यसै नाटकबाट मन्टेलो र मेटकाफले उत्कृष्ट (नाटकतर्फ) निर्देशन र अभिनेत्रीको अवार्ड जिते ।
न्युयोर्क — आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’ ले सर्वाधिक ६ वटा विधामा जित हासिल गर्दै आइतबार साँझ न्युयोर्कस्थित रेडियो सिटी म्युजिक हलमा आयोजित ७९ औं टोनी अवार्ड्समा यसवर्ष वर्चश्व कायम गरेको छ । त्यसैगरी, समान ४–४ अवार्ड्स जित्दै ‘श्मिगाडुन’, ‘द लस्ट ब्वाइज’ र ‘र्यागटाइम’ दोस्रो स्थानमा रहे । मनोनयनमा भने ‘द लस्ट ब्वाइज’ र ‘श्मिगाडुन’ सर्वाधिक १२ विधामा परेका थिए ।
सन् १९४९ को स्टेज नाटक स्कट रुडिनद्वारा निर्मित यस नयाँ संस्करणको ‘डेथ अफ अ सेल्सम्यान’ लाई जो मन्टेलोले निर्देशन गरेका हुन् । जसमा नाथन लेन, लरी मेटकाफ, जोनाथन केक, माइकल वाशिंटन, तासा लरेन्स, क्रिस्टोफर एबोटको मुख्य भूमिका रहेको छ । नाटकतर्फ ‘डेथ अफ अ सेल्सम्यान’ बाट मन्टेलोले निर्देशन र मेटकाफले अभिनेत्रीको अवार्ड जिते ।
आर्थर मिलरको यस नाटकलाई ६ देशमा मन्चन गरिसकिएको छ भने यसलाई एडप्ट गरेर १० वटा फिल्म बनिसकेका छन् । सन् १९४९ मा नै यस नाटकले प्रतिष्ठित पुलित्जर पुरस्कार जितेको थियो । भारतमा पनि निर्देशक फिरोज खानले एडप्ट गर्दै हिन्दीमा ‘सेल्सम्यान रामलाल’ नाममा मन्चन गरेका थिए । जसमा सतिश कौषिकले पनि अभिनय गरेका थिए ।
‘श्मिगाडुन’ ले म्युजिकल (गीति–नाटक) को टोनी अवार्ड पनि जित्यो । ११ वटा विधामा मनोनयन परेको ‘र्यागटाइम’ ले उत्कृष्ट ‘म्युजिकल रिभाईभल’ को अवार्ड जित्दै चार वटा अवार्ड आफ्नो नाममा दर्ता गरायो ।
उत्कृष्ट नाटकको अवार्ड भने ‘लिबरेसन’ ले जित्यो । तर विडम्बना उत्कृष्ट नाटक बनेपनि ‘लिबरेसन’ ले अरु विधामा अवार्ड जित्न भने सकेन । २०२६ को टोनी अवार्ड्समा नौ वटा मनोनयनमा परेको ‘क्याट्सः द जेलिकल बल’ ले तीन वटा अवार्ड जित्यो ।
रेडियो सिटी म्युजिक हलबाट सीबीएसमार्फत देशभर प्रत्यक्ष प्रसारण र पारामाउन्टबाट स्ट्रिमिङ भएको टोनी अवार्ड्स वितरण समारोहको सञ्चालन पिंकले गरेकी थिइन् ।
