वितरक प्रचन्डमान श्रेष्ठको बुझाइमा करिब ७० प्रतिशत फिल्म कन्टेन्ट नै कमजोर भएका कारण असफल हुन्छन् । बाँकी १५ देखि २० प्रतिशत भने राम्रो हुँदाहुँदै पनि समय, समाज र परिस्थितिको तालमेल नमिल्दा चल्न सक्दैनन् ।
What you should know
काठमाडौँ — पछिल्लो समय नेपाली फिल्म करोडभन्दा कममा सायदै बन्छन् । नियमित फिल्म बनाइरहेका कतिपय निर्माताको अनुभवले भन्छ, ‘दुई करोडभन्दा घटी त चिताउनै पर्दैन ।’
लगानी नै करोडमाथिको ग्राफमा दिनानुदिन उक्लिरहेका नेपाली फिल्महरूको कमाइको अवस्था भने चिन्ताजनक छ । चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार यही चैतमा रिलिज भएको फिल्म ‘हामी तीन भाइ’ले ६ लाख ५३ हजार मात्र कमायो । नियमित फिल्म बनाइरहेका निर्देशक दिनेश राउतकै गत माघमा रिलिज भएको ‘कुमारी’ले पनि ६६ लाख २५ हजार ४ सय ५१ भन्दा माथिको व्यापार गर्न सकेन । जबकि, रिलिजसम्म पुग्दा निर्माण टिमका अनुसार फिल्मको लगानी ३ करोडभन्दा माथि थियो । चलचित्र विकास बोर्डले जारी गरेको १ बैशाखदेखि १८ चैत २०८२ सम्मको तथ्यांकअनुसार यो वर्ष रिलिज भएका ५६ फिल्ममध्ये ३७ फिल्मको कमाइ त करोडभन्दा कम थिए ।
कुनै समय नेपाली फिल्मका चर्चित अनुहार अभिनेता दिलिप रायमाझीको 'कमब्याक' फिल्म गत जेठमा रिलिज भएको ‘हेल्लो काशीराम’ले त ३४ हजार २०० मात्र कमायो । १९ फिल्मले मात्र १ करोडमाथिको व्यापार गरेका थिए । त्यसमध्ये पनि १० करोडमाथि कमाउने फिल्म ४ मात्रै थिए । जसले लगानी सुरक्षित गरेर नाफा कमाउन सफल भए ।
निर्देशक आशान्त शर्माले गत भदौमा रिलिज भएको फिल्म ‘ताराहरू’ बनाउने क्रममा कलाकारहरूलाई सेयरमा राखे । निर्देशक र लेखकको पैसा नजोडी कलाकारलाई सेयरमै राख्दा पनि उनको फिल्ममा लगानी १ करोड थियो । कम बजेटमा फिल्म बनाउँछु भनेर लागि पर्दा पनि सोचेभन्दा दोब्बर तेब्बर खर्च उनले व्यहोर्नुपरेको थियो । ‘पूर्ण बहादुरको सारङ्गी' फिल्मको अत्यधिक सफलतापछि नेपाली फिल्म निर्माणको लागतमा उल्लेख्य वृद्धि भएको रहेछ । प्राविधिकहरूको दैनिक पारिश्रमिक र उपकरणको भाडा मात्र नभई सम्पादन तथा साउन्ड डिजाइन जस्ता पोस्ट-प्रोडक्सनका कामहरूको शुल्क बढेको रहेछ । पहिले निःशुल्क वा हार्दिकताका साथ उपलब्ध हुने छायांकन स्थलहरूमा अहिले चर्को शुल्क तिर्नुपर्ने भएछ,’ आशान्त भन्छन् ।
तर, फिल्मले व्यापार भने ३ लाख ८७ हजार मात्र गर्यो । एउटा निर्माताका लागि यो परिणामले दिने पीडा कम थिएन । ‘यो मेरो पैसा मात्र हैन । दाल भात पनि यसैबाट जोहो हुने हो । आर्थिक रुपमा त ढाडै भाँचिएजस्तो भयो,’ आशान्त सुनाउँछन् । उनी अहिले लाखौं ऋणमा छन् । तैपनि, हिम्मत हारेका छैनन् । ‘मेरो ठाउँमा अरू कोही भएको भए सायद फिल्म क्षेत्र नै छाडेर भागिसक्थे होलान्, तर म यसैमा संघर्ष गरिरहेको छु,’ उनी थप्छन् ।
आशान्त आफ्नो फिल्मले मात्र हैन, अधिकांश फिल्म घाटामा गइरहेको घटना सम्झेर मन बुझाउँछन् ।
