सशक्त महिला पात्र र गहिरो अनुसन्धानका साथ ‘लालीबजार’ फिल्मले दशकौंदेखि मौन बादी समुदायका कारुणिक र ऐतिहासिक कथा पर्दामा ल्याउनेछ ।
What you should know
काठमाडौँ — नेपाली फिल्म क्षेत्रभित्र साझेदारी सम्बन्धमा कठोर यथार्थ दोहोरिरहन्छ । कतिपयको अनुभव छ- टिम त कि फिल्मले पैसा नकमाउँदा टुट्छ, कि धेरै कमाउँदा ।
षट्कोण आर्ट्सका तीन साझेदारको हकमा भने अहिलेसम्म यो कुरा लागू भएको छैन । ‘जात्रा’ बनाउँदाका संघर्षदेखि जुटेको यो टिम ‘लालीबजार’सम्म आइपुग्दा झन् खँदिलो देखिन्छ । किन त ?
‘हाम्रो सम्बन्धमा पैसा नै कहाँ केन्द्रमा थियो र,’ प्रदीप भट्टराईलाई साक्षी राखेर रवीन्द्रसिंह बानियाँ भन्छन् । रवीन्द्रसँग सहमत हुँदै प्रदीप थप्छन्, ‘हाम्रा लागि फिल्म पैसा कमाउने माध्यम मात्र होइन, यो त जीवन जिउने एउटा बाटो हो ।’
भावनात्मक रुपमा मात्र होइन, अध्यात्मिक बाटोमा पनि उनीहरू सँगै छन् ।
दुई वर्षअघि ‘जात्रा’ र ‘जात्रैजात्रा’लाई ‘महाजात्रा’मा बिट मारेर उनीहरू व्यापारिक सफलताको न्यानो तापेर मात्र बसेनन् । बरु सोचे, ‘अब फरक कथा पो भनौं ।’ कथाको खोजीमा उनीहरू पश्चिमतिर लागे । यसपालि हाँसो हैन, हाँसोभित्र लुकिरहेको अँध्यारा कथाहरू उत्खनन गर्नु थियो ।
थारू बस्तीमा डुले । उनीहरूका कथा उत्खनन गर्ने क्रममा समुदायका विज्ञहरूसँग पुगे । ‘हामीलाई त्यस्तो मान्छे चाहिएको थियो, जसले यहाँका कथा र भावनालाई डिटेलमा बुझ्न सक्थे,’ प्रदीप सुनाउँछन् । त्यही क्रममा भेट भयो यम थापासँग । यमले त्यहाँका थप अँध्यारा कथासँग साक्षात्कार गराए ।
र एकदिन भने, ‘मसँग पनि एउटा कथा छ ।’
यमले पठाएको कथाले प्रदीप र रवीन्द्रका मथिंगल हल्लिए । त्यो बादी समुदायको उत्पीडनको कथा थियो । प्रदीप सम्झन्छन्, ‘उहाँले पठाएको पीडीएफ प्रिन्ट गरेर पढ्दा मलाई त्यो एउटा 'डरलाग्दो संसार' जस्तो लाग्यो । त्यो कथामा तराईका जमिनदार र साना राजाहरूले एउटा विशेष समुदायमाथि गरेको चरम अन्याय र अत्याचारको नालीबेली थियो ।’
रवीन्द्र थप्छन्, ‘हामीलाई लाग्यो- यो केवल एउटा फिल्म मात्र होइन, यो त एउटा बनाउनैपर्ने ऐतिहासिक दस्ताबेज थियो ।’ उनीहरूले निर्णय गरे, ‘हामी यही कथामा फिल्म बनाउँछौँ ।’
वर्षौँदेखि उत्पीडन र विभेदकारी व्यवस्थामा पिल्सिएका मान्छेहरूको कथा भन्नका लागि सबैभन्दा उपयुक्त कथा लाग्यो उनीहरूलाई । उनीहरूले करिब ८ देखि १० महिना त पटकथा र अनुसन्धानमै लगानी गरे ।
