सामाजिक सञ्जालदेखि सडकसम्म ‘गरिबको चमेली’ गीतको व्यंग्यात्मक प्रयोग गर्दै नागरिकहरूले बालेन सरकारको व्यवहारमाथि प्रश्न उठाएका छन् ।
What you should know
काठमाडौँ —
ऊ यति क्रूर छ कि
भर्खरै पिएर घटघट मान्छेको रगत
तृप्त हुन्छ र गाउन थाल्छ-
'गरिबको चमेली बोल्दिने कोही छैन
१९ वैशाखमा माइतीघर मण्डलमा सुकुमवासीमाथि सरकारले गरेको अमानवीय व्यवहारविरुद्धको प्रदर्शनमा यो कविता वाचन गरियो । ६ वर्षअघि बालेनले नै गाएको गीतबाट उनैलाई प्रश्न गर्न धेरैले गीतका शब्द सापट लिइरहेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक र इन्स्टाग्राममा पनि चमेली बोलको गीतको अंशहरू प्रयोग गरेर प्रधानमन्त्री वालेन्द्रको भूमिकामाथि प्रश्न र व्यंग्य भइरहेको देखिन्छ ।
त्यसअघि १८ वैशाखमा यही गीतमाथि प्यारोडी बनाउँदै अभियन्ताहरूले प्रदर्शन गरेका थिए । चमेली भाकामै नयाँ शब्द मिसाइएको प्यारोडी गीत माइतीघर मण्डलामा गुञ्जियो :
बालेन्द्रलाई सुनमाथि
सुनै छ सुनै छ
गरिबको चमेली
रुनलाई रुनै छ
सर्जक रामेशको यो गीत २०५३ मा रेकर्ड भएर २०५४ सालमा प्रर्दशित फिल्म 'बलिदान'मा प्रयोग भएको थियो । ६ वर्षअघि गाएको 'बलिदान' शीर्षकको र्यापमा बालेनले 'गरिबको चमेली'भन्ने यही गीतका अन्तरा मिसाइएका थिए । जुन बालेनको व्यक्तिगत युट्युब अकाउन्टबाट १० जनवरी २०२० मा अपलोड भएको थियो । मेयर बन्नुअघि कान्तिपुर टिभीको कार्यक्रम 'इट्स माई सो'मा यही र्याप गाएपछि भने यो गीत नयाँ पुस्तामाझ बढी चर्चित बन्यो ।
सकुमवासी बस्ती विस्थापनको काम सुरू भएपछि यो गीत फेरि सोसल फिडमा देखिन थालेको हो । तर विद्रोह जनाउने शैलीमा होइन, व्यंग्य वा विरोध गर्न शैलीमा । जस्तो कि, ६ वैशाखमा 'नेप्लिज २०८२' नामको इन्स्टाग्रामबाट एउटा रिल्स पोस्ट भएको छ- जसमा सुकुमवासी बस्ती भत्काउँदा दुई बालिकाहरू रुँदै भनिरहेका छन्, 'बुबा लिन आउनु न !', अनि पृष्ठभूमिमा 'गरिबको चमेली' गीत बजिरहेको सुनिन्छ । ३७ हजारभन्दा बढी भ्युज भएको यो रिल्समा प्रश्न गरिएको छ, ‘घर भत्काइए, बालबच्चाहरू रोइरहेका छन् । के हामीले खोजेको विकास यही हो ?’
