‘सर्ट फिल्म डेभलपमेन्ट ल्याब’मा ६ प्रोजेक्ट छनोट

युवा स्वतन्त्र चलचित्रकर्मी र स्थापित निर्माताहरूबीचको दूरी मेटाउँदै कथापरक सिनेमाको नयाँ पुस्तालाई अघि बढाउन यो सहकार्यले उत्प्रेरकको भूमिका खेल्ने विश्वास किम्फले लिएको छ ।

वैशाख २६, २०८३

कान्तिपुर संवाददाता

6 projects selected for 'Short Film Development Lab'

काठमाडौँ — नेपाली सर्ट फिल्मलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र उदीयमान चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' आयोजना हुने भएको छ । ‘चलचित्र ल्याब’ले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँगको साझेदारीमा यो ५ दिने सघन कार्यशाला सञ्चालन गर्न लागेको हो ।

पटकथाको चरणमा रहेका उत्कृष्ट ६ वटा प्रोजेक्टलाई यस कार्यक्रममार्फत विकासदेखि वितरणसम्मको प्रक्रियामा व्यापक मेन्टरसिप प्रदान गरिनेछ । युवा स्वतन्त्र चलचित्रकर्मी र स्थापित निर्माताहरूबीचको दूरी मेटाउँदै कथापरक सिनेमाको नयाँ पुस्तालाई अघि बढाउन यो सहकार्यले उत्प्रेरकको भूमिका खेल्ने विश्वास किम्फले लिएको छ ।

यसपटकको ल्याबका लागि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र इन्डोनेसियाबाट ३२ वटा आवेदन प्राप्त भएका थिए । विभिन्न चरणको छनोट र अन्तर्वार्तापछि निर्देशक र निर्माताको आपसी तालमेल, साझा भिजन र समर्पणका आधारमा ६ वटा प्रोजेक्ट अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । 

छनोट भएका प्रोजेक्टहरूमा निशान खत्रीको 'कख', एलिन कातेलको 'अम्ब्रेला ओभर द ल्याम्ब', दिव्या अधिकारीको 'ह्वेयर आई स्ट्यान्ड', उषा रजकको 'फर गेस्ट्स ओन्ली', ग्रीष्म श्रेष्ठको 'पारिजात' र गोपाल थापाको 'उल्टो आकाश' रहेका छन् । यी प्रोजेक्टका निर्देशक र निर्माता दुवैले कार्यशालामा अनिवार्य सहभागिता जनाउनुपर्नेछ ।

जेठ ७ देखि ११ गतेसम्म चल्ने ल्याबमा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ मेन्टरहरूबाट प्रत्यक्ष मार्गदर्शन पाउनेछन् । मेन्टरका रूपमा नेपालबाट केशव पाण्डे, सुजित बिडारी र निमेष श्रेष्ठ रहनेछन् भने बंगलादेशका निर्माता तनवीर हुसेन, बेलायतका अजय राई र लेखक जेम्स बाङले प्रशिक्षण दिनेछन् । कार्यशालाका दौरान सहभागीहरूले आफ्ना प्रोजेक्टलाई परिष्कृत बनाउनुका साथै वितरण, अन्तर्राष्ट्रिय महोत्सव र व्यावसायिक पिचिङका सीपहरूसमेत सिक्नेछन् । ल्याबको अन्तिम चरणमा जेठ १५ गते 'प्रोजेक्ट पिचिङ' हुनेछ र जेठ १७ मा विजेताहरूको घोषणा गरिनेछ ।

उत्कृष्ट प्रोजेक्टहरूका लागि आकर्षक नगद पुरस्कार र प्राविधिक सहयोगको व्यवस्था गरिएको छ । जसअनुसार उत्कृष्ट तीन पिचले क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । नगदका साथै विजेता प्रोजेक्टहरूले फिल्म निर्माणका लागि क्यामेरा, लाइट तथा पोस्ट-प्रोडक्सनमा आवश्यक प्राविधिक सहयोगसमेत पाउनेछन् । चलचित्र ल्याबका संस्थापकहरू प्रविन कुमार रावत र सुशान्त श्रेष्ठका अनुसार सहभागीहरूको उत्साहले नेपाली सर्ट फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तर हासिल गर्ने अपेक्षा गरिएको छ ।

ल्याबले सन् २०२७ सम्ममा दक्षिण एसियाका सबै देशलाई समेट्ने गरी आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ ।

कान्तिपुर

Link copied successfully