अमरको अमर कृति ‘सेतो धरती’ अहिले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको छ । आफैंले उनेको कथालाई दर्शक बनेर हेरिरहँदा कस्तो लाग्दो रहेछ त ? अमर भन्छन्, ‘थिएटरमा नाटक हेरिरहँदा आफूभित्र एकैसाथ दुईवटा नाटक चलिरहेको महसुस गरें ।
What you should know
काठमाडौं — आख्यानका पात्रहरू मञ्चमा उभिएका थिए । उनीहरूका आँखा र अनुभूतिले गहिरा कथा उनिरहेका थिए । अध्याँरोबाट उज्यालोतिर गइरहेको प्रकाशले ती पात्रहरू देखाइरहेका थिए, जसलाई आख्यानकार अमर न्यौपानेले अक्षरमा निर्माण गरेका थिए ।
अमरको अमर कृति ‘सेतो धरती’ अहिले कान्तिपुर थिएटरमा मञ्चनरत छ । आफैंले उनेको कथालाई दर्शक बनेर हेरिरहँदा उनलाई कस्तो लाग्दो रहेछ त ? अमर भन्छन्, ‘थिएटरमा नाटक हेरिरहँदा आफूभित्र एकैसाथ दुईवटा नाटक चलिरहेको महसुस गरें । एउटा नाटक कान्तिपुर थिएटरको मञ्चमा भौतिक रूपमा भइरहेको थियो भने अर्को उपन्यास लेख्दै गर्दा मेरो मनभित्र घुमिरहेको थियो । लाग्छ, मेरो मनमा लेखिएको त्यो नाटक सायद कहिल्यै मञ्चन हुने छैन ।’
नाटकको अन्तिम दृश्यमा जब एउटै पात्र 'तारा'लाई तीन फरक उमेरका कलाकारहरूले (७ वर्षकी, १६ वर्षकी र वृद्धा) एउटै घरमा प्रस्तुत गरे, त्यो दृश्यले अमरलाई निकै छोयो । ‘झ्यालमा सानी तारा र मूल ढोकामा वृद्धा तारालाई देख्दा मैले कल्पना गरेको तारा ठ्याक्कै यही त हो नि भन्ने आभास भयो,’ उनी सुनाउँछन् ।
यो नाटक कसरी उनियो त ? कस्तो देखियो त ? उसो त ‘सेतो धरती’ आफैँमा ठूलो साहित्यिक विरासत बोकेको कृति हो । यस्तो गह्रौँ र गहिरो कथालाई रंगमञ्चको सीमित घेराभित्र जीवन्त उतार्नु सहज थिएन । तर, निर्देशक सुन्दर धितालको नेतृत्वमा भएको यो महत्त्वाकांक्षी प्रयासले उपन्यासका पात्रहरूलाई भौतिक उपस्थिति मात्र प्रदान गरेन दर्शकमाँझ गहिरो प्रभाव छोड्न समेत सफल भयो ।
दुई कालखण्डको सन्तुलन
नाटकको मञ्च परिकल्पनामा छुट्टै मिठास देखिन्छ । मञ्चको बायाँतर्फ देवघाटमा बसिरहेकी वृद्धावस्थाकी ताराको घर छ भने दायाँतर्फ उनको बाल्यकालको घर । नाटक देवघाटको तटमा ताराको स्वागत कथनबाट सुरु हुन्छ र बिस्तारै उनको अतितका झझल्कोहरूतर्फ मोडिन्छ, जसले उनको वर्तमान अस्तित्वलाई आकार दिएका थिए ।
