भारतीय निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएका हुन् । यो उनको तेस्रो नेपाल भ्रमण हो ।
What you should know
काठमाडौँ — जमाना यस्तो आयो । फिल्म हिट–सिक्वेल पक्का ! भाग १ प्रदर्शन अगावै २, ३ बन्ने तयारी भइसक्छ । अहिले त सिरिजमा फिल्म खिच्ने जमाना आयो । नेपाली फिल्म ‘कब्बड्डी’ होस् या हलमा प्रदर्शनरत बलिउड ‘धुरन्धर’ । फिल्म सुपरहिट भइहाले, सिक्वेल मात्रै होइन प्रिक्वल बनाउने चलन चलेको छ । तर, भारतीय निर्देशक रमेश सिप्पीले कहिल्यै ‘शोले’को ‘रिमेक’ बनाउने सोचेनन् । ‘शोले’ले ५०औं वर्षको खुशीयाली मनाउँदैछ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी हुन भारतबाट काठमाडौं आइपुगेका सिप्पीलाई धेरैले सोधे -शोले २ बनाउने होइन ?
जवाफ भइँमा खस्न नपाउँदै सिप्पी भन्छन्, 'आएन, रिमेक गर्ने त कहिल्यै सोचिएन’ । तर, यो ५० वर्षमा फिल्म क्षेत्रमा आएको परिवर्तनलाई भने सिप्पीले स्वीकारेका छन् । अहिले, फिल्मकर्मीलाई यसअघिका फिल्मकर्मीले कस्तो फिल्म बनाए ? सजिलै थाहा हुन्छ । कारण, सूचना र सञ्चारको गति यति द्रुत छ कि, तुरुन्तै यसले सबैलाई जानकार बनाइदिन्छ । हलमा गएर फिल्म हेर्ने कि घरमै पर्खने ? भन्ने अवस्था आइपुगेको छ ।
त्यसैले अहिलेका फिल्मकर्मीबीच ओटीटीमा फिल्म पर्खने दर्शकलाई हलसम्म तान्ने चुनौती देख्छन्, सिप्पी । ‘अहिले घरमै बसेर कुन फिल्म हेर्ने भन्ने सुविधा दर्शकले पाएका छन् । ती दर्शक, यो फिल्म त ओटीटीमा आएपछि हेर्छु भनेर बसिँरहेका हुन्छन्,' कान्तिपुरसँग सिप्पीले भने, 'त्यसैले ती दर्शकलाई हलसम्म लैजाने चुनौती अहिले देखिन्छ ।'
तर, समयसँगै प्रविधिले फड्को मारेको र त्यसको प्रभावले फिल्म झनै मजबुत बन्ने गरेको अनुभव सिप्पीले संगालेका छन् । ‘अहिले फिल्ममा ध्वनीको काम गजब्बले हुन्छ । त्यसले त हलमा फिल्म हेर्ने अनुभव नै भिन्नै बनाइदिन्छ । त्यसैले त्यो महसुस गर्न पनि दर्शक हलसम्म जान्छन्,’ सिप्पीले हलको उपयोगिताबारे सुनाए ।
सिप्पीलाई लाग्छ फिल्म निर्माण सिक्दै जाने कर्म हो । निर्देशनमा भने उनी हिजो र आजमा केही फरक भेट्टाउँदैनन् । निर्देशकले सधैँ पर्दा पछाडि बसेर पर्दाभित्रको कथा भन्ने प्रयास गर्छ । कहिलेकाही स्क्रिप्टमा लेखिएअनुसारले छायांकनमा काम निस्कदैन । तर, त्यसलाई पनि पोस्ट प्रोडक्सनमा आएर मिलाउन सकिन्छ । ‘अहिले त स्पेसल इफेक्ट्सदेखि थुप्रै कुरा जोडिएका छन् फिल्म निर्माणमा । यसमा प्रविधिले पनि तपाईंलाई साथ दिइरहेको हुन्छ । तर, यो सबै कुरा त पहिल्यै स्क्रिप्टमा लेखिएको हुन्छ,’ सिप्पी सुनाउँछन्, 'स्क्रिप्टअनुसार नै छायांकन गर्न तपाईं जानु हुन्छ । तर, छायांकनका क्रममा कहिलेकाही अर्कै चुनौती हुन्छ, सोचेको जस्तो हुँदैन । त्यसैले पनि राम्रै नतिजा ल्याइदिन्छ ।'
सबै फिल्मले शोलेको त्यो सफलता पाउन सक्दैन । मैले पनि त्यस किसिमको सफल फिल्म बनाउन चाहें भने अब बन्ने छैन- सिप्पीसिप्पीलाई लाग्छ, फिल्मको सफलता/असफलताले निर्देशकलाई फिल्म निर्माणमा मार्ग निर्देशन गर्छ । ‘शोले’ यति हिट होला भनेर त सिप्पीले सोचेका थिएनन् । उनी केवल, राम्रो फिल्म बनाउन चाहन्थे । तर, 'शोले' हलमा चल्दा दर्शक फिल्ममा एक-एक संवाद दोहोर्याउँथे । तब, सिप्पीलाई लाग्यो –एकपटकमै त कसलाई संवाद कण्ठ होला र ?