रिल्स र टिकटकतिर मात्रै होइन सामाजिक सञ्जाल फेसबुकमै पनि धेरैले 'चमेली' लेख्दै बालेनमाथि प्रश्न गरेका छन् । सुकुमवासी व्यवस्थापन प्रकियामाथि नै प्रश्न उठाउँदै जेन-जी अगुवा रक्षा बमले फेसबुकमा स्टाटस लेखिन् । 'वास्तविक भूमिहीन नागरिक पहिचान र प्रमाणीकरण गरी नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकबाट विमुख नगराई उचित आवासको व्यवस्था गरेर अतिक्रमित जग्गा फिर्ता ल्याई हाम्रा गाउँ, सहर र बस्ती व्यवस्थित र सुन्दर बनाउनुपर्छ भन्ने कुरामा दुईमत छैन । तर खास कुरा यहाँ राज्यको इन्टेन्ट र अप्रोचको हो। राज्यले आफ्ना सबैभन्दा कमजोर र पीडित नागरिकसँग कस्तो व्यवहार गर्छ?,'प्रश्न गर्दै रक्षाले लेखेकी थिइन्,'आखिर शक्तिशाली हुनु भनेको अझ जिम्मेवार र मानवीय बन्नु हो । खैर, आज प्रधानमन्त्री बालेनले गरेको वाचा भोलि पूरा गर्नुहोला भन्ने आशा गरौं। आखिर आशा नै त रैछ गरिबको, चमेली।'
वैशाख १८ मै एमाले नेता उषाकिरण तिम्सिनाले फेसबुकमा यही गीतका शब्द लेख्दै सरकारको विरोध जनाइन् । सुत्केरी, बालबालिका र वृद्धावृद्धाहरु निरह बनेर आँसु बगाइरहेको विषयमाथि आलोचना गर्दा उल्टै गाली सुन्नुपरेको उनको गुनासो छ । 'नागरिकका यी रोदन र क्रन्दन बालुवाटारसम्म पुर्याइदिनुहोस् है, जनहरू । गरिबको चमेली बोलिदिने कोही छैन,' उनले लेखेकी छन् ।
वालेन्द्रका काममा प्रश्न गर्न वा विरोध जनाउन यो गीत अहिले मात्रै प्रयोग भएका होइनन् । काठमाडौं महानगरको मेयर भएपछि उनले फुटपाथ खाली गराउने अभियानअन्तर्गत सडक व्यापारीमाथि गरेको व्यवहारको विरोध गर्न पनि यही गीत प्रयोग गरिएको थियो ।
त्यही बेला सामाजिक सञ्जालमा एउटा नाम चर्चित थियो, चमेली ग्याङ । मेयर वालेन्द्रका काममाथि खबरदारी गर्न भन्दै केही युवाहरूले बनाएको सञ्जाललाई धेरैले यही नामले चिन्थे । यही समूहमा थिए, जेन-जी फ्रन्टका सदस्यसमेत रहेका युजन राजभण्डारी । फुटपाथ व्यवसायीहरूलाई सडकबाट धपाउँदा त्यसको विरोधमा उनीसँगै रक्षा बम, ई:, भावना राउतदेखि टुडेज चाउ, विनोद देउवासहितका युवा उभिएका थिए । बालेनलाई चुनावअघिका प्रतिबद्धता सम्झाउने काम आफूहरूले त्यतिबेला गरेको युजनले बताए । युजनका अनुसार उनीहरुको समूहले भन्दा पनि कुनै समाचारमा 'चमेली ग्याङ' उल्लेख थियो पछि यही नामले हामीलाई बोलाउन थालियो ।’
'गरिबको चमेली' का लेखक सर्जक रामेश आफ्नो गीत बालेनको विरोधमा प्रयोग भइरहेकोबारे जानकार छन् । 'खबरदारीको निम्ति, उहाँको वचन सम्झाउनका लागि यो गीत प्रयोगमा आउनु ठीक हो । यो भनेको त नभुल्नुस् है - जमिन हुँदा बेग्लै सत्तामा गएपछि बेग्लै नहुनुस् है भनेर खबरदारी गरिएको हो,' उनले भने, 'तपाईं त गरिबकै गीत गाएर आको हो है, तपाईं गरिबको मान्छे हो है भनेर भन्नका लागि यो गीत प्रयोग हुनु उचित देखिन्छ, जायज पनि हो ।'
जेन-जी अभियन्ता मिराज ढुंगानाले पत्रकार सम्मेलन गरेरै आफैंले गाएको गीतको मर्मविपरित प्रधानमन्त्रीले कदम चालेको भन्दै आक्रोश पोखे, ‘गरिबको चमेली भन्ने पनि युट्युबबाट हटाइदिनुस् । त्यो कामै छैन ।’
अभियन्ता जस्मिन ओझा प्रतिरोधको आयाम फेर्न खोज्दा आफूहरूले गीतको माध्यम प्रयोग गरेको बताउँछिन् । बालेनले पनि पहिला गीतबाटै प्रतिरोध गरेको हुँदा आफूहरूले प्यारोडी बनाएको उनी तर्क गर्छन् । 'पहिला ढुंगामुढा गरेर प्रतिरोध हुन्थ्यो ।
समयअनुसार प्रतिरोधको आयाम फरक हुनुपर्छ भनेर हामीले गीतको माध्यम प्रयोग गरेका हौं । बालेन पनि मेयर हुनुअगाडि गायक थिए, उनले पनि गीतबाट विरोध गरेका थिए,'ओझा सुनाउँछिन्, 'हामीले पनि उनले जसरी गीतको माध्यम प्रयोग गरेका हौं । सुरूमा उठिबास लगाएर सुकुमवासीलाई व्यवस्थापन गर्ने त गलत हो नि भन्नका लागि विरोध गर्न चमेली गीत गायौं ।'
ज्यास्मिनलगायतको अभियान्ताहरुको समूहले गाएको प्यारोडी गीतमा बालेनले उल्लेख गरेको क्रान्ति शब्दमाथि पनि व्यंग्य गरिएको छ ।
'क' बाट सरकारको क्रान्ति पो आएछ
गरिबको चमेली 'डोजर'को क्रान्ति छ...
