'एक मुठ्ठी बादल' की निर्देशक सहारा भन्छिन् : घरलाई आफूभित्रै खोज्न धेरै समय लाग्यो । मलाई अझै पनि कुनै भौतिक कुराले घरको आभास दिलाउँदैन । अहिले मेरो अपार्टमेन्ट न्युयोर्कमा छ । मलाई मनपर्ने तरिकाले मैले घरलाई सजाएको छु । तर, मलाई कहिल्यै पनि कुनै ठाउँ स्थायी अनुभव हुँदैन । मेरो फिल्म त्यहीबारेमा हो ।
What you should know
काठमाडौँ — सानैदेखि होस्टलमा हुर्किन् । त्यो पनि नेपालदेखि टाढा लखनऊमा । घर फर्कन अप्रिल महिना कुर्नुपर्ने । नेपाल फर्कँदा घरको फ्रिज फेरिइसकेको हुन्थ्यो तर नयाँ फ्रिज कहिल्यै आफ्नो लागेन । बैठक कोठा नौलो देखिन्थ्यो, बार्दलीका फूल अर्कै लाग्थे । त्यसमाथि आमालाई घर सजाइरहनुपर्ने । वर्ष दिनमा घर बेग्लै । कहिल्यै घर घरजस्तो लागेन ।
आखिर के हो घर ? होस्टल ? वा बुवाआमा र भाइबहिनी बस्ने ठाउँ ? बाल्यकालदेखि फरक ठाउँमा हुर्केकी निर्देशक सहारा शर्माले सँधै घर खोजिरहिन् । घरको अनुभव कहिल्ये होस्टलमा खोजिन्, कहिले बर्दियाको घरमा । तर, फरक ठाउँहरूले घरको आभास दिलाएन । त्यही घरको खोज हो -फिल्म 'एक मुठ्ठी बादल' ।
जेठ १ देखि प्रदर्शनमा आउने यो फिल्ममा सहाराले त्यस्तो घर कल्पेकी छन्, जस्तो उनी चाहन्थिन् । आमा-बुवा, दिदीबहिनीजस्ता पात्र उभ्याउँदै एउटै घरमा राखेर कथा भनेकी छन् । त्यो पनि सहरमा हुर्केकी एक जवान महिला पात्रको कथा । सहरकी महिलाको जीवन-संघर्ष कस्तो हुन्छ ? अस्तित्वको लडाइँमा उनी कहाँ उभिएकी हुन्छिन् ? के त्यो महिलाले आफूले खोजेजस्तो घर भेट्लिन् त ? आखिर उनले खोजेको घर के हो ? एउटा संरचना मात्र कि महसुस पनि ?
अंग्रेजी नाम दिइएको 'माई सेयर अफ स्काई'की प्रमुख पात्र माइलीले खोजेको घर कस्तो हो ? के हो ? त्यो त 'एक मुठ्ठी बादल' हेरेपछि नै थाहा होला । संयोगहरूले अझै पनि निर्देशक सहाराका लागि भने 'अप्रिल' महिना नै घर बनाइदिन्छ । फिल्म प्रदर्शनका लागि अमेरिकाबाट नेपाल आइपुगेकी सहाराले अप्रिलमै काठमाडौंको उडान भरिन् । सन् २०२४ मा छायांकनका लागि अप्रिलमै नेपाल आइपुगिन् । अहिले मात्रै होइन, कुनैबेला अप्रिलले नै सहारालाई घरको अनुभूति दिलाउँथ्यो ।
पढ्नका लागि लखनऊ पुगेकी उनी सधैँ अप्रिलमै नेपाल फर्किन्थिन् । बाँकीका सबै महिना होस्टलमै बित्थ्यो । बाल्यकालको हुर्काइले उनलाई कुनै ठाउँसँग नजिक हुनै दिएन । लखनऊको होस्टललाई बल्लतल्ल के आफ्नो मान्न थालेकी थिइन्, परिवारले नेपाल बोलाइहाले । कक्षा ८ पढ्दै गर्दा उनी काठमाडौं आइन्, अनि ग्यालेक्सी स्कुल पढिन् । लखनऊमा वार्डेनलाई नानी भन्थिन्, अर्थात हजुरआमा । नानीहरूको स्नेहमा हुर्केकी उनले यता उस्तै वातावरण पाइनन् । शिक्षकहरू भने गाली बढी गर्थे । विद्यालयमा त्यो अपनत्व नभएपछि घरको महसुस त नहुने नै भयो ।
