‘ट्रुथ सोसल’ मा कलाकारलाई व्यंग गर्दै ट्रम्पले लेखेका छन्, ‘अत्यधिक पारिश्रमिक लिने त्यस्ता दुई कौडीका कलाकारको सट्टामा बरु इतिहासकै सर्वकालीन महान ‘द गोट’ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै ल्याउँ की भन्ने सोच्दैछु ।’
न्युयोर्क — अमेरिकाको २५० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको ‘द ग्रेट अमेरिकन स्टेट फेयर’ बाट अधिकांश कलाकारले हात झिकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोषित भएका छन् । उनले उक्त स्टेट फेयरमा प्रस्तुती नदिने भन्दै नाम फिर्ता लिने कलाकारलाई ‘डरपोक’ र ‘तेस्रो दर्जाका’ भन्दै रोष व्यक्त गरेका छन् ।
‘मलाई थाहा छ, उनिहरू आफ्नो प्रस्तुतीलाई लिएर डराईरहेका छन्,’ आफ्नो सामाजिक सन्जाल ‘ट्रुथ सोसल’ मा कलाकारलाई व्यंग गर्दै शनिबार ट्रम्पले लेखेका छन्, ‘बरु त्यस्ता अत्यधिक पारिश्रमिक लिने दुई कौडीका कलाकारको सट्टामा इतिहासकै सर्वकालीन महान ‘द गोट’ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै ल्याउँ की भन्ने सोच्दैछु ।’
वासिङ्टनको नेसनल मलमा २५ जुनदेखि १० जुलाईसम्म आयोजना हुन लागेको यस मेलाको व्यवस्थापन गरिरहेको समूह ‘फ्रीडम २५०’ कारण विवादित बनिरहेको छ । ‘फ्रीडम २५०’ निश्पक्ष र राष्ट्रप्रति समर्पित तटस्थ संस्था नभएको भन्दै अधिकांश कलाकारले कार्यक्रममा सहभागीता नजनाउने निर्णय गरेका हुन् । उनिहरूले ‘फ्रीडम २५०’ मा ट्रम्पकै रजगज चल्ने भन्दै यसले गर्ने कार्यक्रम राजनीतिक रूपमा तटस्थ र निष्पक्ष नहुने जिकिर गरेका छन् । यस समूहको सीईओ किथ क्राच ट्रम्प प्रशासनकै पूर्व उच्च अधिकारी भएकोले राजनीतिक पक्षधरता देखिएको भन्दै योङ एमसी, मोरिस डे, दकमोडोर्स, मार्टिना म्याकब्राइड, ब्रेट माइकल्सलगायतले कार्यक्रमबाट आफ्नो नाम झिकेका थिए । तर भ्यानिला आइस र फ्लो राइडर जस्ता कलाकारले भने प्रस्तुती दिने बताएका छन् ।
तर यतिबेला कलाकारप्रति ट्रम्पको रीस यतिसम्म उग्र बनेको छ की संभवत उनले कार्यक्रमको शैली नै बदल्न खोजिरहेका छन् । ट्रम्पले सांगीतिक कार्यक्रमको झन्झट लिईरहनु भन्दा ‘मेक अमेरिका ग्रेट अगेन’ (एमएजीए) कै ब्यानरमा एउटा विशाल र्याली गर्ने र त्यसको नेतृत्व आफैंले लिन खोजेको पनि बताइएको छ । आयोजक ‘फ्रीडम २५०’ पनि एक विज्ञप्ती जारी गर्दै ‘राष्ट्रपति ट्रम्पले नै बुधबार (२४ जुन) मा यस ऐतिहासिक उत्सवको सुरुवात गर्ने’ उल्लेख गरेको छ ।
ट्रम्पले पनि कार्यक्रमबाट बाहिरिएका कलाकारहरूको विषयमा सम्बोधन अर्को पोष्टमा भनेका छन्, ‘अब यसको उपयुक्त समाधान भनेको सांगीतिक कार्यक्रम नै रद्द गर्नु हो । २५० औं वार्षिकोत्सवका लागि एउटा विशाल ‘मेक अमेरिका ग्रेट अगेन’ र्याली गर्नुपर्छ । कसैले सुन्न नचाहने बोरिङ संगीत र अत्यधिक महंगा गायकहरूलाई राख्नुको कुनै औचित्य छैन ।’
