‘पाँच पाण्डव’ले बलेलाई हटायो

‘पाँच पाण्डव’लाई बसन्त निरौलाले निर्देशन गर्दैछन् ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

'Five Pandavas' removed Bale

काठमाडौँ — एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको आरोप लगाएपछि उनलाई फिल्म ‘पाँच पाण्डव’बाट हटाइएको छ । 

निर्माण कम्पनी कालीरानी फिल्म्सले शुक्रबार विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाएको जानकारी गराएको छ । बलेको ठाउँमा अर्का कलाकार राखेर पुन: छायांकन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 

फिल्मको छायांकन २ चैतदेखि झापाका विभिन्न ठाउँमा भइरहेको छ । कलाकार लम्सालको ९० प्रतिशत दृख्य खिँचिसकेको अवस्थामा आरोप लागेसँगै निर्माण पक्षले यस्तो निर्णय लिएको हो । ‘जघन्य अपराध आरोप लागिसकेका जो कोही व्यक्ति पनि  फिल्मको सदस्य हुन सक्दैन । पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘पाँच पाण्डव’लाई बसन्त निरौलाले निर्देशन गरेका छन् । सुशील पौडेलको लेखनमा छायांकनरत यो फिल्ममा कलाकारहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठीलगायत छन् ।

कान्तिपुर

Link copied successfully