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै आयस्रोत खुलाउनुपर्ने दबाब दिन राजधानीमा गरिएको एउटा विरोध कार्यक्रममै पनि यो गीतको व्यंग्यात्मक प्रयोग गरिएको थियो । 'गरिबको चमेली सुन दिने कोही छैन,' यस्तो लेखिएको पम्प्लेट कार्यक्रममा प्रयोग गरिएको थियो । त्यतिबेला यो पम्प्लेट सामाजिक सञ्जालतिर 'भाइरल' बनेको थियो । सुनमाथि बनेको अर्को चमेली गीत त टिकटकतिर भाइरल नै छ । नेपाल सन्दर्भ नामक टिकटक अकाउन्टबाट पोस्ट भएको यो भिडियोमा पनि सुकुमबासी व्यवस्थापनविरुद्ध काठमाडौंमा गरिएको आन्दोलनको दृश्य छन् । ७ लाखभन्दा बढी भ्युज भएको यो टिकटकमा एक महिला माइकमै गाउँछिन् :
सुनको डल्लो घरमै
राखेर राखेर
गरिबलाई चमेली
खोलामा फ्याँकेर
'गाई त बाँध्यो' शीर्षकको यो गीतले भुइँमान्छेको वेदना र पीडा बोल्छ । रामेशहरुले २०२८ देखि यो गीत गाउन थालेका हुन् । न्याय, कानुन, सम्पत्ति र अवसर सबैका लागि बराबर हुनुपर्छ भन्दै समानताको गीत गाउँदै हिँड्ने क्रममा रामेश (राल्फा समूह)सामू यो गीत ठोक्किन आइपुग्यो । त्यतिबला रामेशहरू रामेछापको मन्थली पुगेका थिए ।
मन्थली खोला छेउको मुगिटार भन्ने गाउँमा त्यहाँको चौतारीमा साँस्कृतिक कार्यक्रम तय गरिएको थियो । वर र पिपलबोटको चौतारीलाई मञ्च बनाइएको थियो । रामेशहरूले गीत गाइसकेपछि गाउँलेले भने- हाम्रोमा पनि गीत गाउने नानीहरू छन्-एकछिन उनीहरूलाई पनि समय दिऔं न ! त्यतिकैमा दुई नानी मञ्च उक्लिए । हातमा हँसिया बोकेर । त्यही हँसियालाई ट्याकट्याक बजाएर, ताल बनाए । अनि तालमा लय मिलाए :
गाई त बाँध्यौँ ढुंग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
गरिबको बोल्दिने कोही छैन, कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन...
त्यसपछि रामेशहरूले यो गीतलाई राज्यबाट भुइँमान्छेमाथि भएको विभेद र उत्पीडनको विरोधमा घन्काए । निरंकुशताविरुद्धको अभियानअन्तर्गत गाउँगाउँ पुर्याए । करिब ७ दशकपछि त्यही गीत फेरि एक पटक राज्यद्वारा सुकुमवासी र भूमिविहीनमाथि गरिएको अमानवीय व्यवहारको विरोधमा गुञ्जिरहेको छ ।