उनी काठमाडौं, बुवा-आमा बर्दियातिर । आमा सरकारी शिक्षक, बुवा वकिल । बुवा-आमादेखि टाढा । खास अर्थमा सहाराका लागि घर कहिल्यै घर भएन । ‘सबैजनाका परिवार सँगै हुन्छन्, हाम्रो अभिभावक हामीसँग किन छैनन् भन्ने लाग्थ्यो त्यतिबेला । अहिले त बुझ्छु, उहाँहरूको पेसा, त्यतिबेलाको डेडिकेसन । तर, बाल्यकालमा त त्यो अनुभवसहित हुर्कें,’सहारा सुनाउँछिन् । घरसँग त्यो आत्मीय लगाव र अपनत्व नभएकै कारण जवान हुँदा सहाराले परिवारदेखि टाढा हुने बहाना खोजिरहिन् । १२ को अध्ययन गर्नेबित्तिकै बैंकक गएर बसिन् । त्यसपछि कम्बोडिया पुगिन् ।
दुई/तीन हप्ताका यस्तै प्रोजेक्ट गर्ने बहानामा घरदेखि टाढा भागिरहिन् । पछि बेंगलुरू पढ्न बसिन्-२ वर्ष ! आफूले बाँचेको यही जीवन अनि त्यसभित्रका मिहीन भाव पक्रेर सहाराले फिल्म 'एक मुठ्ठी बादल' लेखेकी हुन् । ‘खासमा म त टुक्रा-टुक्रामा बाँचेको छु । घर कस्तो हो ? कुनै ठाउँमा मान्छे कम्फर्टेबल कसरी हुन्छ? मलाई थाहा छैन। घरलाई आफूभित्रै खोज्न धेरै समय लाग्यो । मलाई अझै पनि कुनै भौतिक कुराले घरको आभास दिलाउँदैन,’ सहाराले भनिन्,’अहिले मेरो अपार्टमेन्ट न्युयोर्कमा छ । मलाई मनपर्ने तरिकाले मैले घरलाई सजाएको छु । तर, मलाई कहिल्यै पनि कुनै ठाउँ स्थायी अनुभव हुँदैन । मेरो फिल्म त्यहीबारेमा हो ।’
'अर्काको घर जाने मान्छे' भनेर हुर्काएकी महिलाहरूले के कहिल्यै वास्तविक घरको अपनत्व कहीँ भेट्टाउला ? माइली (आँचल शर्मा) को चरित्र लेख्दै गर्दा सहारा थुप्रै पटक यो विषयमाथि घोत्लिएकी छन् । 'महिलाहरूलाई सधैँ तिमी त अर्काको घर जाने ? अर्काको घरका लागि तयार गरिएझैं गरी हुर्काइन्छ । के केटीहरूले पनि घरलाई घरजस्तो ठान्छन् त ? तिम्रो घर नै छ, तर के त्यो ठाउँ तिमीलाई घरजस्तो महसुस हुन्छ ?,'सहाराले सुनाइन् । सहाराले लेखेको माइली पात्र त्यति सुशील देखिन्नन्, सरल छैनन् । अलिअलि झगडालु स्वभावकी छिन्, सहजै चित्त बुझाउँदिनन् । किन ? कथा लेखनको सुरूवाती दिनमा मुख्य पात्र झगडालु किन देखाएको भन्दै थुप्रैले प्रश्न गरे । सहाराको एउटै जवाफ हुन्थ्यो,'कुनै निश्चित ठाउँमा तपाईं आफूलाई जोडिएको पाउनु हुन्न, त्यस्तो ठाउँमा बाँच्न त संघर्ष गर्नु पर्यो ।चर्को आवाजमा बोल्दा झगडालु देखिनु स्वभाविक हो ।'
कान्स कथा-खुल्यो दिमागको बत्ती !
