‘नुमाफुङ’को रजत जयन्तीमा निर्माण पक्षले चलचित्रले नेपाली सिनेमामा पुर्याएको ऐतिहासिक योगदान र यसको मौलिक कथावाचनको स्मरण गरेको छ।
What you should know
काठमाडौँ — नेपाली फिल्म क्षेत्रमा मौलिक र यथार्थपरक कथावाचनको नयाँ धार सुरु गरेको ऐतिहासिक चलचित्र 'नुमाफुङ' ले प्रदर्शनको २५ वर्ष पूरा गरेको छ ।
रजत जयन्तीको अवसरमा निर्माण पक्ष ‘मेन्छायेम पिक्चर्स’ले एक विज्ञप्ति जारी गर्दै चलचित्रको ऐतिहासिक यात्रा र यसले नेपाली सिनेमामा पुर्याएको योगदानको स्मरण गरेको छ ।
२५ वर्षअघि प्रदर्शनमा आएको 'नुमाफुङ'ले तत्कालीन समयमा व्यापारिक फर्मुलामा रुमल्लिरहेको नेपाली सिनेमा जगतलाई नयाँ मोड दिएको थियो । फिल्मले विशेषगरी रैथाने र मौलिक नेपाली कथालाई पर्दामा उतारेर दर्शक तथा समीक्षकको मन जित्न सफल भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘आज यस ऐतिहासिक चलचित्रको रजत जयन्ती मनाउँदै गर्दा, हामी एउटा चलचित्रको मात्र होइन, बरु नेपाली सिनेमालाई सधैँका लागि बदलिदिने एउटा आन्दोलन र कलाकृतिको उत्सव मनाइरहेका छौँ ।’
'नुमाफुङ'ले नेपाली सिनेमामा सीमान्तकृत र आदिवासी जनजाति समुदायको जीवन, संस्कृति र आवाजलाई पहिलोपटक बलियो रूपमा मूलधारको पर्दामा ल्याएको मानिन्छ । यस चलचित्रले नेपाली कथावाचनलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू सम्म पुर्याएर नेपाली सिनेमाको पहिचान विश्वमञ्चमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । फिल्ले दर्शकहरूलाई आफ्नो पहिचान, संस्कृति र सत्यप्रति गर्व गर्न सिकाएको निर्माण पक्षको ठहर छ । ‘नुमाफुङ विगतको अवशेष मात्र होइन, यो अझै पनि यसको शक्ति महसुस गर्ने हरेक मनहरूमा जीवित छ र पुस्तौं-पुस्तासम्म कायम रहनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
काजिमान कन्दङ्वाको कथा 'कारोबार कि घरबार'मा आधारित यो फिल्मलाई निर्देशक नवीन सुब्बाले निर्देशन तथा पटकथा लेखन गरेका हुन् । चलचित्रमा प्रेम सुब्बा, अनुपमा सुब्बा, निवाहाङ्मा लिम्बू, स्वर्गीय आलोक नेम्वाङ र रमेश सिङ्घकलगायतको मुख्य अभिनय छ ।
रजत जयन्तीको अवसरमा निर्माण पक्षले दूरदर्शी चलचित्रकर्मी, कलाकार, प्राविधिक टोली र विगत २५ वर्षदेखि यसको विरासतलाई जीवित राख्ने आम दर्शकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
