने 'महाभारत' त्यसअर्थमा पनि नौलो नाटक हो ।
आदिवासी समुदायका एकलव्य गुरु द्रोणाचार्य (रमेश बुढाथोकी) सँग धनुर्विध्या सिक्न चाहन्छन् । तर, क्षेत्रीयहरु (राजकुमार अर्जुन) लाई धनुर्विध्या सिकाएर आफू सर्वश्रेष्ठ गुरु बन्ने सपना बोकेका द्रोणाचार्यले कथित तल्लाे जातकै कारण देखाएर एकलव्यलाई आफ्नो शिष्य स्वीकार्दैनन् ।
तर, गुरुको प्रतिमा नै बनाएर भएपनि एकलव्यले धनुर्विध्याको कठोर अभ्यास पूरा गर्दै आफूलाई सर्वश्रेष्ठ धनुर्धर ठहर्याउँछन् । अन्तमा गुरु द्रोणाचार्यले गुरुदक्षिणा स्वरुप उनको दाहिने हातको बुढीँ औंला माग्छन् । पौराणिक कथामा एकलव्यले आफ्नो औंला काटेको हामी सबैलाई नै थाहा छ । तर अब नाटक 'महाभारत'मा के होला त ? नाटकको राेचकता यसपछी नै छ ।
एकलव्यको औंला कटाएर एक आदीवासीलाई धनुकाँड चलाउन नसक्ने प्रपञ्च रच्ने गुरु द्राेणको नियतलाई कथित तल्लो जातमाथि गरिएको दमन, शोषण र विभेदका रुपमा मञ्चमै बहस छेडिन्छ । औंला काट्नुपर्ने यही परिदृश्यपछि नै नाटकले आफ्नो वास्तविक स्वरुप (मेटा थिएटर) धारण गर्छ । जसै कथाभित्रको पात्र एकलव्यले औंला काट्न खोजिरहेका हुन्छन्, गणेश बनेका पात्र 'पख एकलव्य' भन्दै आफ्नो आसन छोडेर उनीकहाँ पुग्छन् ।
हात्तीको जस्तै देखिने ठूल्ठूला कान भएको प्रप्स खोलेर मनोजको वास्तविक चरित्रमा उत्रँदै उनले एकलव्यले हात काट्नै नहुने पक्षमा वकालत थाल्छन् । अनि आफ्नो असली बोलीमा भन्छन्- ‘यस्तो नाटकमा म अब जीवनमा अभिनय गर्दिनँ, जबसम्म नाटक गर्ने र नाटक हेर्ने दुबैको दिमाग निदाइरहोस् !’ यही संवाद र दृश्यले नै दर्शकलाई झकझकाउने ताकत राख्छ ।
गणेश उर्फ मनोजले आफ्ना कुरा सक्न नपाउँदै महर्षी व्यास पनि आफ्नो वास्तविक परिचय सुवर्णमा फर्केर आक्रोशित हुँदै चिच्याउँछन्- ‘अरे बाबा, त्यसो भए तपाईं आफैं डाइरेक्सन गर्नुस् अनि ब्युँताउनुस् ती निदाइरहेका दिमागहरुलाई !’ कथाभित्र झैं यी दुई फेरि मञ्चमै झगडा गर्न सुरु गर्छन् । दुईलाई सम्झाउँदै द्राेणकाे चरित्रबाट निस्केर रमेश पनि थप्छन्, 'मनोज बाबु तपाईंको समस्या के भने नि, तपाईं हरेक कुरालाई आदर्शको चस्माले हेर्नुहुन्छ क्या । यही तपाईंको समस्या छ । कहिले पनि प्राक्टिकल बन्न सक्नुभएन !
यो दृश्यले नाटक उभिएको सैद्धान्तिक धरातल देखाउँछ । दार्शनिक ज्याक डेरिडाको विनिर्माण सिद्धान्तमा उभिएको यो नाटकका वास्तविक चरित्रहरु अब एकअर्कासँग जात व्यवस्थाले निम्त्याएको विभेदमाथि छलफल गर्न थाल्छन् । पौराणिक कालमा एकलव्यले जातकै कारण औंला काट्नुपरे पनि अबको समयमा त्यस्तो विभेद हुन नहुने भन्दै तर्क वितर्क सुरु गर्छन् ।
कोही एकलव्यको औंला काटिनुपर्छ भन्नेमा तर्क पेश गर्छन् त कोही विपक्षमा । विपक्षमा बोल्नेहरुले कथालाई वर्तमान अवस्थासँग जोड्दै जातकै आधारमा गरिने छूवाछूत र विभेदको अन्त्यका लागि बोल्छन् । एकलव्य बनेका कलाकार सन्दीप श्रेष्ठले पनि जातकै कारण कसैले अपमानित, अपहेलित र दमन सहन नपर्ने परिस्थितिमाथि आफ्नो तर्क राख्छन्, '… जात लुकाउनुपर्ने होइन, बताउनुपर्ने रहेछ । त्यसैले कुरा यही कुरा हो कि सर, अब एकलव्यले आफ्नो बुढीँ औंला काट्दैन ।’
डेरिडाको विनिर्माण सिद्धान्त समाउँदै नवीन भट्ट निर्देशित यो नाटकले पौराणिक कथाको एकलव्यको चरित्र चित्रण, त्यसले दिएको सन्देशमाथि नै प्रश्न उठाउँदै यो पात्रलाई फरक तरिकाले सोच्न लगाउँछ । एकलव्यहरुले अब न त पुस्तकमा न समाजमा, कतै पनि जातीय विभेद सहिरहन नपर्ने समाज, सवाल र संवादको पक्षमा नाटक उभिन्छ । नाटकले पौराणिक विचार समाएका रुढीवादी परम्परा पक्रनेहरुमाथि बेजोड ब्यंग्य गर्छ ।
मञ्चमा प्रस्तुत ध्वनी र प्रकाशले पनि ‘महाभारत’ले फैलाउन खोजेको यही भाष्य संचार गरिदिन्छ । त्यसमाथि रमेश बुढाथोकीजस्ता कलाकारको खारिएको अभिनय, मनोज गजुरेल र सुवर्ण थापाको परिपक्व चित्रण । एकलव्य बनेका सन्दीप । यी कलाकारको अभिनयले नै पौराणिक कथाका पात्रहरु मञ्चमा जीवन्त लाग्छन् ।
त्यसमाथि उनीहरुको चरित्रले सिर्जना गर्ने जात व्यवस्थामाथिको यो बहस वास्तवमै वर्तमान समाजका लागि अत्यावश्यक देखिन्छ । तर, यसरी दमित आवाज, समुदाय र पात्रहरुलाई मञ्चमा उभ्याउँदै गर्दा त्यही समुदायलाई नाटक निर्माणदेखि सरिक गराइएको भए, यो बहसले अझ उचाईं छुन्थ्यो कि ?