सहाराले फिल्मको कथा सन् २०२० देखि लेख्न सुरू गरेकी हुन् । सुरूमा कलाकार ऋचा शर्माले उनलाई यस्तो फिल्म लेख्न हौस्याएकी थिइन् । 'फेमिनिस्ट फिल्म लेखन', ऋचाले भनेकी थिइन् । तर, त्यस्तो फिल्म कसरी लेख्ने ? महिलालाई केन्द्रमा राखेर कसरी कर्मसियल फिल्म लेख्ने ? यही चुनौतीले सहारामा फिल्म लेख्ने जोश थपियो । लेखनकै क्रममा यो फिल्मले संसारका विभिन्न ल्याब चहार्यो । ल्याब र महोत्सव पुग्नुको एउटै उद्देश्य थियो -फिल्म बनाउन पैसा जुटाउनु ।
कथाको खाका तयार भइसकेपछि सहारा र निर्माता अभिमन्यू दीक्षितमा फिल्म बनाइहाल्ने हुटहुटी सवार थियो । त्यसैले पैसा खोज्न अन्तर्राष्ट्रिय बजारतर्फ कदम बढाए । बजारअघि लेखनको ल्याब पुग्ने चाहले उनीहरू सुरूमा लोकार्नोको 'ओपन डोर्स को-डेभलभमेन्ट' पुगे । त्यसपछि सुरू भयो- ल्याब र मार्केट यात्रा । सन् २०२१ मा यो फिल्म भारतको एनएफडीसी फिल्म बजार पुग्यो । निर्माता दीक्षितले त्यहाँ 'रोट्रड्याम ल्याब अवार्ड' जित्यो । त्यहीँबाट यो फिल्म कान्सको ल्याबमा छनोट भएको हो । सहाराले त्यहीँ फिल्म लेखनबारे सिकिन् । त्यहीँ दिमागको बत्ती बल्यो ।
सहाराले त्यसअघि फिल्म लेखनका कुनै कक्षा लिएकी थिइनन् । किम्फ जितेको 'चेजिङ रेन्बोज' कलेज प्रोजेक्ट थियो । लेखन सम्बन्धि ज्ञान बटुल्ने आसमै कान्स पुगिन् । यति ठूलो महोत्सवमा आफूले लेखेको कथा 'पिच' गर्न पाउनु अर्को खुसी । कोभिडले गर्दा कति लेखन ल्याब भर्चुअल नै सहभागी भएकी थिइन् । आफ्नो कथा लिएर पहिलो पटक भौतिक रूपमै कान्स पुग्दा सहारा र अभिमन्यूमा छुट्टै उर्जा थियो । 'त्यहाँ पुगेपछि ल मैले के नै पो लेखेको रहेछु र ? भन्ने कुराले भित्रैदेखि हल्लायो,'सहारा कान्स यात्रा सुनाउँछिन्,'त्यहाँ पुगेपछि मैले त केही गरेको रहेनछु भन्ने भयो ।'
कान्स पुग्दा कहाँबाट के सुरू गर्ने ? सुरूमा उनीहरुले केही भेउ पाएनन् । फिल्म भने निरन्तर हेरिरहिन् । विश्वका फिल्महरूबाटै पनि उनी सिक्न चाहन्थिन् । कान्सको त्यही यात्रामा सहाराले जर्मनीको निर्माता सारालाई भेटिन् । कान्समै एकजना मेन्टरले सहारालाई फिल्म बनाइहाल्न हौस्याए -धानको बाला धेरै भयो कथामा, अब फिल्म बनाऔँ ! त्यतिञ्जेल 'एक मुठ्ठी बादल'ले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्डदेखि लोकार्नोको ओपन डोर्स अनि बंगलादेशको 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब' पुगेर फिल्मको पोस्टरमा धानको बाला राख्ने ल्याकत बनाइसकेको थियो । पोस्टरमा अंकित धानको बाला हेरिसकेपछि सहारालाई पनि लाग्यो-अबचाहिँ फिल्म बनाउनै पर्छ ।
'त्यतिबेला मलाई फन्डिङ अप्लाई त जीवनभर गरिरहन सकिन्छ । तर अब फिल्म बनाउनुपर्छ भन्ने आभास भयो,'उनी विगत सम्झिन्छिन् । फिल्म बनाउने निर्णय लिइहाले पनि त्यतिबेला उनीहरूको हातमा पैसा थिएन । फिल्म क्षेत्रले नयाँ फिल्मकर्मीलाई पत्याइहाल्दैन, त्यो चुनौतीबीच पनि फिल्म बनाउने हिम्मत बनाइरहिन् ।
