‘बांगारांगा’ ले दिलायो बुल्गेरियालाई युरोभिजन

पार्टी एन्थमकै रूपमा यतिबेला भाइरल बनिरहेको यस गीतले दक्षिण–पूर्वी युरोपेली देश बुल्गेरियालाई पहिलो पटक जित दिलाएको हो ।

जेष्ठ ३, २०८३

कान्तिपुर संवाददाता

'Bangaranga' brings Bulgaria Eurovision

What you should know

भियना — बुल्गेरियाली गायिका दाराले गाएको पार्टी सङ ‘बांगारांगा’ ले शनिबार राति आयोजित ७० औं युरोभिजन गीत प्रतियोगिताको उपाधि जितेको छ । पार्टी एन्थमकै रूपमा यतिबेला भाइरल बनिरहेको यस गीतले दक्षिण–पूर्वी युरोपेली देश बुल्गेरियालाई पहिलो पटक विजय दिलाएको हो ।

‘विश्वास नै गर्न गाह्रो भइरहेको छ,’ प्रतियोगिता समापनपछि राति अबेर भएको पत्रकार सम्मेलनमा खुसी हुँदै गायिका दाराले भनिन्, ‘यतिबेला मलाई के भइरहेको छ भन्ने पनि थाहा छैन । तर पनि जसले बांगारांगालाई महसुस गरे र यसको शक्तिमा समाहित भए, सबैलाई धन्यवाद ।’

'Bangaranga' brings Bulgaria Eurovision

२७ वर्षीया दारा बुल्गेरियाकी स्थापित गायिकामा पर्छिन् । तर पनि उनैले युरोभिजन जित्नेछिन् भन्ने कमैले अनुमान लगाएका थिए । गायिकाले एन्जाइटीसँगको आफ्नो संघर्षका बारेमा बोल्दै ‘बांगारांगा’ लाई त्यस्तो आन्तरिक शक्तिका रूपमा वर्णन गरेकी छन्, जसले सर्वगुण सम्पन्न बन्ने लालचमा लाग्ने ढोंग उतार्ने गीत भएको बताइन् ।

जितको खुसीपछि भनिन्, ‘आज राति कोही सुत्नेवाला छैन, यी चम्किला बत्तीका प्रकाशमा समाहित हुन यो विद्रोहमा सबैलाई स्वागत छ ।’ उनले यो गीत बुल्गेरियाको कुकरी परम्पराबाट प्रेरित भएको बताएकी छन् । जसमा दुष्ट आत्मालाई भगाउनका लागि विभिन्न भेषभूषामा उपस्थित भएर युवकहरु परम्परागत नृत्य गर्छन् ।

इजरायली प्रतिस्पर्धी नोआम बेट्टान प्रतियोगितामा दोस्रो भए । रोमानियाकी एलेक्जान्द्रा कापिटानेस्कुको रक गीत ‘चोक मी’ प्रतियोगितामा तेस्रो भयो । त्यसैगरी, अस्ट्रेलियाली स्टार डेल्टा गुडरमको स्लिक मिडटेम्पो ब्यालेड ‘इक्लिप्स’ चौथो इटालियन क्रुनर सल दा भिन्ची पाँचौं भए । फिनिसद्वय पप स्टार पिटे पार्ककोनेन र शास्त्रीय भायोलिनिस्ट लिन्डा लाम्पेनियस छैटौं स्थानमा आए ।

'Bangaranga' brings Bulgaria Eurovision

भियनामा आयोजित यस प्रतियोगिता इजरायलको सहभागितालाई लिएर चर्को विरोध तथा बहिष्कार अभियानसमेत चलाइएको थियो । गाजालगायत क्षेत्रमा द्वन्द्व चर्काएको आरोप लगाउँदै इजरायललाई यस प्रतियोगितामा सामेल गराउनु हुँदैन भन्नेमा स्पेन, नेदरल्यान्ड्स, आयरल्यान्ड, आइसल्यान्ड, स्लोभेनियालगायतका देशहरू अग्रपंक्तिमा थिए ।

युरोभिजनमा इजरायलको सहभागितालाई लिएर विरोध भइरहेको यो लगातार तेस्रो वर्ष हो । त्यसो त राजनीतिको चपेटामा पर्दै आएको युरोभिजनका लागि विवाद र विरोध नयाँ र नौलो भने होइन ।

यसपटक युरोपका २५ देशका कलाकार सम्मिलित भएको यस प्रतियोगितालाई संगीतको महाकुम्भ नै मानिन्छ । ‘युरोभिजन कहिल्यै पनि ठूला स्टारहरूको प्रतियोगिता भएको छैन,’ युरोभिजनका इतिहासकार डिन भुलेतिचले प्रतियोगिताका बारेमा भने, ‘मानिसहरू स्टेजमा अन्डरडग आर्टिस्टलाई नै हेर्न रुचाउँछन् । दर्शकहरू कलाकार बन्न खोजिरहेका, साना र गरिब देशबाट आएका कलाकारलाई हेर्न चाहन्छन् ।’

सुरुवाती ३५ देशबाट घटाएर २५ देशका कलाकारहरूले प्रस्तुति दिएको युरोभिजनको विजेता दर्शक र जुरी दुवैको मतका आधारमा छानिन्छ । तीन मिनेटभित्र प्रस्तुति दिएका आधारमा सबैभन्दा बढी अंक पाउने कलाकार विजेता त हुन्छ नै, उसको देशले अर्को वर्ष युरोभिजन प्रतियोगिताको आयोजना गर्न पनि पाउँछ ।

कान्तिपुर

Link copied successfully