काठमाडौँ बसेर बादी समुदायका बारेमा सुन्नु र बर्दियाको भुइँतहमा पुगेर उनीहरूको आँखामा आँसु देख्नुमा आकाश-जमिनको फरक रहेछ । रवीन्द्र भन्छन्, ‘बच्चा बेलामा बादी समुदायको बारेमा नराम्रो कुरा सुन्ने गरिन्थ्यो, तर जब हामी बर्दियाको भौरी टप्पा, मुडा र झुप्रा खोला जस्ता ठाउँमा पुग्यौँ, तब वास्तविकता निकै कारुणिक पायौं ।’
त्यहाँ उनीहरूले यस्ता आमाहरूलाई भेटे, जसले २०४३/४४ सालतिरका भयानक कथा सुनाए । एउटी दिदीको कहालीलाग्दो कथा सम्झँदै प्रदीप भावुक हुन्छन्, ‘ती दिदी ८ कक्षामा पढ्दै गर्दा निकै मेहनती हुनुहुँदो रहेछ । तर उहाँ बादीको छोरी भएको थाहा पाएपछि विद्यालयका हेडमास्टरलाई दबाब दिएर निकालिएछ । बादीको छोरीसँग पढ्दा हाम्रा छोरीहरू पनि बिग्रिन्छन् भन्ने समाजको निकृष्ट सोचले ती दिदीलाई फेरि त्यही अन्धकार संसारमा धकेलिदियो ।’
त्यहाँका आमाहरूले सुनाएका कथाहरू सुन्दा उनीहरूको मुटु काम्यो । राजाहरू घोडा चढेर आउने, झुपडीमा ढोका नहुने र राति झाडीमा लुकेर बस्नुपर्ने बाध्यताका फेहरिस्त सुन्दा उनीहरूका आँखा भिजे । ‘अझ बिभत्स त के भने, सरकारी भवन (पञ्चायत) भित्रै बादी युवतीहरू त्यतिबेला बलात्कृत हुने रहेछन् । न्याय माग्न प्रहरी कहाँ जाँदा ‘बादीको पनि के बलात्कार हुन्छ र ?’ भनेर प्रहरीले उल्टै हाँसोमा उडाउँथ्यो,’ त्यहाँका आमाहरूबाट सुनेका कथा प्रदीप र रवीन्द्र उद्धृत गर्छन् । यी सबै कुराले यम, रवीन्द्र र प्रदीपलाई एउटा अठोटमा पुर्यायो, ‘ यो कथा जसरी पनि भन्नुपर्छ ।’
अनुसन्धानकै क्रममा उनीहरूले 'नथिया' प्रथाको डरलाग्दो रूप बुझ्ने मौका पाए । जमिनदारहरूले आफ्ना खेतबारी गनेजस्तै कतिवटा 'नथिया' छन् भनेर गन्ती गरेका यथार्थ कथाका दृश्य सम्झँदै रवीन्द्र भन्छन्, ‘यो एउटा यस्तो कुप्रथा थियो, जहाँ स-साना छोरीहरूलाई उनीहरूको इच्छाविपरीत एउटा भोगविलासको साधन बनाइन्थ्यो ।’
प्रदीप थप्छन्, ‘यो एउटा यस्तो चक्र थियो, जहाँबाट उम्किन असम्भव प्रायः थियो । स्ट्रिमर र यातायातका साधन पनि जमिनदारकै नियन्त्रणमा हुन्थे, त्यसैले कसैले विद्रोह गरेर भाग्न खोजे पनि उनीहरू कतै पुग्न सक्दैनथे ।’
लामो समय पटकथामा उठबस गरिरहँदा पनि यमलाई लागेको थिएन, ‘यसमा म निर्देशन गर्छु ।’ निर्देशकको इमेजमा उनै प्रदीप आउँथे। तर पटकथा फाइनल गर्ने क्रममा प्रदीप र रवीन्द्रले भने, ‘यो फिल्म तपाईंले नै निर्देशन गर्ने हो ।’ यम चकित परे ।
