चार दशकअघि कथाहरू पनि बलिउडबाट आयातित हुने समयमा उनले मौलिकतालाई फिल्ममा जोगाएका मात्र थिएनन्, सिंगो फिल्म क्षेत्रलाई सन्देश दिएका थिए ।
What you should know
काठमाडौँ — ‘सिनेमा बनाउनु भनेको संसारकै विशिष्ट र कठिन काममध्ये एक हो,’ जीवनमा आठौं चलचित्र निर्देशन गरिहँदा पनि नीर शाह यो विचार परिमार्जन गर्दैनन् ।
नयाँ फिल्म ‘कमला मिस’को सम्पादनको रस्साकस्सीबाट केही दिन बाहिर निस्किएर उनी गत शुक्रबार टीकापुर पुगेका थिए । टीकापुर साहित्य महोत्सवको स्टेजबाट उनले पछिल्लो निर्देशकीय अनुभव गाँस्दै सुनाएका थिए, ‘जबसम्म तपाईं मानसिक रूपले र कार्यव्यस्तताबाट पूर्णतः मुक्त भएर केवल चलचित्रकै बारेमा मात्र सोच्न सक्ने स्थितिमा पुग्नुहुन्न, तबसम्म यसमा हात हाल्नु हुँदैन भन्ने मेरो मान्यता छ ।’
उसो त पर्दामा सधैं भिन्न चरित्रहरूमा देखिरहे पनि ०७२ सालमा ‘सेतो बाघ’ रिलिजपछि निर्देशक शाह भने कतै अलप थिए । ‘यतिका वर्ष निर्देशक नीर कहाँ हुनुहुन्थ्यो ?’ महोत्सवको स्टेजबाहिर मैले सोधेको थिएँ । उनले शालीन तर आफ्नै शैलीमा प्रस्ट्याए, ‘के भन्देखिन् यो विशिष्ट कार्यका लागि एकाग्रता र पूर्ण समर्पण चाहिन्छ । त्यो मैले दिन सकिरहेको थिइनँ । त्यसैले, उचित समय र परिस्थिति जुटेपछि म फेरि निर्देशनतर्फ लागेको हुँ ।’
तीन वर्षअघि अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेको फिल्म ‘पानीफोटो’को पुस्तक सार्वजनिकीकरण कार्यक्रममा शाहले एउटा उद्घोष गरेका थिए, ‘मलाई कुमार नगरकोटीको कथामाथि फिल्म बनाउन मन छ ।’ नगरकोटीका सर्रियल पात्रहरूले शाहलाई कल्पनाको अनौठो उडान भनिदिएका थिए । आफूलाई असाध्यै मनपर्ने लेखकको पात्रहरूलाई फिल्मको आयतनभित्र अटाउने प्रयास उनले गरिरहेका थिए ।
‘कमला मिस’ले उनको सिर्जनशील धोकोलाई यतिबेला मूर्तरूप दिँदै छ । अहिले पनि ‘कमला मिस’को काँचा दृश्यहरूमा सिनेमाको प्राण भर्नमै तल्लीन निर्देशक शाहले सिनेमा क्षेत्रमा अर्को नवीन प्रयोग गर्दै छन् ।
साहित्यकार विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’मा नगरकोटीको प्रयोगधर्मी लेखनशैली 'ब्लेन्ड' गरेर एउटा 'फ्युजन' निकाल्ने प्रयोगात्मक प्रयास गरिरहेका छन् उनी । एउटा यथार्थवादी कथामा नगरकोटी शैली मिसाउनु आफैंमा रोचक र अनौठो प्रयास हो । उनी भन्छन्, ‘यो मनोवैज्ञानिक र प्रयोगात्मक फिल्म हो ।’
ध्रुवचन्द्र गौतम पनि सुटिङ हेर्न पुगेका रैछन् । त्यतिबेला शाहले आग्रह गरे, ‘डार्साब । तपाईंको कोट पाऊँ न ।’ ध्रुवचन्द्रले कोट फुकालिदिए ।हुन त नीर शाह जहिल्यै पनि चलिरहेको धारमा चुनौती दिने र त्यसलाई बहन गर्ने निर्देशक हुन् । चार दशकअघि कथाहरू पनि बलिउडबाट आयातित हुने समयमा उनले मौलिकतालाई फिल्ममा जोगाएका मात्र थिएनन्, सिंगो फिल्म क्षेत्रलाई सन्देश दिएका थिए । र त ‘वसन्ती’, ‘वासुदेव, ‘राजमती’ जस्ता फिल्महरू आजको समयमा पनि उत्तिकै मन्थनयोग्य छन् ।