अहिले सिप्पीलाई थाहा भइसक्यो–सबै फिल्मले शोलेले जसरी सफलता पाउँदैन । उनकै अरु फिल्मले पनि त्यो उचाईं नापेन । आफैले फेरि त्यसै किसिमको फिल्म बनाउने चाहे नबन्ने सत्यसँग उनी साक्षात्कार भइसके । ‘सबै फिल्मले शोलेको त्यो सफलता पाउन सक्दैन । मैले पनि त्यस किसिमको सफल फिल्म बनाउन चाहें भने अब बन्ने छैन,’ सिप्पी भन्छन् । उनी हरेक फिल्ममा निर्देशकले आफ्नो सक्दो राम्रो गर्नुपर्ने बताउँछन् । ‘तपाईंको काम आफ्नो बेस्ट दिने हो । मैले मेरो सबै फिल्ममा त्यही गरें । अनि फिल्ममेकिङ नै मलाई मनपर्ने कुरा थियो, त्यसमा मैले आफ्नो बेस्ट दिएँ,’ उनले भने ।
फिल्मकर्मको यात्रालाई फर्केर हेर्दा सिप्पी आफ्ना सबै काममा सन्तुष्ट देखिन्छन् । होला, उनका सबै फिल्मले ‘शोले’को सफलता कमाएन । तर, आफूले गरेका अन्य फिल्महरू, 'शान', 'शक्ति', 'गीता और सीता'लगायतका सबै फिल्ममा आफूले 'शोले'जतिकै सन्तुष्टि अनुभव गरेको उनले सुनाए । उनी भन्छन्, ‘मैले गरेका फिल्महरू फरक-फरक थिए । तर, सबैमा उही सन्तुष्टि छ । मलाई त सबै फिल्ममा केही नयाँ र फरक गर्नु थियो ।'
कतिले ‘शोले’लाई यस्तो केन्द्रबिन्दु मान्छन्, जहाँबाट भारतीय फिल्म निर्माणलाई शोलेअघि र पछि भनेर विश्लेषण गरिन्छ । तर, सिप्पी ‘शोले’लाई यस किसिमको रेखांकन गर्न चाहँदैनन् । ‘फिल्मले दर्शकको मन जित्यो । त्यसैले उनीहरूले फिल्म हेरे, हेरिरहे, सायद यो फिल्मलाई यसरी विश्लेषण गरिनुपर्छ होला,’ उनले भने, 'मैले त फिल्म यति हिट होला भनेर सोचेकै थिइन । राम्रो फिल्म बनाउनु थियो । तर, दर्शकले निकै नै रुचाइदिए । दर्शक यो फिल्मबाट कहिल्यै वाक्कै भएनन् ।'
सिप्पीलाई हरेक दर्शकले मनपराउने फिल्म बनाउनु थियो । त्यसैले सधैँ ‘दुई लाइन’को आइडियाबाट फिल्म सोच्न थाले । त्यसलाई स्क्रिप्टमा परिणत गरे, छायांकनमा केही फेरबल हुन्थ्यो । तर, समग्रमा जस्तो फिल्म भन्न चाहन्थे, त्यसरी नै खिचे । सिप्पीका लागि उनका हरेक फिल्म चुनौतिपूर्ण थिए । ‘शोले’ त उनी मात्रै होइन, अधिकांश फिल्मकर्मीकै लागि पनि चुनौती बनेको छ । यो फिल्म भारतीय इतिहासमा यस्तो मानक बन्न पुग्यो, जसलाई सिप्पीले त के, अन्य कुनै सिप्पीहरूले तोड्न सक्दैन । ‘शोले’को रेकर्डलाई ‘ब्रेक’ गर्ने दबाब सिप्पीमा पनि कहिल्यै आएन । ‘त्यो सोचेर आफैलाई तनाव दिने काम किन गर्नु ?,’ मुसुक्क हाँस्दै सिप्पीले भने । 
सिप्पी अहिले पनि फिल्मले सुरुवाती दिनमा पाएको दर्शकको साथ बिर्सँदैनन् । यो फिल्मले प्रदर्शनको सुरुवाती हप्तामा बक्स अफिसमा खासै बलियो उपस्थिति जनाउन सकेन भन्ने कथाहरू अहिले पनि सुनिन्छ । पहिलो हप्ता फिल्मले राम्रो गर्न नसकेपछि सिप्पीले निर्माण टिमसँग सल्लाह गर्न बैठक नै डाकेको भन्ने चर्चा पनि सुनिन्छ । तर, सिप्पी यी बुनिएको कथामा विश्वास नगर्न आग्रह गर्छन् । खासमा भएको चाहिँ के थियो त ? सिप्पीका अनुसार त्यतिबेला केही अखबारले हलमा राम्रो नगरेको भन्दै समाचार लेखेका थिए । त्यो समाचारले यसरी काम गर्यो कि अहिलेसम्म पनि कतिले त्यसैलाई सत्य मान्छन् । तर, फिल्मले