दलित समुदायको जीवन र समस्यामाथि केन्द्रित 'अछेता' नाटकले कर्णालीको दुर्गम गाउँका पीडा, सामाजिक विभेद र स्वास्थ्य सेवाको अभाव उजागर गरेको छ।
What you should know
काठमाडौँ — कर्णालीकै कथा, कर्णालीकै कलाकार । त्यहीँको भाषा, लवज त्यहीँकै । अन्धविश्वास र अस्पताल । अनि जात व्यवस्था । रंगकर्मी गोविन्द सुनार निर्देशित नाटक 'अछेता', कर्णालीको यस्तै सशक्त मुद्दा बोकेर 'काठमाडौं' आइपुगेको छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत यो नाटकले कर्णालीको दुर्गम गाउँमा बस्ने एक दम्पतीको कथामार्फत त्यहाँको मुद्दा र पीडा पस्कन्छ । यो नाटकले कर्णालीका मानिसले भोग्दै आएको समस्यालाई केन्द्रसम्म ल्याइपुर्याएर, बहस सिर्जना गर्छ । दुर्गम गाउँमा बस्ने दल कामी र गीताका लागि आखिर काठमाडौं अझै किन टाढा छ ?
दल कामी(झकेन बिसी) धामी हुन् । गाउँका मानिस उनलाई पुज्छन् । पेसाले मूर्तिकार । उनी कुदेर देवता बनाउँछन् । त्यसैले भगवानमा बिछट्टै विश्वास गर्छन् । उनकी पत्नी गीता(सुस्मिता कुँवर) गर्भवती छिन् । गीतालाई एउटै कुराको पीडा छ, गर्भमा हुर्कँदै गरेको बच्चालाई केही हुने त होइन ? उनी सधैँ यही रोइलोमा किन हुन्छिन् त ? एक घण्टा लामो यो नाटकले यसको रहस्य खोलिदिन्छ । नवजात शिशुको जन्मसँगै यो दम्पतीले कस्तो समस्याको सामना गर्नुपर्छ त ? दल कामी र गीताको कथाले नाटकमा दर्शक बाँधेर राख्छ ।
'अछेता'ले अझै पनि जात व्यवस्था मान्ने 'पाखण्डी समाज'माथि प्रश्न उठाएको छ । दल कामी दलित समुदायका हुन्छन् । गाउँभरिका मानिसका लागि उनी देवता बताउँछन् । देउता बनाउने दल भगवानमाथि ठूलो आस्था राख्छन् । नहोस् पनि कसरी ? उनले बनाएको देउता गाउँका सामान्य नागरिकदेखि ठूला दलका नेतासम्मले आफ्नो घरमा सजाएर राख्छन् । तिनै देउताले उनीहरूका मनोकामना सुन्छन् । तर त्यही देवताको बिम्ब यो नाटकको सुन्दर पक्ष हो । दल कामीले बनाएको देउता गाउँकै नेताको घर-आँगनमा सजिन्छ । तर, कथित उपल्लो जातका समुदायकहाँ पुगेपछि देउताकै वर्ग पनि उँचो भइदिन्छ । आफैंले बनाएको देउताकहाँ दलले अक्षेता छर्नसमेत पाउँदैनन्, छुन र ढोग्न त परको कुरा !