उनी आफ्नै फिल्ममाथि निर्मम हुने नेपालका बिरलाकोटी निर्देशकमा पर्छन् । उनले तीन वर्षअघि ‘पानीफोटो’ पुस्तक विमोचन बखत भूलसुधार गरेका थिए । ‘मैले कृतिमा आधारित वासुदेव बनाएँ । त्यसलाई अलि धेरै कमर्सियलाइजेसन गरियो भन्ने असन्तुष्टि भयो । त्यसलाई सकेजति आर्टिस्टिक गराउन सकिन्थ्यो कि...।’
डायमण्डशमशेरको उपन्यास ‘वसन्ती’लाई पनि ‘आर्टिस्टिक’ नबनाएकोमा चुकचुकाए । गोपालप्रसाद रिमालको नाटक ‘मसान’लाई लम्ब्याउँदा र डायमण्डशमशेरको ‘सेतोबाघ’लाई छोट्याउँदाको दु:ख सम्झिए । ‘मसानलाई तन्क्याएर लामो बनाइयो । जहाँजहाँ त्यो लम्बियो, त्यहीँत्यहीँ बिग्रियो । सेतो बाघलाई चाहिँ सकेजति छोट्याएँ । त्यो नै जिन्दगीको सबैभन्दा ठूलो भूल भयो । छोट्याउँदा पनि सुख पाइएन । आर्टिस्टिक हुँदा पनि सुख पाइएन । कमर्सियल हुँदा पनि सुख पाइएन,’ उनले आत्मालोचनासहित भनेका थिए, ‘त्यसकारण फिल्म बनाउनु असाध्यै गाह्रो काम हो । सबैभन्दा कठिन काम सबैभन्दा सजिलो ठाउँबाट गर्न खोजेकाले बिग्रिएको हो ।’
टीकापुर साहित्य महोत्सवमा ‘नेपाली सिनेमाको परान’ सेसनको अन्त्यतिर मैले दर्शकदीर्घाबाट सोधेको थिएँ, ‘तपाईंले नेपाली कथाहरू नै आयातित हुने समयमा अत्यन्तै अलग प्रयास गर्नुभयो । तर तिनै कमर्सियल धारलाई पनि किन छोड्नसक्नुभएन ?’
विसं २०३९ सालतिर, ध्रुवचन्द्रको उपन्यास ‘कट्टेल सरको चोटपटक’मा शाह फिल्म बनाउँदै थिए । नाम थियो ‘वासुदेव ।’ प्रोफेसर वासुदेवको भूमिका निर्वाह गरेका हरिहर शर्मालाई प्रोडक्सनले दिएको कोट चित्त बुझेन । दरबारमार्गमा छायांकन चलिरहेको थियो । हरिहरलाई कोट असहज लागेको शाहले चाल पाए । लेखक ध्रुवचन्द्र गौतम पनि सुटिङ हेर्न त्यहाँ कोट लगाएर आइपुगेका रैछन् । त्यतिबेला शाहले ध्रुवचन्द्रलाई आग्रह गरे, ‘डार्साब । तपाईंको कोट पाऊँ न ।’ ध्रुवचन्द्रले कोट फुकालिदिए ।
सुटिङ अवधिभर उनले त्यही कोट लगाएर अभिनय गरे । फिल्मभरि वासुदेवले पहिरिएको ध्रुवचन्द्रको कोटले जुन स्थान पायो, त्यति स्थान उनको कथाले सायदै पायो भन्ने लेखकको मनमा थियो । मौलिक कथा दृश्यमा आउँदा फाइट, गीत र त्यो समयका चल्तीका मसला पनि थिए । कथामै चोटपटक महसुस गरिरहेका ध्रुवचन्द्रलाई कसैले एकदिन सोधेछन्, ‘डार्साब, यो फिल्ममा चाहिँ तपाईंको के छ ?’ ध्रुवचन्द्रले जवाफ दिएछन्, ‘यो फिल्ममा मेरो कोट छ ।’