'पहिलो चोटी फिल्म बनाउनेलाई पैसा खोज्न निकै गाह्रो हुँदो रहेछ । पैसा कसैले पनि सजिलोसँग दिँदैन रहेछन्,'सहारा फिल्म निर्माणको जटिलता सुनाउँछिन्,'फेरि मलाई कुनै काम सुरू गरेपछि फत्ते गरिहाल्नुपर्छ । अनि हामीले थोरै रकममै भए पनि फिल्म बनाऔं भनेर सुरू गर्यौं ।' अन्तर्राष्ट्रिय बजार पुग्दा सहाराको फिल्म बनाइदिन कोही इच्छुक नभएका होइनन् । कोही फिल्मको मुख्य पात्रलाई 'सीमान्तकृत बनाइदिए पैसा हाल्छु' भन्दै आए । कतिले कथालाई 'गाउँतिर लैजाने भए खर्च गर्छु' भने । तर, ती पैसासँग सहाराले सम्झौता गरिनन् । उनलाई फिल्ममा न गरिबी देखाउनु थियो, न कथालाई गाउँतिर पुर्याउनु थियो । उनलाई त समकालीन समयमा संघर्षरत महिला पात्रको कथा सुनाउनु थियो । 'हो, गाउँको कथा सुन्दर हुन्छ । तर, नेपाल भनेको समकालीन समयको कथा पनि हो भनेर मलाई देखाउनु थियो,'सहाराले भनिन्,'म समकालीन समयको कथा भन्ने मान्छे हुँ । अहिले के भइराछ भन्ने खालको कथा भन्न मनलाग्दो रहेछ मलाई ।'
कान्सको त्यही यात्राले नै सहारालाई लेखिसकेको कथा फेरि भत्काउन मन लाग्यो । मध्यान्तरपछिको कथालाई पूरै भत्काइदिइन् । कान्सबाट फिर्ता आउनासाथ कथाको चिरफार सुरू । कान्स यात्राले उनी आफैभित्र परिवर्तित अनुभव गरिरहेकी थिइन् । त्यो परिवर्तन कथामा मिसाउन चाहेरै फेरबदल गरिन् ।
'कान्स पुगेपछि म भित्रैदेखि परिवर्तित अनुभव गरिरहेको थिएँ । त्यसैले कथामा फेरबदल गरें । मलाई मैले बुझेको, देखेको अनि अप्ठ्यारो लागेको विषयको जडसम्म पुगेर लेखनमार्फत त्यसको जवाफ खोज्नु थियो,'उनले भनिन् ।
कथा लेखेको ४ वर्षपछि मात्र सहाराले फिल्म बनाउन सुरू गरेकी हुन् । लामो समय लेखनमा बिताइसकेपछि सहारालाई पनि लाग्यो-अब लेख्ने मात्रै होइन फिल्म बनाइहाल्ने हो । यो सोचले अमेरिकामा टिकाइरहेन । तुरुन्तै काठमाडौं आइन् । त्यतिबेलासम्म पनि पैसा हात लागिसकेको थिएन । फोनमा बुवालाई सोधिन्- 'कति पैसा हाल्न सक्नुहुन्छ मेरो फिल्ममा' ।
श्रीमान्सँग सोधखोज गरिन् । बहिनीहरूसँग पैसा मागिन् । अभिमन्यूले पनि घरतिर खोज्न थाले । जसोतसो ५०/६० लाख उठाउन सकिन्छ भन्ने जाँगर, आफ्नै घरकाहरूसँग हात फैलाएपछि थाहा भयो । तर त्यही समयतिर सहारा 'मन प्रोडक्सन'सँग ठोक्किइन् । मन प्रोडक्सन महिलाकै कथामा फिल्म बनाउने तयारीमा रहेछ । सहाराको कथा सुनेपछि फिल्ममा लगानी गर्न तयार भयो-मन प्रोडक्सन । मनसँग फिल्म बनाउने तयारीमा रहेका सहारा र अभिमन्यूको मन मिल्यो । त्यसपछि बन्यो एक मुठ्ठी बादल । 'मन प्रोडक्सन बाजी थाप्न घोडाको पर्खाइमा थियो । अनि हाम्रो कथामा लगानी गरे,'मुसुक्क मुस्कुराउँदै सहाराले भनिन् । फिल्म बनाउनुअघि पैसा खोज्न हैरानी खेपे पनि यो फिल्ममा विस्तारै लगानीकर्ता जोडिँदै आए ।
