आफ्ना चरित्रहरूको स्केच भित्तामा सजाउँछन् विपिन

‘काजी’ फिल्ममा विपिन कार्कीले विवाहित पुरुषको भूमिका निर्वाह गरेका छन्, जसको आफ्नी श्रीमतीप्रतिको प्रेम वास्तविक जीवनसँग मेल खान्छ ।

जेष्ठ १६, २०८३

समर्पण श्री

Vipin decorates the walls with sketches of his characters

What you should know

काठमाडौँ — २०८२ सालभरि अभिनेता विपिन कार्की दर्शकहरूको मनमा धरणीधर काफ्ले भएर बाँचिरहे । नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’को न्यानोपन बाँड्ने क्रममा उनी नेपालभित्र मात्र होइन, भारतका विभिन्न सहरमा पनि फैलिए ।

धरणीधर काफ्लेको गहिरो प्रेम पर्दामा प्रतिबिम्बित भएको एक वर्षपछि विपिन प्रेमको नयाँ अवतारमा झुल्किएका छन् । काफ्लेको प्रेम जीवनभन्दा टाढाका वर्षहरूमा ऊ एक्लो थियो । तर गत जेठ ८ गतेबाट रिलिज भएको फिल्म ‘काजी’मा विपिन विवाहित पुरुषको भूमिकामा छन्, जो आफ्नी जीवनसँगिनीलाई अगाध प्रेम गर्छ ।

‘जस्तो प्रेम म आफ्नै जीवनसाथीलाई गर्छु, त्यस्तै प्रेम काजीले श्रीमतीलाई गर्छ,’ विपिन आफ्नै अनुभूतिसँग काजीको प्रेम तौलन्छन् । एउटा ‘सेलिब्रिटी’ रिस उठ्दाउठ्दै पनि सजिलै रिसाउन कहाँ पाउँछ र ? लाखौँ आँखाहरूको निगरानीबाट सक्कली अनुभूति लुकाइरहनुपर्ने बाध्यतामा उनी स्वयम्‌लाई जतनले बुझ्ने जीवनसँगिनी नै हुन् । ‘ऊसँग कहिलेकाहीँ तुरुन्तै रिसाउँछु, अनि तुरुन्तै फकाउँछु । काजीले पनि फिल्ममा मेरै सिको गर्छ,’ विपिन सुनाउँछन् ।

जोडीको चरित्र त उनले ‘ऊनको स्वीटर’को तन्नेरी काफ्लेदेखि देखि ‘फूलबारी’मा वृद्धावस्ता काटिरहेका जयनारायण शर्माकोसम्म बाँचेका छन् । तर काजी उनका लागि अलग्गै प्रेमी लाग्छ । बाल्यकालमा गाउँका अधवैंशे जोडीहरू सधैं हात समातेर हिँडेको दृश्यमा विपीनको आँखा जान्थ्यो । श्रीमतीलाई माया गर्ने पात्रहरू ‘जोइटिंग्रे’ कहलिन्थे । ‘जसले जे भनुन् तर उनीहरूको प्रेम कति मीठो र सुन्दर थियो, मलाई तानिरहन्थ्यो,’ विपिन सुनाउँछन् ।

काजीमा उनले देखेका तिनै प्रेमीहरूको प्राण भरेका छन् विपीनले । विपीनले जति पनि फिल्म गरे, प्राय:मा ‘ग्रे’ चरित्र भेट्छन् । तर काजी उनका लागि ‘ह्वाइट’ चरित्र हो । ‘ऊ एउटा आदर्श पुरुष हो, जसको खासै केही गल्ती हुँदैन । उसले दर्शकको सहानुभूति पाउँछ,’ विपिन भन्छन् ।

