एनटीआरले 'श्री कृष्ण सत्य' जस्ता फिल्ममा राम, रावण र कृष्ण तीनै प्रमुख भूमिका निर्वाह गर्दै अभिनयमा नयाँ उचाइ रच्न सफल भएका थिए ।
काठमाडौँ — निर्देशक नितेश तिवारीको चलचित्र ‘रामायणम्’ को टिजर बिहीबार सार्वजनिक भयो ।
टिजरमार्फत पहिलो पटक पौराणिक पात्र रामको भूमिकामा अभिनेता रणबीर कपुरको झलक देखिएको छ । फिल्ममा सीताको भूमिकामा साई पल्लवी, हनुमानको रूपमा सनी देओल, रावणको अवतारमा दक्षिण भारतीय स्टार यश र लक्ष्मणको भूमिकामा रवि दुबे छन् ।
यतिबेला ‘रामायणम्’ को चर्चा भइरहँदा भारतीय सिनेमा इतिहासका ती दिग्गज अभिनेताको पनि स्मरण गरिएको छ, जसले पर्दामा राम र रावण दुवैको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए ।
तेलुगु सिनेमाका लिजेन्ड मानिने दिवंगत अभिनेता एनटी रामा राव (एनटीआर) ले एक पटक मात्र नभई धेरै पटक यी दुवै विपरीत चरित्रलाई जीवन्त बनाएका थिए । अभिनेताका साथै निर्देशक, निर्माता, लेखक र सम्पादकको रूपमा समेत कहलिएका उनले कम्तिमा १७ पटक भगवान् कृष्णको भूमिका निभाएर कीर्तिमान नै राखेका थिए ।
एनटीआरले सन् १९५८ को ‘भूकैलास’, १९६१ को ‘सीता राम कल्याणम’ र १९९१ को ‘ब्रह्मर्षि विश्वामित्र’ जस्ता धेरै फिल्महरूमा रावणको भूमिका निभाएका थिए । अझ विशेष कुरा त के छ भने, ‘श्री कृष्ण सत्य’ र ‘श्री राम पट्टाभिषेकम’ जस्ता चलचित्रमा उनले राम र रावण दुवैको भूमिका आफैँले निभाएर इतिहास रचेका थिए । ‘श्री कृष्ण सत्य’ मा त उनले राम, रावण र कृष्ण गरी तीनवटै प्रमुख भूमिका निर्वाह गरेका थिए, जुन उपलब्धि आजसम्म अन्य कुनै पनि अभिनेताले दोहोर्याउन सकेका छैनन् ।
एनटीआरको यो विरासतलाई उनका नाति तथा वर्तमानका सुपरस्टार जुनियर एनटीआरले पनि पछ्याएका छन् ।
जुनियर एनटीआरले सन् १९९१ मा ‘ब्रह्मर्षि विश्वामित्र’ मार्फत बाल कलाकारको रूपमा भरतको भूमिका निभाउँदै अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि सन् १९९७ मा निर्माण भएको ‘रामायणम्’ (बाल रामायण) मा उनले भगवान् रामको मुख्य भूमिका निर्वाह गरे ।
करिब ३ हजार बाल कलाकारहरू मात्र सहभागी रहेको उक्त फिल्मले भारतको प्रतिष्ठित राष्ट्रिय अवार्डका साथै दुईवटा नन्दी अवार्ड समेत जितेको थियो ।