प्रोडक्सन टिममा महिला वर्चस्व
यो फिल्ममा महिलाहरू जोडिएको गजब्बको संयोग छ । निर्देशक सहारा भइहालिन् । छायांकारको भूमिका लिन ड्यानले गरिन्, उनी पनि महिला । प्रडक्सन डिजाइनमा सरिक थिइन् भारतकी यशस्वी सबरवाल । अडियो मिक्सरमा प्रियंका गायकवाडदेखि प्रमुख सहायक निर्देशक मर्णा जेम्स थिइन् । कीर्ति जोशी मेकअप विभागको प्रमुख थिइन् भने कस्ट्युम डिजाइन जानकी कडायतले सम्हालिन् ।
फिल्मको मुख्य भूमिकामा आँचल शर्मा भइहालिन् । तर, यो सिर्जनात्मक निर्णय नभई संयोग मात्रै रहेको सहारा सुनाउँछिन् । 'महिलालाई नै हेड बनाउँछु भनेर डिजाइन गरेको हैन । तर सबै जोडिँदै आउँदा यस्तो भयो । म आफ्नो क्षमतामा विश्वास गर्छु । आफूले चाहिने काम अरूबाट निकाल्न सक्छु,'उनले भनिन्,'महिलाले भनेको कथामा महिलाहरू विभिन्न युनिटको प्रमुख हुनु महत्त्वपूर्ण विषय नै हो । तर मैले भन्ने कथा मेरो भजाइनासँग जोडिएको छैन । म मलाई जस्तो फिल्म बनाउन मनलाग्छ त्यो बनाउँछु । म केटा भएको भए पनि आफूलाई मनपर्ने कथा भन्थेँ होला ।'
फिल्मका लागि विभिन्न विभागमा राम्रा प्रतिभा जोड्दै जाँदा अधिकांश विधामा महिला आबद्ध भएको सहारा सुनाउँछिन् । प्रमुख अभिनेत्री आँचल भने सहाराको पहिलो रोजाइ हो । 'लज्जावती झार'शीर्षकको गीत हेरिसकेपछि सहाराले मुख्य भूमिकामा आँचल सोचेकी थिइन् । हुन त यही भूमिकाका लागि अन्य कलाकारको नाम सहाराकहाँ नआएको होइन । तर, सहारालाई आफूमाथि विश्वास थियो-आँचलबाट चाहेजस्तै काम निकाल्न सक्छु भन्ने । अहिले बनेर प्रदर्शनका लागि तयार यो फिल्म हेर्दा सहारालाई आफ्नो त्यो रोजाइ सही थियो भन्ने लाग्छ । 'खोइ मलाई आँचल देख्नेबित्तिकै भित्रैबाट उसले यो चरित्रमा भूमिका गर्न सक्छ भन्ने भएको थियो,'सहाराले भनिन् ।
पत्रकारिता हुँदै फिल्म निर्माणमा जोडिएकी सहाराले बेंगलुरू गएर फिल्ममा स्नातकोत्तर गरेकी हुन् । त्यतिबेलै बनाएको फिल्म 'चेजिङ रेन्बोज'ले किम्फ जित्दा सहारालाई लागेको थियो -मैले पनि फिल्ममा केही गर्न सक्छु कि क्या हो ! तर फिल्म निर्माणमा फर्किन सहारालाई समय लाग्यो । किन ? महिलाको क्षमतामाथि सजिलै विश्वास नगर्दा पनि यो क्षेत्रमा पुरुषको दाँजोमा महिलाको गति ढिला भएको सहारा सुनाउँछिन् ।
'खासमा फिल्म बनाउनु नै गाह्रो विषय हो । यस्तो गाह्रो समयमा पनि फिल्म बनाउन पाउनु मेरो प्रिभिलेज्ड हो । अर्को त पुरुषहरूको क्षमतामा यहाँ पैसा खर्चिन्छ । तर महिलाहरूले पहिला आफूलाई प्रमाणित गर्नुपर्छ,'सहारा भन्छिन्,'महिलाहरूको क्षमतामाथि पैसा लगानी हुँदैन । महिलाहरूको क्षमतामाथि विश्वास नगरिदिए, पैसा नहालिदिए तिमीले कसरी आफूलाई प्रमाणित गर्छौ ? त्यसैले समय लाग्छ-तर सबै फिल्म बन्न १० वर्ष नै लाग्छ भन्ने होइन ।'