नाटकमा एउटा शक्तिशाली दृश्य छ जहाँ दल अक्षेता छर्न आफूले बनाएको देउतासामु पुग्छन् । तर, मन्दिरको आँगनबाटै उनलाई गलहत्याइन्छ । हातमा भएका अक्षता छरपष्ट हुन्छ । त्यतिकैमा पूजा गरिरहेका गाउँकै वडा अध्यक्ष उनीसामु आएर भन्छ,'यहाँ भएका यो घट्ना अरुलाई नसुनाउ है ।' दलको अक्षता देउतालाई चढाइदिने भन्दै वडा अध्यक्षले उनलाई आँगनबाटै फिर्ता पठाउँछन् ।
आँगनबाट दल अलप भएसँगै हत्त न पत्त अक्षता हुर्याउँदै आफूलाई शुद्ध बनाउन पुजारीलाई भन्छन् । यो दृश्य नेपाली समाजमा गढेर बसेको जात व्यवस्था अनि वडाध्यक्षजस्तै ढोंगी समाजमाथिको प्रहार हो । जात व्यवस्थाको यो दलदललाई दलमार्फत देखाइएको छ । जसै दल मन्दिर पुग्छन्, अधिकांश समय त्यहीँको ढोकामा टुक्रुक्क बस्छन् । मन्दिरभित्र उनलाई प्रवेश गराइँदैन । आफूले बनाएको देउतालाई उनले सिधै वडा अध्यक्षको हातमा थमाइदिँदैनन् । मूर्तिलाई पहिला भुईंमा राखिन्छ, अनि मात्रै वडाध्यक्षले समाउँछन् । मन्दिरकै प्रसाद पनि उनलाई बाहिर राखेर बाँडिन्छ । जबजब दलमाथि देउता चढ्छ, उनलाई सबै जातका मानिसले पुज्न थाल्छन्, त्यतिबेला सबैले उनको थर बिर्सिन्छन् । जसै उनी सामान्य जीवनमा फर्कन्छन्, तब उनमाथि छुवाछूत गरिन्छ ।
अन्धविश्वास र अस्पतालसम्मको पहुँच नाटकले उठाएको बलियो मुद्दा हो । खासमा यो नाटकले हरेक कुराका लागि भगवान्मा विश्वास गर्ने मानिसहरूको अन्धविश्वासमाथि पनि प्रश्न गरेको छ । जस्तै, नाटकमा हरेक समय नवजात शिशु बिरामी हुँदा दल कामी भगवानकहाँ शिर निहुराउन पुग्छन् । पत्नी गीता अस्पताल जान भनिरहन्छिन्, तर उनी भने मन्दिरमै टाउको टेकाउन पुग्छन् । यसले उनीभित्रको अन्धविश्वास त झल्काउँछ नै, अर्कोतिर कर्णालीजस्तो प्रदेशमा विद्यमान स्वास्थ्य समस्या देखाउँछ ।
खासमा सदरमुकाममा अस्पतालको नाममा ठूलो भवन त छ, तर त्यहाँ डाक्टर बस्दैनन् । डाक्टर सहर बस्छन् । उपचारकै लागि सहरसम्म धाउनुपर्ने यो व्यवस्थाले सहर केन्द्रित अस्पतालसम्मको पहुँचमाथि पनि प्रश्न उठाउँछ । दल कामी र गीताको आर्थिक हैसियत सहर पुगिहाल्ने किसिमको छैन । तर, कथित उपल्लो जातका मानिस भने लखनऊ गएर उपचार गर्न सक्ने आर्थिक हैसियत बोक्छन् । तर, गरिब गीता आफ्नो शिशुको उपचार गर्न काठमाडौं जानसमेत हिम्मत गर्न सक्दिनन् ।
गीता सधैँ आफ्नो बच्चालाई अस्पतालसम्म पुर्याउन पतिसामु अनुरोध गरिरहन्छिन् । नाटकभर पत्नी गीताले पतिसँग उसको अन्धविश्वासमाथि प्रश्न उठाइरहन्छिन्- तिमीले बनाएको न देवता काम लागे, न तिमीले कमाएको मान्छे कमाएका काम लागे !
खस भाषाले यो नाटकमा मिठास भरेको छ । यही खस भाषाले पनि दर्शकलाई कर्णाली पुर्याउँछ । शिल्पीको मञ्चमा बनेको सेट डिजाइन कर्णालीको कुनै घरभन्दा कम देखिन्न । छतसहितको घर, अनि घरहरूमा अडाइएको दद्या (काठको मूर्ति)। महिलाहरूले लगाउने पहिरण र लवजले दर्शक सहजै कर्णाली पुग्छन् । यो नाटकमा प्रयोग भाषा र विषयवस्तुले रंगमञ्चको विविधतामा नयाँ आयम थपिदिएको छ ।
साउन्डमा भने अझै राम्रो बनाउन सकिने छिद्र भेटिन्छन् । केही दृश्यमा गम्भीर बनाउन प्रयोग गरिएको साउन्डले पात्र र परिस्थितिसँग जोड्दैन । तर, असारमा गाइने असारे भाका होस्, या मृत्य संस्कारमा गाइने गीत, मञ्चभरको कलाकारले एकै स्वरमा गाउने गीतले दर्शक सिधै कर्णालीसँग जोडिन्छन् ।
नाटक: अछेता
स्थान: शिल्पी थिएटर, बत्तीसपुतली, काठमाडौं
समय: बेलुका ५:१५ बजे
अतिरिक्त शो प्रत्येक शनिबार : दिउँसो १ बजे
जेठ १ गतेदेखि २५ गतेसम्म
