निफमा 'गुन्युचोलो: द ड्रेस'को वर्चश्व, अन्तर्राष्ट्रियतर्फ 'राजागंज' सर्वोत्कृष्ट फिल्म 

यो महोत्सव चैत १९ बाट सुरु भएको हो ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

'Gunyucholo: The Dress' dominates at NIF, 'Rajaganj' wins best film at international level

What you should know

काठमाडौँ — दीपक रौनियार निर्देशित ‘राजागंज: पूजा सर’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा  सर्वोत्कृष्ट  अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड जितेको छ । फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर पुरस्कार जितेको छ । रौनियारको अनुपस्थितिमा यो अवार्ड निर्देशक गणेशदेव पाण्डेले उचाले । 

सोमबार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा वितरण गरिएको अवार्डमा ‘गुन्युचोलो : द ड्रेस’को वर्चश्व रह्‍यो । समुन्द्र भट्ट निर्देशित यो फिल्मले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार पायो  । निर्माण टिमले सम्मानमा एक हजार अमेरिकी डलर जित्यो । अवार्ड उचाल्न निर्देशक भट्टसहित निर्माण टोली नै मञ्चमा उक्लेको थियो । यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड, निर्देशक भट्टले जितिन् । यही फिल्मबाट नाजिर हुसेन सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् । अभिनेत्रीतर्फ भने ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले अवार्ड उचालिन् । 

‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड जित्दा सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले जिते । 

दक्षिण एसियाली विधातर्फको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भयो । फुर्वा छिरिङ लामा निर्देशित यस फिल्मले ट्रफी र पाँच सय अमेरिकी डलर प्राप्त गर्‍यो । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाउँदा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको अवार्ड ’सिप’ले पायो । त्यस्तै, सर्वोत्कृष्ट एआई थिम्ड लघु फिल्मको अवार्ड ‘स्पिरिट अफ द माउन्टेन’ले पायो । फिल्मले ट्रफीसँगै ५ सय अमेरिकी डलर प्राप्त गर्‍यो । यो पाङ जिया निर्देशित यो फिल्म चिनिया लघु फिल्म हो । 

त्यस्तै, सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ले जित्यो । यो फिल्मले अवार्डमा ५ सय डलर र ट्रफी प्राप्त गर्‍यो । सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रीतर्फ दीपक छोदेन लामाको ‘होम इज नट अ प्लेस’ले अवार्ड पाउँदा सर्वोत्कृष्ट राष्ट्रिय लघु फिल्म सुरज पौडेलको ‘रिहाना’ घोषित भयो । यी दुई फिल्मले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । 

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले पायो । ङिमा गेलु शेर्पाको ‘एज डे गोज बाइ’ले भने राष्ट्रिय डकुमेन्ट्रीतर्फ स्पेशल मेन्सन पायो । अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ भारतको ‘हाउसकिप्पर’ले पायो । स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ फिल्म ‘द शोर अफ लाइफ’ले जित्यो । 

अवार्ड कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली उपस्थित थिए । अन्य फिल्मकर्मीहरु दीपकराज गिरी, प्रदीप भट्टराई, अविरल थापा, अर्जुन कुमारलगायत उपस्थित थिए ।

निर्देशक तुलसी घिमिरेसँगै एउटै मञ्च उक्लँदा हार्तम्छालीले बलिदानमा अभिनय गर्दाका पूरा दिन सम्झँदै अहिले नेपाली सिर्जना ‘लोकल’हुँदै ‘ग्लोबल’बनेको धारणा राखे । ‘साँच्चै हामी लोकल, सेन्ट्रलहुँदै ग्लोबल हुँदैछौं । यस्तो महोत्सवले ग्लोबललाई पनि लोकलकहाँ ल्याइपुर्‍याइदिएको छ,’कार्यक्रममा हार्तम्छालीले भने ।

कान्तिपुर

Link copied successfully