तर फिल्म व्यक्तिले होइन, टिमले बनाउने भन्ने विश्वास षट्कोण समूहमा थियो । ‘ती दिनमा यमजीका आफ्नै कथासँग पनि हामी नजिक थियौं । उहाँ स्वयम् बर्दियाको । बादी समुदायको कथालाई हामीले भन्दा उहाँले न्याय गर्न सक्नुहुन्छ भन्नेमा विश्वास थियो,’ प्रदीप भन्छन् ।
उनै यमले निर्देशन गरेको फिल्म हो- ‘लालीबजार’ आगामी वैशाख १८ गतेबाट रिलिज हुँदै छ।
'लालीबजार'मा अभिनेत्री स्वस्तिमा खड्काले निभाएको 'मधुबाला' को पात्र यस्तै सयौँ आमाहरूको प्रतिनिधि पात्र हो, जसले त्यो नरकबाट निस्कन र आफ्नो पहिचानका लागि लडाइँ लड्छ । 'मधुबाला'को भूमिकाका लागि उनीहरूले निकै गम्भीर भएर कलाकार खोजेका थिए। उनीहरूले चर्चित अभिनेत्रीहरूको 'लुक टेस्ट' र अडिसन गरे । अडिसनमा उनीहरूले चरित्रको हाउभाउ, लबज र इमोसनसँग सबैभन्दा नजिक आउँछ भनेर नियालेका थिए । अन्ततः स्वस्तिमा खड्का छनोट भइन्। रवीन्द्र भन्छन्, ‘स्वस्तिमाले ती धेरै बादी आमाहरूको पीडा र शक्तिलाई पर्दामा न्याय गर्न सक्छिन् भन्ने हामीलाई लाग्यो ।’
बर्दियामा सुटिङ गर्दाका अनुभव उनीहरूका लागि अविष्मरणीय रहे । त्यहाँका स्थानीय बासिन्दा, विशेष गरी सोनाहार र थारु समुदायका मान्छेहरूले उनीहरूलाई आफ्नै परिवारको सदस्यजस्तै व्यवहार गरेको प्रदीप सम्झन्छन्, ‘हामीले सुटिङ गरेका १०-१२ घर त हाम्रैजस्ता भए । उनीहरूले हाम्रा लागि खाना पकाइदिने, सहयोगी भाव राख्ने र नि:स्वार्थ माया दिने काम गरे ।’
सुटिङका क्रममा एउटा भावनात्मक मोड पनि आयो । मुख्य कलाकार स्वस्तिमा खड्काकी सासूआमा बिरामी भएको खबर आयो । रवीन्द्र भन्छन्, ‘हाम्रो लागि सिनेमा भन्दा मान्छे ठूलो हो। कसैको घरमा अप्ठ्यारो परेका बेला सुटिङ सक्नैपर्छ भनेर दबाब दिनु मानवीयता थिएन ।’ त्यसैले उनीहरूले सुटिङ रोकेर स्वस्तिमालाई काठमाडौँ पठाए र पछि मात्र दोस्रो सेड्युलमा काम सके ।
'लालीबजार' मनोरञ्जनका लागि मात्र नबनाइएको तर्क गर्छन् रवीन्द्र र प्रदीप । यसको मुख्य उद्देश्य बादी समुदायलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउनु र उनीहरूलाई न्याय दिलाउनु रहेको ठान्छन् प्रदीप ।
रवीन्द्र थप्छन्, ‘यो समुदायले विगतमा सरकारसँग ४८ दिनसम्म लडेर एउटा सम्झौता गरेको थियो, तर त्यो अहिलेसम्म उधारो छ ।’ उनीहरू यो फिल्मले व्यापार भन्दा पनि राष्ट्रिय बहस सिर्जना गरेमा आफूहरू सफल भएको ठान्छन् । ‘हामीले उनीहरूलाई 'हामी बादी हौं' भनेर गर्वका साथ भन्न सक्ने बनाउनुपर्छ । विगतको बाध्यतालाई लिएर अहिलेको पुस्तालाई अपमान गर्ने अधिकार कसैलाई छैन,’ प्रदीप भन्छन् ।