२०८१ सालको ‘ब्लकबस्टर’ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्र ४८ करोडको व्यापार गर्यो । तर, ०८२ मा रिलिज भएको उनकै नयाँ फिल्म ‘अभिमन्यु’ले भने २१ लाखको मात्र व्यापार गर्यो । जबकि, फिल्म करिब १ करोड १५ लाख लागतमा तयार भएको थियो । फिल्मले ऐतिहासिक रेकर्ड बनाउँदाको अनुभव साटेका उनै विनोदलाई अर्को फिल्मका कारण भएको १ करोड घाटाको अनुभूति पनि आलो नै छ । मंसिरमा रिलिज भएको ‘अभिमन्यु'को समयमा आन्दोलन, बन्द-हड्ताल र खराब मौसम (बाढी पहिरो) जस्ता कारणले रिलिज मिति पटक-पटक सार्नुपर्यो । जसले गर्दा मार्केटिङ खर्च मात्र बढ्यो । ‘त्यसबाहेक नेपाली चलचित्र उद्योगभित्रको 'फोहोरी राजनीति'ले मलाई निकै पीडा दियो । वितरक र हल सञ्चालकहरूले ठूला फिल्मलाई मात्र प्राथमिकता दिने र साना फिल्मलाई शो नै नदिने वा ब्लक गर्ने प्रवृत्तिले पनि असर गर्यो,’ उनी भन्छन् । तैपनि, आफू विचलित नभएको ठान्छन् उनी । भप्छन्, ‘म विचलित छैन, किनभने मलाई विश्वास छ कि राम्रो कन्टेन्ट हलमा नचले पनि पछि युट्युब र ओटीटी जस्ता डिजिटल प्लेटफर्ममा दर्शकले अवश्य खोज्नेछन् ।’ अहिले उनी नयाँ फिल्म ‘रोल नम्बर वान’ रिलिजको तयारीमा छन् । उनका अनुसार यो फिल्म भने २ करोड लगानीमा तयार भएको छ ।
निफमा सर्वोत्कृष्ट राष्ट्रिय फिल्म पुरस्कार पाएको समुद्र भट्ट निर्देशित 'गुन्यू चोलो: द ड्रेस' गत भदौमा रिलिज भएको थियो । तर, फिल्मले ६७ लाख ४८ हजार मात्र व्यापार गर्यो । जबकि, भट्टले फिल्मको पोस्ट-प्रोडक्सन अगाडिसम्म नै करिब १ करोड ७ लाख रुपैयाँ खर्च गरिसकेकी थिइन् । ‘तर, यसको 'प्रोडक्सन भ्यालु'लाई नेपाली लगानीको अंकले मात्र न्याय गर्न सक्दैन । मार्लो जस्ता ओस्कार विजेता अन्तर्राष्ट्रिय प्राविधिकहरूसँगको सहकार्यलाई हेर्ने हो भने बाहिरका मानिसहरूले यसलाई १ मिलियन डलर (करिब १३ करोड नेपाली रुपैयाँ)को प्रोजेक्ट मान्छन्,’ उनी भन्छिन् । 
आफ्नो फिल्मले बजारमा सोचेजस्तो व्यावसायिक सफलता नपाउनुमा केही प्राविधिक र सामाजिक कारण मान्छिन् उनी । ‘पहिलो त, ओस्कारको दौडका लागि तोकिएको निश्चित समयभित्रै रिलिज गर्नुपर्ने दबाबले गर्दा हामीले निकै हतारमा फिल्म हलमा ल्याउनुपर्यो, जतिबेला 'छक्का पन्जा' जस्ता ठूला कमर्सियल फिल्महरूको दबदबा थियो । हाम्रो समुदायमा अझै पनि एउटा भ्रम छ- धेरैले 'यो त लैङ्गिक अल्पसंख्यकहरूको मात्र फिल्म हो, सामान्य मानिसले हेर्ने होइन' भन्ने सोचिदिनुभयो,’ उनी भन्छिन्, ‘विषयवस्तुको गहिराइ बुझ्नुभन्दा पनि यसलाई एउटा निश्चित घेराभित्र सीमित राखेर हेरिदिँदा फिल्मले आम दर्शकको व्यापक साथ पाउन सकेन ।’
यता यो वर्ष सबैभन्दा उत्कृष्ट व्यापार गर्ने ‘परान’का निर्देशक दीपक आचार्यसँग फिल्म चल्दाको खुशी पनि छ । आचार्यका अनुसार ‘परान’ तयार भएर हलसम्म पुग्दासम्म लागत ४ करोड पुगेको थियो । काठमाडौंबाहिर पूर्वको धरानमा छायाँकन गरिएकाले फिल्मको लागत महङ्गो भएको थियो । फिल्मले १७ करोडमाथिको व्यापार गरेको थियो । फिल्मले राम्रो व्यापार गर्नुमा कन्टेन्टसँगै पब्लिसिटीको पनि उत्तिकै हात रहेको बताउँछन् आचार्य । ‘त्यसमाथि दर्शकले चलचित्र मन पराएपछि हुने 'वर्ड अफ माउथ'ले नै वास्तविक रूपमा दर्शकलाई हलसम्म तान्यो,’ उनी भन्छन् ।
