बहसमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र फिल्मकर्मी तथा उद्धमी देवेन्द्र बजगाईंले आफ्नो विचार राखे ।
What you should know
काठमाडौँ — पछिल्लो समय नेपाली फिल्ममा कर्णालीका विषय आउन थालेका छन् । मधेसदेखि कर्णालीका विषय नेपाली फिल्ममा कमै समेटिन्छन् । यस्तो अवस्थामा नेपाली फिल्मले कर्णालीका विषय समेट्नु सकरात्मक हो ।
त्यसअर्थमा फिल्ममा कर्णाली शीर्षकमाथिको बहस आवश्यक ठानेर ‘चलचित्रमा: काली–कर्णाली’ विषयमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा दुई चरणमा काली-कर्णालीमा फिल्म निर्माणको समस्या र सम्भावनाबारे छलफल भएको हो ।
चलचित्र विकास बोर्डसँगको सहकार्यम एभरेस्ट ग्यालरीले आयोजना गरेको यो अन्तरक्रियामा फिल्ममा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुमाथि छलफल भएको छ ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा फिल्मकर्मी चक्रबहादुर चन्दलगायत छलफलमा सरिक थिए ।
‘चलचित्रमा काली कर्णाली: कति समेटियो, कति छुट्यो?’ शीर्षकमाथिको बहसमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र फिल्मकर्मी तथा उद्धमी देवेन्द्र बजगाईंले आफ्नो विचार राखे ।
उनीहरुले कर्णाली क्षेत्रमा फिल्म छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा लगायतका विषयमा ध्यान दिनुपर्ने धारणा राखे । ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारले काली/कर्णालीका कथाहरु धेरै भएपनि लगानी अभावका कारण फिल्म बनाउन चुनौति भएको बताए ।
दोस्रो चरणको छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी, सांसद ज्ञानेन्द्र शाही, ऐन महर, वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। यसमा फिल्मसम्बन्धि नीतिगत विषय, प्रस्तावित विधेयक, काली–कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता र छायांकनका सम्भावनाबारे छलफल भयो ।
बोर्ड अध्यक्ष डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्देशक माधवराज खरेल, एभरेस्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत, सेसेमी लिम्बूलगायत उपस्थित थिए ।