‘काजी’ फिल्म हेरिरहँदा लाग्छ– यो धार्मिक आँखाबाट हेरिएको कथा हो । पितृसत्तालाई प्रशय दिने फिल्मले पुरुष पात्रलाई बढी चोख्याउन प्रयत्न गर्छ । यद्यपि, फिल्ममा काजी र कजिनीको प्रेम भने रोचक र न्यायो छ । ‘एउटा सम्बन्ध र प्रेम बचाउन मान्छे कुन हदसम्म जान सक्छ र कस्तो त्याग गर्न सक्छ भन्ने कुरा नै काजी पात्रको मुख्य दर्शन हो,’ विपिनको बुझाइ छ ।  

सुरुमा त विपिनलाई यो कथा कहाँ सुनाइएको थियो र । विपीनको सम्झनामा पहिले सुनाइएको कथाको पात्र सहरको ‘डन केटो’ थियो । जो मोजमस्तीमै समय खर्चिन्छ । साइन गरेको लामो समयसम्म पनि फिल्मको टुँगो थिएन । ‘दुई वर्षपछि जब निर्देशक मकहाँ आए, कथा पूरै बदलिएको रहेछ,’ विपिन सुनाउँछन् । बदलिएको कथा सुनेपछि विपिनले निर्देशक लक्ष्मण रिजाललाई भने, ‘म यो फिल्म खेल्दिनँ, तिमीहरूको पैसा फिर्ता दिन्छु ।' तर विस्तारै त्यो कथाले विपीनलाई बाँध्दै लग्यो । त्यसपछि उनी राजी भए ।

विपिन छायांकन सेटमा पटकथामा लेखिएको संवाद जस्ताको तस्तै बोल्न चाहन्नन् । बरु संवादहरूलाई आफ्नै शैलीमा ढाल्छन् । ‘लेखक र निर्देशकले समग्र कथा बुझेका हुन्छन्, तर पात्रको गहिराइ र डिटेलिङ त एक्टरले नै गर्ने हो,’ उनी भन्छन्, ‘काजी गर्दा पनि हामीले अन्तिम समयसम्म धेरै कुराहरू इम्प्रोभाइज गर्यौँ ।’

फिल्ममा विपिनसँग उनकी डेढ वर्षकी छोरीको स्क्रिन सेयर छ । काजीले देख्ने ड्रिम सिक्वेन्समा एकजना बच्चा चाहिने थियो । विपिनलाई चाहिने उमेरको बच्चा त उनकै छोरी थिइन् । तर सुटिङको क्रममा लगाएको नक्कली जुँगाका कारण विपिनलाई छोरीले नै चिनिनन् । ‘पछि बल्ल बल्ल फकाएपछि मात्र काँखमा आइन्,’ विपिन सुनाउँछन् ।

विपिन जति जति फिल्म गर्छन्, चरित्रहरू नयाँ नयाँ जन्मिँदै जान्छन् । उनी स्वयम्लाई चरित्रहरूको माया कति लाग्छ त ? उनले घर भित्ताहरू आफ्नै पात्रहरूको स्केचले सजिएका प्रसँग सुनाए । हरेक फिल्म रिलिजपछि कोही न कोही दर्शकले विपिनलाई उनकै चरित्रको स्केच कोरेर उपहार दिन्छन् । अहिले ती स्केचहरूको लहरमा थपिएका छन्– राजा र काजी ।

राजा चरित्र निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’मा लेखेको सबैभन्दा सुन्दर चरित्र हो । ‘पहाड’ले समीक्षामा मात्र हैन, व्यापारमा पनि प्रकोप भोग्नुपर्यो । यद्यपि फिल्म हेरेर फर्किने दर्शकहरूको स्मृतिमा कैद भइरहने ‘राजा’को चर्चा भने एकापसमा भइरह्यो । विपिनले राजालाई ‘पहाड’मा धारण गर्दाको कथा सुनाए । उनलाई तुलसी घिमिरेसँग फिल्ममा काम गर्ने ठूलो रहर थियो । ‘यदि उहाँ नभएको भए नेपाली फिल्म कसरी यहाँसम्म आइपुग्थ्यो होला र,’ विपिनलाई लागिरहन्छ ।

