पुन: प्रदर्शनमा ‘लुसिफर राइजिङ’

आन्तरिक विवादका कारण रोकिएको नाटक निर्माता जनकलाले निर्देशक सहलेशलाई बर्खास्त गरेपछि पुनः प्रदर्शन हुने भएको छ ।

जेष्ठ १८, २०८३

समर्पण श्री

'Lucifer Rising' to be re-released

काठमाडौँ — एक थिएटर नेपालमा नाटक ‘लुसिफर राइजिङ’को मञ्चन पुन: हुने भएको छ । गत १० जेठमा राजनीतिक दबाबका कारण भन्दै निर्देशक सहलेशले नाटक स्थगित गरेका थिए ।

तर यसबारे निर्देशक र निर्माण पक्षले प्रमाण जुटाउन नसकेपछि आन्तरिक विवादकै कारण रोकिएको कुरा टिमबाटै बाहिरिएको थियो । अब भने निर्माता मझुवा बगर जनकलाले निर्देशक सहलेशलाई बर्खास्त गर्दै नाटकलाई पुन: प्रदर्शन गरेको एक थिएटरका अध्यक्ष अनिल सुब्बाले विज्ञप्तिमार्फत बताएका छन् ।

‘निर्माता मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई ‘सरकारविरुद्ध अफवाह फैलाएको’, ‘सम्पूर्ण नाट्य समुदायको अपमान गरेको’ लगायत कारण देखाउँदै नाटकबाट बर्खास्त गरिएको व्यहोरासहित संस्थाका अध्यक्ष वसन्तनाथ लामिछाने ‘चट्टान’को हस्ताक्षर रहेको लिखित पत्र हामी समक्ष पेश गरेको र नाटकको निर्माण पक्ष, नाटकमा सम्बद्ध कलाकारहरु र नाटकका अन्य जिम्मेवार पक्षसँग लामो समय गहन रुपले छलफल गरी नाटकलाई निर्माण संस्थाले पारित गरेको स्क्रिप्टभित्र रही पुनः प्रदर्शन गर्ने सहमति भएको छ,’विज्ञप्तिमा लेखिएको छ ।

अध्यक्ष सुब्बाका अनुसार एक थिएटर नेपाल र निर्माता मझुवा बगर जनकला मञ्चबीच नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार नाटक मञ्चनको क्रममा आइपर्ने नाटक घरसँग सम्बन्धित व्यवधान बाहेक अन्य कुनै पनि कुरामा एक थिएटर नेपाल यसअघि पनि जिम्मेवार नरहेको र आगामी दिनमा पनि जिम्मेवार नरहने जनाइएको छ । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully