एआई भर्सेस हलिउड : डेमी मुरको अभिव्यक्तिले फेरि चर्कियो बहस

डेमी मुर भन्छिन्– ‘विरोधले विरोध नै निम्त्याउँछ, आजको समय एआईको हो, तर हामी यसैसँग लड्न खोजिरहेका छौं । यदि त्यसो हो भने हामी हार्ने निश्चित भएको युद्ध लड्नु हो । त्यसैले यसको मद्दत लिएर काम गर्ने तरिकाहरू खोज्नु बढी बुद्धिमत्ता हुन्छ ।’

जेष्ठ १, २०८३

कान्तिपुर संवाददाता

AI vs. Hollywood: Demi Moore's statement reignites debate

What you should know

काठमाडाै‌ — कृत्रिम बुद्धिमत्ता (एआई) भविष्य हुनेछ, वा फिल्म क्षेत्रको अन्त्य ? यतिबेला विश्व फिल्म क्षेत्रमा यसबारे बहस चर्को छ । हरेक क्षेत्रमा जस्तै फिल्म क्षेत्रमा पनि एआईको प्रयोग बढ्दो छ । तर, कतिपय फिल्मकर्मी भने कलाको माध्यम भएकोले फिल्मको कलात्मक र सिर्जनात्मक अभिव्यक्तिमा प्रविधिको प्रयोग हुन नहुने जिकिर गर्छन् ।

दुई वर्षअघि मात्र हलिउडका अभिनेता तथा लेखकहरूले एआईबाट सुरक्षाको माग गर्दै आम हडताल गरेर काम नै ठप्प पारिदिएका थिए । तर, पनि एआई प्रविधि फिल्ममा छिर्नु अगावै टीभी र भिडियो गेमहरूमा फैलिसकेको थियो । पछिल्लो पटक ओस्कर विजयी फिल्ममा समेत एआई प्रविधिको प्रयोग भएको पाइएपछि यसलाई लिएर फिल्मकर्मीमाझ विरोध चर्केको हो ।

२०२५ को ओस्करमा १३ विधामा मनोनित हुँदै दुई अवार्ड जितेको फिल्म ‘एमिलिया पेरेज’ र १० विधामा मनोनित भई तीन विधामा ओस्कर जितेको ‘द ब्रुटालिस्ट’ दुवैले एआईको प्रयोग गरेको खुलेपछि विरोध भएको थियो । ‘द ब्रुटालिस्ट’ बाट उत्कृष्ट अभिनेताको ओस्कर जितेका एड्रिएन ब्रोडीले उक्त फिल्ममा हंगेरी भाषा बोल्नुपर्दा उच्चारणलाई सहज बनाउन एआईको मद्दत लिइएको थियो । त्यसो त, प्रसिद्ध अभिनेता टम हांक्सदेखि ह्यारिस फोर्डसम्मले चरित्रमा फिट देखिन पनि आफ्नो लुक्सलाई एआई(डि-एजिङ)मार्फत उमेर घटाएर देखाउने गरेको पाइएको छ । 

AI vs. Hollywood: Demi Moore's statement reignites debate

प्रविधिको प्रयोग अहिले जताततै व्याप्त छ । यसलाई न नकार्न सकिन्छ, न त प्रविधिकै पोल्टामा सबै सिर्जनात्मक कामहरु सुम्पन सकिन्छ । गत वर्ष ओपन एआईले लस एन्जलसमा एआई फिल्म फेस्टिभल नै आयोजना गर्‍यो । जहाँ मार्भल मुभिजका फिल्म निर्देशक तथा निर्माता रुसो दाजुभाइ (जो र एन्थोनी) ले अब फिल्ममा एआई प्रविधि प्रयोगका लागि चार सय मिलियन डलर लगानी गर्ने योजना बनाएको बताएका थिए । तर, उनिहरु पनि एआईको प्रयोगले भोलिका दिनमा मनोरन्जन उद्योगको भविष्यलाई कस्तो प्रभाव पार्छ भन्नेमा प्रस्ट छैनन् ।

एआईले फिल्मको पटकथादेखि एनिमेसन, साउन्डमा मात्र नभई अभिनयका लागि समेत एआई निर्मित ‘सिन्थेटिक एक्टर’ बन्न थालेपछि विश्व सिनेमा जगत‌्‌मा हलचल मच्चिएको छ । गायक/गायिकाहरु समेत एआईले आफ्नो आवाज र अनुहार ‘क्लोन’ गरेर गीत/संगीत तयार पारिदिन थालेपछि ‘ट्रेडमार्क’ दर्ता गर्नेदेखि कपिराइटको मुद्दामा जोडतोडले लाग्न थालेका छन् । केही साताअघि मात्रै गायिका टेलर स्विफ्टले पनि आफ्नो स्वर र छवीलाई कसैले अनधिकृत प्रयोग गर्न नपाउने गरी सर्वाधिकार आफूमा सुरक्षित राखेकी छन् ।

तर, यतिबेला फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा अभिनेत्री तथा कान्सकी जुरी सदस्यसमेत रहेकी डेमी मुरले भने फिल्ममा एआईको प्रयोगलाई लिएर सकारात्मक देखिएकी छन् । उनले एआईको विरोध गर्ने फिल्मकर्मीमाथि नै टिप्पणी गरेपछि आलोचनाको घेरामा परेकी छन् । अभिनेत्री मुरले मनोरञ्जन उद्योगलाई एआईसँग ‘लड्न’ बन्द गर्न सुझाव दिएकी हुन् । बरू एआईसँगै काम गर्न सिक्न पनि फिल्मकर्मीलाई सुझाएकी हुन् ।

‘विरोधले विरोध नै निम्त्याउँछ, आजको समय एआईको हो, तर हामी यसैसँग लड्न खोजिरहेका छौं । यदि त्यसो हो भने हामी हार्ने निश्चित भएको युद्ध लड्नु हो । त्यसैले यसको मद्दत लिएर काम गर्ने तरिकाहरू खोज्नु बढी बुद्धिमत्ता हुन्छ,’ उनले क्यान्स फिल्म फेस्टिभलमा बोल्दै भनेकी छन्, ‘हामी फिल्मकर्मी के आफूलाई पर्याप्त रूपमा बचाउन लागिपरेका छौं ? मलाई लाग्छ, सम्भवतः छैनौं ।’

तर, उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखिएको छ । कतिपय आलोचकहरूले हलिउड अभिनेत्री मुरलाई फिल्म निर्माणको भविष्यलाई सिलिकन भ्याली र प्रविधिसम्बन्धी कर्पोरेट संस्थाहरुको हितमा लगेर चढाएको आरोप लगाएका छन् । एक आलोचकले त उनलाई कलाकारभन्दा बढी लगानीकर्ता जस्तो रुपमा प्रस्तुत भएर लागेको बताए । ‘उनी लगानीकर्ता जस्तो लाग्छिन्, कलाकार जस्तो होइनन् । प्रविधि र कलाको बारेमा पूर्ण रूपमा बेखबर छिन्’ ती आलोचकले भनेका छन् ।

तर डेमी मुरको टिप्पणीले समर्थन पनि पाएको छ । फिल्म उद्योग समय सापेक्ष हुँदै विज्ञान र प्रविधिलाई आत्मसात गरेर अघि बढ्नुको विकल्प नभएको तर्क गर्दै समर्थकहरूले पनि लेखेका छन् । ‘एआई फिल्मको भविष्य हो, जसले यसलाई अपनाउँदैन, ती पछाडि पर्छन्,’ एक समर्थकले सामाजिक सन्जालमा लेखेका छन् । अर्का थप्छन्, ‘तपाईंहरू एआईप्रति घुँडा धसेर विरोध गर्न सक्नुहुन्छ, तर कसैले पनि यसविरुद्धको तार्किक बाटो देखाउन सक्नुहुन्न । भाइरल पोस्ट गरेर लाखौं मानिसहरूको मन परिवर्तन गर्न सक्नुहुन्न ।’

त्यसो त डेमी मुरले मेसिनले प्रतिस्थापन गर्न नसक्ने फिल्मका सिर्जनात्मक पाटोहरु पनि रहेको जिकिर गर्दै थप तर्क गरेकी छन् । ‘यसलाई प्रयोग गर्नुका सुन्दर पक्षहरू छन् । तर, सत्य के हो भने, डराउने कुनै कारण छैन, किनकि यसले आत्मादेखि आउने सजिव कलालाई कहिल्यै प्रतिस्थापन भने गर्न सक्दैन,’ उनले मनोरञ्जन क्षेत्रमा बढ्दो राजनीतिक अभिव्यक्तिसम्बन्धी तनावबारे पनि बोलेकी थिइन् । विश्वव्यापी अभिव्यक्ति स्वतन्त्रताको बहस चलिरहेका बेला ‘सेल्फ सेन्सरसिप’ नगर्न पनि चेतावनी दिँदै उनले भनिन्, ‘मलाई लाग्छ कलाको हिस्सा अभिव्यक्ति हो, त्यसैले यदि हामी आफैं सेन्सर गर्न थाल्यौं भने हामी आफ्नो रचनात्मकता नै बन्द गरिदिन्छौँ ।’

AI vs. Hollywood: Demi Moore's statement reignites debate

हलिउडमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई लामो समयदेखि खल चरित्रका रूपमा चित्रण गरिँदै आएको छ । ‘द टर्मिनेटर’ मा अमेरिकी सेनाले प्रयोग गर्ने एआईले पृथ्वीमा सबैलाई नष्ट गर्न उद्दत भएको देखाइएको छ । तर, २०२५ देखि भने हलिउडले पहिलोपटक एआई अभिनेत्री नै तयार पारेको छ । बेलायतकी अभिनेत्री एलाइन भान डेर भेल्डेनले फेब्रुअरी २०२५ मा तयार पारेको पहिलो एआई अभिनेत्री टिली नोरवूड यतिबेला विश्वकै कलाकारका लागि खतराको घन्टी बनेकी छन् । भेल्डेनले नोरवूडलाई भविष्यकी स्कारलेट जोहान्सन वा नटालिया पोर्टम्यानको विकल्पका रुपमा प्रख्यात हुन सक्ने क्षमताकी बताएकी छन् । हाल एआई निर्मित मोडलिंग सर्ट्स र केही सफल फिल्मका दृश्यमा फिचर्ड भइरहेकी नोरवूड सामाजिक सञ्जलमा समेत सेलेब्रिटी भइसकेकी छन् । हाल उनका इन्स्टामा मात्र डेढ लाख फलोअर्स पुगिसकेका छन् ।

– एजेन्सीकाे सहयोगमा

कान्तिपुर

Link copied successfully