Vipin decorates the walls with sketches of his characters

सानो छँदा आमाको काखमा बसेर ट्र्याक्टर चढेर गाउँबाट विराटनगरसम्म पुगेर घिमिरेको 'लाहुरे' फिल्म हेर्न गएको सम्झना उनको स्मृतिमा कुदिरहन्थ्यो । ‘जसको फिल्म हेरेर हुर्किएँ उहाँसँग काम गर्ने रहर कसलाई हुन्न थियो र,’ विपिन भन्छन् । एकदिन तुलसीले विपिनलाई ठट्यौली लवजमा भने, ‘तिमी ५० किलो बोक्न सक्ने मान्छे हौं, तर तिमीलाई २५ किलो मात्र बोकाइरहेका छन् । म तिमीलाई ५० किलो नै बोकाउँछु है ।’ विपिनले पनि जिस्कँदै भनेको थिएँ, ‘दाइ, म त एक क्विन्टल बोक्न तयार छु, तर बोकाउने मान्छे चाहियो ।’

यसरी कामको संकेत गरेको धेरै समयपछि ०८१ को एकदिन तुलसी विपिनकहाँ प्रस्ताव लिएर आए । त्यतिबेला उनकी आमा बितेकी थिइन् । ‘म किरियाबाट भर्खरै निस्किएको थिएँ । मानसिक रूपमा कतै पनि सुटिङमा जान सक्ने अवस्थामा थिइनँ । तर तुलसी दाइ आफैँ मेरो अपार्टमेन्टमा एग्रिमेन्ट पेपर र कथा लिएर आउनुभयो,’ विपिन सदृश्य सुनाउँछन् ।

तुलसीले कथा सुनाउँदै गर्दा ठाने, ‘मेरो क्यारेक्टर पक्कै राजाको हो ।’ त्यो पात्रको पीडा र विपिनको जीवनको त्यो बेलाको रिक्तता एकापसमा मिलेको अनुभूत गरे । उनले त्यही बेला मनमनै भने, ‘मैले तुलसी दाइलाई गुरुदक्षिणा दिएँ ।’

‘राजा’को चरित्र विपिनको लागि विशेष हुनुको कारण छ । उनले सुटिङभरि आमालाई सम्झिरहे । मुम्बईमा हुर्केको राजा आमा गुमाएको पात्र हो । उसकी आमाको सपना थियो– नेपाल गएर पहाड हेर्ने । विपिनकी आमाको पनि इच्छा थियो, ‘वासिङ मेसिन किन्ने, सुनका गहना लगाउने र एक पटक विदेश घुम्न जाने ।’

सधैं विपिनलाई भनिरहन्थिन्, ‘अरूका छोराछोरी विदेशमा छन्, मलाई पनि हेर्न मन छ ।’ विपिन भन्थे, ‘म लैजान्छु नि थाइल्यान्ड, म समय मिलाउँछु, पर्खिनुस् न ।’

तर जब विपिनको समय आयो, आमा विपिनसँग थिइनन् । ‘मैले तपाईंको सपना पूरा गर्न सकिनँ आमा,’ उनी निकैबेर अवरुद्ध भएको गलाबाट कारुणिक स्वर निकाल्छन् ।

फिल्म ‘पहाड’मा राजाको आमाको पनि सपना अधुरो हुन्छ । जब राजा पहाड पुग्छ त्यसपछि आमा सम्झेर भावुक हुन्छ । ‘मलाई पहाडको त्यो उचाइमा उभिएर आफ्नै आमासँग संवाद गर्नु थियो । मनमा आफ्नै आमाको अनुहार थियो । मैले त्यहाँ जे-जे भट्ट्याएँ, ती मेरा आफ्नै मनमा गढेका कुरा थिए,’ उनी सम्झन्छन् । त्यो हिमाल नखुलेर त्यो दृश्य गर्न नै तीन दिन लागेको थियो विपिनलाई । त्यतिबेला उनलाई लाग्यो, ‘सायद आमा मसँग अझै रिसाउनुभएको छ ।’