पहिलो हप्तादेखि नै बक्स अफिसमा तहल्का मच्चाउन थालेको उनी सुनाउँछन् । ‘विश्वले अहिले पनि यो फिल्मले पहिलो हप्तामा राम्रो सुरुवात नगरेको भनेर विश्वास गर्छ । तर, त्यो सत्य होइन्,’ उनले भने, 'फिल्मको ओपनिङ राम्रो थियो । दोस्रो र तेस्रो हप्तातिर हलमा दर्शकहरू फिल्मको डायलग नै दोहोर्याइरहेका भेटिन्थे । कसले यसरी लाइनका लाइन दोहोर्याउँछ ? पक्कै, जसले दोहोर्याई तेहेर्याई फिल्म हेरेको हुन्छ । त्यतिबेला त अहिलेजस्ताे टेलिभिजनमा हेर्छु, ओटीटीमा हेर्छु भन्ने हुँदैन थियो ।'
‘शोले’को यस किसिमको सफलतामा सबैको उत्तिकै उपस्थिति देख्छन्, सिप्पी । जय बनेका अमिताभ बच्चन होस्, वा उनका साथी भिरु(धर्मेन्द्र देवल) । गब्बर बनेका अमजद खान हुन् या बसन्ती बनेकी हेमा मालिनी । यो फिल्मको सफलताको श्रेय ती हरेक पात्रलाई दिन्छन्, जो फिल्ममा सानो भूमिकामा झुलुक्क देखिएका थिए । ‘शोले, शोले हुनुमा उनीहरूको हात छ, जो यो फिल्मसँग फरक भूमिकामा जोडिएका थिए । अभिताभ, धर्मेन्द्र र हेमा मालिनीहरूकै अभिनयले पनि फिल्मलाई मजबुत बनाएको हो,’ सिप्पीले भने, 'मानिसले शोलेलाई सम्झँदा पानीट्यांकीको दृश्य मात्रै होइन, मिहिन पात्रहरूमार्फत पनि सम्झन्छन् । पानी ट्यांकीवाला दृश्य त गजब्बकै थियो ।'
धर्मेन्द्रले पानीट्यांकी चढेको दृश्य होस् या अमिताभको ‘ये दोस्ती’वाला गीत । फिल्मभित्र हरेक चरित्रको बनाएको छुट्टै संसार अहिले दर्शकले एक-एक सम्झने गरेको सिप्पी सुनाउँछन् । सिप्पीले भने झैं जय र हेमा मालिनीबीचको त्यो लालटिन बाल्दै गरेको दृश्य होस् या गब्बरसँग लिइएको दृश्य, दर्शकका लागि यो फिल्म मात्रै होइन । एउटा मिठो सम्झना बनेर हृदयमा गढेको छ । त्यसैले त ५०औं वर्षमा पनि दर्शक यी हरेक सम्झनालाई ब्युँताउन फिल्म दोहोर्याइरहेका हुन्छन् । फिल्मले ५०औं वर्ष मनाउँदै गरेको अवसरमा यो फिल्म भारतमै पनि पुन: प्रदर्शन गरिएको थियो । फिल्म हेर्न दर्शक हलसम्म फेरि पुगे । तर, यो पटक केही नयाँ दृश्यहरू फिल्ममा जोडिएको थियो । 
फिल्मको 'ओरिजिनल' भर्सनमा ठाकुर(सञ्जीव कपुर)ले गब्बरलाई आफ्ना काँटेदार जुत्ताले हत्या गरेको देखाइएको छ । तर, त्यतिबेला भारतको सेन्सर बोर्डले आपत्ति जनाएपछि पुनः सुटिङ गरेर गब्बर पक्राउ गरिएको नयाँ अन्त्य राखियो । अनि मात्रै फिल्म सेन्सरबाट पास भयो । सन् २०२२ मा निर्देशक सिप्पीका छोरा शहजाद सिप्पीले फिल्म हेरिटेज फाउन्डेसनसँग सहकार्य गर्दै यो फिल्मको 'ओरिजिनल' भर्सन भेट्ट्याए ।
'ओरिजिनल' भर्सन हलमा प्रदर्शनमा आएसँगै दर्शकबीच मिश्रित प्रतिक्रिया फिल्मले बटुल्यो । निर्देशक सिप्पी आफै पनि अहिले दंग छन्, ओरिजिनल भर्सन हेर्न पाउँदा । 'ओरिजनलमा सञ्जीव कपुरले गब्बरलाई मार्छ । तर, त्यतिबेला गब्बरलाई नमारेको वाला भर्सन प्रदर्शनमा आयो । खासमा मारेको वाला दृश्य नै ओरिजिनल हो । म खुशी छु अहिले त्यो भर्सन आयो । तर, गब्बर नमारेको भर्सन नै अत्यधिक चल्यो,' सिप्पीले भने, 'अहिले पनि दर्शक त्यही पुरानो शोले मनपराउँछन् । मनपराइरहेका छन् ।'