टीकापुर साहित्य महोत्सवको स्टेजबाट शाहले यो कुरा स्वीकार गरे । बरु उनले ठट्यौली लबजमा भने, ‘यो फिल्ममा मसँग पैसा भइन्जेलसम्म राम्रो छ । जब फिल्म बनाउँदा बनाउँदै मेरो पैसा सकियो । लगानी गर्नेहरू खोजेँ । लगानी गर्नेहरूले पैसा मात्र हालेनन्, आइडिया पनि हाल्न थालेँ । जहाँजहाँ फिल्म बिग्रिएको छ, त्यहाँ पुगेपछि मेरो पैसा सकिएको बुझे हुन्छ ।’
आफूले मूल कृतिलाई न्याय गर्न नसकिएको बोध गर्दै उनले अर्को उद्घोष पनि गरे, ‘त्यसकारण पनि वासुदेव फिल्म फेरि बनाउनुपर्ला भन्ने लागिरहेको छ ।’
सिने उद्योग यहाँसम्म पुग्नुमा कलाकार र निर्देशकलाई मात्र जस दिन्नन् उनी । बरु प्राविधिकहरूको लगाव र समर्पणलाई पनि उत्तिकै धाप मार्छन् ।'राजमती' बनाउँदाको कठिन समय पनि उनी सम्झन्छन् । ‘त्यतिबेलाको आयोजक समितिले यसलाई नेपाल भाषामा बनेको भन्दै राष्ट्रिय चलचित्र मान्न नै अस्वीकार गरेको थियो । त्यो 'कालरात्रि' भोगेका हामी हौँ, जसले गर्दा आजको 'उज्यालो बिहानी' सम्भव भएको हो,’ शाह सुनाउँछन् ।
महोत्सवमा शाहलाई स्टेजमा अभिनेत्री सोविता शिम्खडाले प्रश्न सोधिरहेकी थिइन् । पछिल्लो समय शाहको मुख्य भूमिका रहेको दीपक आचार्य निर्देशित फिल्म ‘परान’ले दर्शकको मान मात्र जितेन, बक्स अफिसमा पनि उत्कृष्ट साबित गर्यो । शाहको अभिनयलाई धेरै दर्शकले प्रशंसा गरे । शाह स्वयंले भनिदिए, ‘यो फिल्म त मेरो अभिनय यात्राको क्लाइमेक्स हो ।’ उनले कार्यक्रममा आफैंले दर्शक भएर ‘परान’ हेरेको अनुभूति पनि सुनाए, ‘धेरैले मलाई मेरो पछिल्लो चलचित्र परानको सफलता र त्यसमा भएको 'परान' वा मर्म के थियो भनेर सोध्नुहुन्छ ।'
'परान हेरुन्जेल मलाई एउटा कुराको गहिरो बोध भयो- यसबाट नेपाली माटोको गन्ध आउँछ । त्यहाँका पात्रहरू जीवित रूपमा नेपाली बनेर देखापरेका छन् र चलचित्रको प्रत्येक कोण र त्रिभुजबाट नेपालीपन झल्कन्छ । सायद यही नेपालीपन र नेपाली माटोको सुगन्ध पाएकाले नै १५-२० लाख समादरणीय दर्शकहरूले यसलाई मन पराउनुभएको हो,' उनले आफ्नो विश्लेषण सुनाए ।
उनी नेपालको चलचित्र इतिहासलाई फर्केर हेर्छन् । सायद इतिहासको सुरुवाती पन्नाबाटै सुरु हुन्छ शाहकै करिअर पनि । उनी यस्तो समयमा जन्मिए कि जतिबेला नेपालमा चलचित्र उद्योग मात्र होइन, टेलिभिजनको 'ट' सम्म पनि थिएन । ‘म जन्मिनुभन्दा करिब तीन वर्ष अगाडि भारतको कलकत्तामा डीबी परियारजीले नेपाली भाषाको पहिलो चलचित्र 'हरिश्चन्द्र' बनाउनुभएको रहेछ । तर, त्यसको सम्पूर्ण छायांकन नेपालबाहिर भएको थियो र त्यो केही सीमित समृद्ध वर्गका लागि मात्र प्रदर्शन गरिन्थ्यो । मेरो अभिनय यात्रा सुरु हुँदा नेपालमा चलचित्र उद्योग त झन् कान्छो थियो,’ उनले सम्झिए ।