विपिनकै भाषामा भन्दा उनी यस्तो कलाकार हुन्, जो चरित्रमा ५०  प्रतिशत ‘विपिनत्व’ मिसाउँछन् । ‘म जे रुन्छु, त्यो आफ्नै आँसु हो । म जे हाँस्छु, त्यो मेरो आफ्नै खुसी हो,’ उनी भन्छन् ।

उनलाई जीवनसँगिनी भन्ने गर्छिन्, ‘अरूको फेसबुकमा रंगीन कुरा आउँछ, तिम्रोमा त सधैँ काला अक्षर र कविता मात्र आउँछन् ।’ कारण विपिन फेसकमुकमा पनि कविता र सायरीका पेजहरू फलो गर्छन् र ती आफ्नै लयमा पढिबस्छन् । ‘मलाई हिन्दी र उर्दू साहित्य असाध्यै मन पर्छ । कहिलेकाहीँ म फेसबुक स्क्रोल गर्दा कुनै राम्रो कविता भेटेँ भने रोकेर वाचन गर्न थाल्छु,’ विपिन सुनाउँछन् ।

विपिन कविता पनि कोर्छन् । बेलाबेलामा त घरका भित्ताहरू पनि खाली रहन्नन् । ‘त्यसकारण मेरो छोरीले भित्तामा पेन्टिङ गर्दा म उसलाई पनि रोक्दिनँ ।’

विपिनका पशुपतिप्रसादको ‘भष्मे डन’ होस् वा जात्राको ‘फणीन्द्र’ । हर फिल्मका फरक क्यारेक्टरसँगै उनीभित्रको कलाकार सधैं परिपक्व हुँदै गएको भान हुन्छ । ‘कहिलेकाहीँ लाग्छ– यी क्यारेक्टरहरू मेरा छोराछोरी जस्तै हुन् । भस्म डन होस् वा फणीन्द्र, तिनीहरू भौतिक रूपमा नभए पनि मेरो मनमा जीवित छन् । म तिनकै मायाको लागि बाँचिरहेको छु,’ उनी प्रेमपूर्वक भन्छन्, ‘एउटा पेन्टरलाई आफ्नो पेन्टिङको जति माया लाग्छ, एउटा आमालाई छोराको जति माया लाग्छ, मलाई पनि मेरा पात्रहरूको त्यति नै माया लाग्छ ।’ 

त्यसकारण हर दिन हर क्षण उनी ती चरित्रहरू बोकेर हिँडिरहेका हुन्छन् । थुप्रै चरित्रलाई साथ लिएर हिँडे पनि उनी विपिनको जिम्मेवारीबाट चाहिँ कहिल्यै पन्छिन्नन् । ‘म घरको जिम्मेवारी उत्तिकै निभाउँछु । छोरीलाई स्कुल पुर्‍याउनु, तरकारी लिनु, मासु किन्नु, पाहुना लिन जानु यी सबै मेरा दैनिक काम हुन्,’ विपिन भन्छन् ।

उनलाई सधैं लागिरहन्छ, ‘कि मेरो छोरीले कहिल्यै नभनोस्, बाबाले मलाई समय दिँदैन भनेर ।’

परिवारको विश्वासजस्तै उनी दर्शकहरूको भरोसा पनि कहिल्यै चिसियोस् भन्ने चाहन्नन् । आफूलाई माया गर्ने विशला भिडतर्फ सम्झँदै उनी प्रतिबद्धता व्यक्त गर्छन्, ‘मलाई उहाँहरूले जुन'ब्लाइन्ड' विश्वास गर्नुभएको छ, त्यो कहिल्यै टुट्न दिनेछैन ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully