बहिस्कारमा परे अभिनेता रनवीर सिंह

छायांकनमा जानु तीन साताअघि ‘डन ३’ छोडेपछि यसका मुख्य अभिनेता रनवीर सिंहलाई भारतीय चलचित्र उद्योगका ४ लाख सदस्य रहेको एक संस्थाले बहिस्कार गर्ने भएको छ ।

जेष्ठ १२, २०८३

एजेन्सी

Actor Ranveer Singh boycotted

नयाँदिल्ली — निर्माणको क्रममा रहेको फिल्म ‘डन ३’ छोडेपछि यसका मुख्य अभिनेता रनवीर सिंहलाई भारतीय चलचित्र उद्योगका ४ लाख सदस्य रहेको एक संस्थाले बहिस्कार गर्ने भएको छ । फरहान अख्तरको लेखन तथा निर्देशनमा सन् २०२३ मा निर्माण घोषणा गरिएको ‘डन’ फ्रेन्चाइजको तेस्रो फिल्मका लागि रनवीर मुख्य अभिनेताकारूपमा अनुबन्ध भएका थिए । तर छायांकनमा जाने अन्तिम तयारीमा रहेको फिल्मबाट ‘रचनात्मक मतभिन्नता’ रहेको भन्दै उनले हात झिकेपछि विवाद उर्त्कषमा पुगेको हो । 

‘डन ३’ का निर्माताद्वय फरहान र रितेश सिद्धवानीले संयुक्तरूपमा अभिनेताविरुद्ध इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एसोसिएशनमा उजुरी हालेका थिए । अभिनेताले हठातमा फिल्म छोडेपछि आर्थिक र मानसिक क्षति व्योहोर्नुपरेको भन्दै निर्माताद्वयले हालेको उक्त उजुरीलाई निर्देशकहरुको संस्थाले फेडेरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज (एफडब्ल्यूआईसीई) पुर्‍याएको थियो । 

एफडब्ल्यूआईसीईले समस्या समाधानका लागि अभिनेता सिंहलाई बारम्बार वार्ताका लागि आह्वान गरेपनि कुनै जवाफ नआएपछि बहिस्कारको निर्णय गर्न बाध्य भएको जनाएको छ । देशभरका फिल्म तथा टेलिभिजनमा काम गर्ने चार लाख भन्दा बढि फिल्मकर्मी, प्राविधिक, कर्मचारी र कलाकार सदस्य रहेको फेडेरेशनले सोमबार नीज अभिनेतासँग आफ्ना सदस्यहरुले काम नगर्ने निर्णय गरेको हो ।

फेडेरेशनको पछिल्लो निर्णयपछि अभिनेता सिंहका प्रवक्ताले वक्तव्य जारी गर्दै भनेका छन्, ‘फिल्म डन ३ लाई लिएर घटित घटनाक्रमका बारेमा रनवीर सिंहले मौनता साँध्नु नै उचीत ठानेका हुन्, किनभने व्यवसायिकता तथा व्यक्तिगत सम्बन्धको गरीमा, परिपक्वता र आपसी सम्मानलाई ध्यानमा राख्दै सुझबुझपूर्ण निर्णय गर्नु उचित हुनेछ ।’ अभिनेता सिंहले घटनाक्रमलाई लिएर उत्पन्न विवादमा विभिन्न खालका अड्कलबाजी र भनाईहरू आईरहेपनि आफू कामप्रति प्रतिबद्ध रहेको बताएका छन् । 

फरहानको प्रोडक्सन कम्पनी एक्सेल इन्टरटेनमेन्टले भने ‘डन ३’ को हालसम्म प्री–प्रोडक्सनमा करीब ४५ करोड भारु खर्च भईसकेको भन्दै अभिनेताले प्रोजेक्ट छोड्दा त्यसको क्षतिपूर्ति व्योहोर्नु पर्ने जिकिर गरेको छ । केही सन्चारमाध्यमले भने अभिनेता सिंहले फिल्मको स्क्रिप्टबाट सन्तुष्ट नभएपछि छोडेको हुनसक्ने दाबी गरेका छन् । त्यसो त केही पहिले रनवीर स्वयंले फरहानले फिल्ममा ऋतिक रोशनलाई भित्राउन खोजेको आरोप लगाएका थिए । तर पछि ‘धुरन्धर’ को सफलतासँगै उनले ‘डन ३’ छोडेका थिए ।

फेडेरेशनका अध्यक्ष बीएन तिरावरीले पनि उक्त फैसलाले भारतीय फिल्म उद्योगमा कोही पनि सुपरस्टार कानुन भन्दा माथि नरहेको सन्देश दिन खोजिएको बताए । भने, ‘जबसम्म उनले व्यक्तिगतरूपमा हामीकहाँ आएर छलफलमा सरीक हुँदैनन्, तबसम्म उनलाई हाम्रो फेडेरेशनले असहयोग जारी राख्छ ।’ ‘फिल्म छायांकनका लागि फ्लोरमा जानु ठीक तीन साताअघि मात्रै रनवीरले फिल्म छोडेका रहेछन्,’ फेडेरेशनका मुख्य सल्लाहकार अशोक पन्डितले भनेका छन्, ‘हामीले फिल्म निर्माताहरुको कुरा पनि सुन्यौं, निर्माताहरुले २ सय भन्दा बढि कलाकार, प्राविधिकलाई होटल बन्दोबस्ती, विदेश यात्रा र लोकेसन छनौटका लागि ४५ करोड भन्दा बढि खर्च गरिसकेका रहेछन् ।’

एजेन्सी

Link copied successfully