सात वर्षकी तारा (बेनिशा हमालद्वारा अभिनित) निकै चञ्चल र बदमास देखिन्छिन् । आफ्ना साथीहरूसँग ‘विवाह खेल’ खेल्दा उनी बेहुली बन्छिन् र उनका साथीहरू सासू र नन्दको भूमिकामा झुल्किन्छन् । तर, जब उनी यो खेलको हाँसो र रमाइलोबाट घर फर्कन्छिन्, नाटक एकाएक गम्भीर र वास्तविक मोडमा पुग्छ । घरमा आफन्तहरूको एउटा ठूलो भिड र जन्तीको पर्खाइले उनलाई घेर्छ । सामान्य पूजा भनेर झुक्याई उनलाई मण्डपमा बसालिन्छ । अल्मलिएकी तारा त्यहीँ निदाउँछिन् । जब ब्युँझिन्छिन्, उनले आफ्नो श्रीमानलाई पहिलोपटक मृत्युशय्यामा देख्छिन् ।
विगत रोक्ने प्रयास र संवेदना
नाटकको शक्तिशाली पक्ष भनेको विगत र वर्तमानको टकराब हो । देवघाटमा बस्ने वृद्धा तारा स्मृतिको यात्रामा आफैँलाई चिच्याएर ब्युँझाउन खोज्छिन् र आफ्नो बुबालाई यो विवाह रोक्न आग्रह गर्छिन् । आफूले भोगेको पीडा बुझिसकेकी एउटी नारीले विगतको नियति बदल्न गरेको यो असफल प्रयासले दर्शकलाई भावुक बनाउँछ । कतिपयले यसमा आफ्नै कथा भेट्टाउँछन् त कतिपयले ताराको पीडाप्रति सहानुभूति प्रकट गर्छन् । ‘मैले यो नाटक बनाउनुअघि उपन्यासलाई फेरि एकपटक दोहोर्याएर पढेँ । कतै मैले यो कथासँग न्याय गर्न सक्दिन कि भन्ने एउटा डर सधैँ मनमा थियो,’ निर्देशक धिताल भन्छन् ।
रङ र मनोविज्ञान
ताराको जीवनमा रङहरूको ठूलो महत्त्व छ । श्रीमानको मृत्युपछि उनको सम्पूर्ण जीवन सेतो रङको घेराभित्र सीमित हुन्छ- नचिनेको श्रीमानको शोकमा । निर्देशकले ताराको दृष्टिकोणबाट संसारलाई देखाउने प्रयास गरेका छन्, जहाँ रङहरू हराउँदै गएर अन्ततः सबै कुरा सेतोमा विलिन हुन्छन् ।
जब तारा किशोरावस्थामा पुग्छिन् र पहिलोपटक महिनावारी हुन्छिन्, रातो रङ उनका लागि एकदमै पराइ र बिझाउने खालको हुन्छ । वर्षौँदेखि सेतो रङ र कडा नियमहरूको घेरामा बाँधिएको उनको मनोविज्ञानका लागि रातो रङ एउटा उल्लास नभई गडबडी जस्तो लाग्छ । समाज र संस्कारको नाममा उनलाई घाम हेर्न र घरका पुरुष सदस्यहरूलाई भेट्न निषेध गरिन्छ । आफ्नै परिवारका सदस्यहरूबाट हुने यो दमनले तारालाई झन् एक्लो र निरीह बनाउँछ ।
प्राविधिक पक्ष र ध्वनि
नाटकको भावनात्मक प्रभावलाई संवाद, प्रकाश, पोशाक र मञ्च सज्जाले अझ उचाइ दिएको छ । विशेषगरी ‘फोक्तो’ समूहको लाइभ संगीतले नाटकमा प्राण भरेको छ । पछिमा, धिमे, मादल, दमाहा, गिटार र विन्डचाइम जस्ता बाजाको प्रयोगले कथाको लय र क्लाइमेक्सलाई अझ वजनदार बनाएको छ ।
नाटकको अन्तिम दृश्यमा तीनजना ताराहरू (बाल्यकाल, किशोरावस्था र वृद्ध अवस्था) एउटै धर्तीमा उभिन्छन् । सानी र तन्नेरी तारा झ्यालको डन्डीभित्र कैद छिन् भने वृद्धा तारा स्वतन्त्र देखिन्छिन् । प्रश्न उठ्छ- जीवनभरको दमन र कुण्ठापछि प्राप्त भएको यो मुक्ति वा स्वतन्त्रताको अर्थ के रहला र ?