कार्तिकमा रिलिज भएको ‘परान’को सुरुवाती दिनमा भने कमाइ निकै कम थियो । तर, रिलिजको समयमा निर्माण टिमले थप पब्लिसिटीमा लगानी गरेसँगै व्यापारको ग्राफ उकालो लाग्यो । आचार्य अहिले नयाँ फिल्मको तयारीमा छन् । ‘परान’बाट उनले सिकेको पाठ हो– फ्लोरमा जान हतार गर्नु हुँदैन । ‘जति धेरै समय प्रि-प्रोडक्सन र स्क्रिप्टमा खर्च गरिन्छ, त्यति नै चलचित्रको बजेट घट्दै जान्छ,’ उनी भन्छन् ।
चलेका फिल्महरू औसतमा मात्र राम्रा हुन्छन् तर कतिपय मेकरहरूले झुर फिल्मलाई पनि अनावश्यक प्रचार गरेर दर्शकलाई झुक्काउने गर्छन् । यसले गर्दा करिब ९५ प्रतिशत दर्शकमा नेपाली फिल्मप्रति अविश्वास देखिन्छएकाधबाहेक बाँकी फिल्महरूले लगानी पनि सुरक्षित नगर्ने समस्या भने अहिले मात्र होइन हरेक वर्ष दोहोरिरहने गर्छ । किन त ? फिल्म वितरक गोविन्द शाहीको अनुभवमा प्रोमोसनमा कन्जुस्याइँ गर्नु पनि हो । ‘पहिलो सर्त त फिल्मको कन्टेन्ट नै राम्रो हुनुपर्यो । दोस्रो भनेको त्यसको प्रोमोसन राम्रो हुन सक्यो भने मात्र फिल्म दर्शकसम्म पुग्छ,’ उनी भन्छन् ।
वितरक प्रचन्डमान श्रेष्ठका बुझाइमा करिब ७० प्रतिशत फिल्महरू कन्टेन्ट नै कमजोर भएका कारण असफल हुन्छन् । बाँकी १५ देखि २० प्रतिशत फिल्महरू भने राम्रो हुँदाहुँदै पनि समय, समाज र परिस्थितिको तालमेल नमिल्दा चल्न सक्दैनन् । कहिलेकाहीँ रिलिजको समयमा ठूला विदेशी फिल्म वा चर्चित नेपाली सिक्वेलसँग जुध्न पुग्नु, मार्केटिङ रणनीति नमिलेर दर्शकलाई आकर्षित गर्न नसक्नु वा बजारमा मागभन्दा बढी फिल्मको आपूर्ति हुनु जस्ता प्राविधिक कारणले पनि राम्रा फिल्महरू व्यावसायिक रूपमा असफल हुने अनुभव छ उनको । फिल्म नचल्नुको कारण खोतल्दै जाने हो भने उनी फिल्मकर्मीहरूको हतारोसम्म पुग्छन् । ‘फिल्ममेकरहरूमा बजेटको ठोस योजनाबिनै 'हतार र हतास' मा फिल्म निर्माण सुरु गर्ने गलत प्रवृत्ति देखिन्छ । थोरै पैसा हुनेबित्तिकै वा पछि कतैबाट आइहाल्छ भन्ने कच्चा अनुमानको भरमा फ्लोरमा जाँदा बीचैमा फिल्म रोकिने र फिल्ममेकरले ठूलो दुःख पाउने गरेका छन्,’ उनी भन्छन्, 'यसले गर्दा कति फिल्म त रिलिजसम्मै पुग्दैनन् । पुगे पनि दर्शक तान्न सक्दैनन् ।’
फिल्म निर्देशक आशान्तको अनुभव अलग छ । चलेका भन्दा नचलेका फिल्म धेरै राम्रा भएको अनुभव पनि छ । 'चलेका फिल्महरू औसतमा मात्र राम्रा हुन्छन् तर कतिपय मेकरहरूले झुर फिल्मलाई पनि अनावश्यक प्रचार गरेर दर्शकलाई झुक्काउने गर्छन् । यसले गर्दा करिब ९५ प्रतिशत दर्शकमा नेपाली फिल्मप्रति अविश्वास देखिन्छ,’ उनी भन्छन् ।
अर्कोचाहिँ प्रचारप्रसारको मामिलामा आफूहरू चुक्ने गरेको ठम्याइ छ उनको । थप्छन्, ‘अहिलेको समयमा मिडिया धेरै छरिएको छ र डिजिटल मिडियाको अल्गोरिदमका कारण हरेक मान्छेको डिभाइससम्म पुग्न निकै कठिन छ । हामीले राम्रो फिल्म बनाएर पनि मान्छेका डिभाइससम्म पुग्न सकिरहेका छैनौँ ।’