नेपालमा नेपाल टेलिभिजन त २०४१ सालमा मात्र प्रारम्भ भयो । त्यो भित्र्याउने जस पनि उनै शाहलाई जान्छ । त्यो अवस्थाबाट अहिलेको समयसम्म गुज्रेको महसुस गर्दा उनको छाती गर्वले फुल्छ । आज विश्वका करिब ४० भन्दा बढी देशमा नेपाली सिनेमा व्यावसायिक रूपमा प्रदर्शन भइरहेका छन् । 'युरोपका सहर र अमेरिकाका थुप्रै राज्यमा नेपाली सिनेमा थिएटरमै चल्छन्,’ उनी दाबी गर्छन् ।
सिने उद्योग यहाँसम्म पुग्नुमा कलाकार र निर्देशकलाई मात्र जस दिन्नन् उनी । बरु प्राविधिकहरूको लगाव र समर्पणलाई पनि उत्तिकै धाप मार्छन् । ‘यो उद्योग केवल निर्देशक र कलाकारको मात्र होइन । यसमा प्रकाश उपकरणका फाँटमा काम गर्ने लाइट-ब्वाय, क्यामरा र ध्वनिका प्राविधिक, डबिङ र स्टुडियोका टेक्निसियन, लेखक र संगीतकर्मीहरूको समष्टिगत योगदान छ,’ उनी भन्छन् ।
नीर शाहले १५ वर्षको उमेरबाट फिल्म खेल्न थालेका थिए । पहिलो फिल्म निर्देशक हिरा सिंहको निर्देशनमा बनेको ‘परिवर्तन’ थियो । सोल्टी होटेलमा भएको सुटिङ उनले एक टेकमै सके । त्यसैदिन प्रभावित भएर निर्देशकले उनलाई भने, 'तिमी सिनेमा खेल्ने काम नछोड ल ।’ उनमा खुसीको सीमा थिएन । असीम आनन्द लिएर घर फर्किए । तर उनी खुसी हुँदा घरभरिका मानिस दु:खी थिए ।
उनी परराष्ट्र मन्त्रालयको ‘योङ डिप्लोम्याट्स’ कोर्स पढिरहेका थिए । बा उनलाई डिप्लोम्याट बनाउन चाहन्थे । सबै दु:खी हुँदा पनि एक जना मानिस खुसी थिइन् । उनले टाउकोमाथि हात राखेर आशिर्वाद दिइन्, ‘जीवनमा जुन काम गरे पनि हुन्छ । तर त्यो काम निष्ठापूर्वक गर ।’ आमाको आशीर्वादपछि त्यसै दिनदेखि शाहले अडान लिए, ‘म यही काम गर्छु तर निष्ठापूर्वक गर्छु ।’
उनले जीवनकालमा सिनेक्षेत्रमा अभूतपूर्व सफलता पाए । र, अहिले उनी गौरवका साथ ब्रह्मलीन भइसकेकी आमालाई सम्झेर गर्वसाथ भन्छन्, ‘आमा, म नेपालको नीर शाह भएको छु । र मैले मेरो काम अझै पनि निष्ठापूर्वक गरिरहेको छु ।’
नेपालको संस्कृति सिमेन्टीका बोरा वा चाउचाउ बेचेर विश्वसामु पुग्दैन । त्यो त कलाले नै पुग्ने हो ।शाह जसरी जीवन बाँच्छन्, के चरित्र पनि त्यसैगरी बाँच्लान् ? यसको प्रक्रिया के होला ? उनी आफूले सफर गरेका पात्रहरूतर्फ फर्कन्छन् ।
‘अभिनय मेरो लागि केवल पेसा होइन, यो एक तपस्या र निष्ठा हो । म जब कुनै भूमिका गर्छु, आफूलाई आफूसँग अलग राख्ने प्रयत्न गर्छु,’ उनी सिनेमाका पात्रलाई चिरफार गर्छन्, ‘परानमा धर्मनाथको भूमिका गर्दा म जति आफूलाई नीर शाहबाट अलग राख्दै धर्मनाथको नजिक पुग्छु, त्यति नै सफल हुन्छु ।’
उनी मेकअपको मेचमा बस्नेबित्तिकै बिस्तारै त्यो चरित्रमा प्रवेश गर्दा रहेछन् । अनि जब सुटिङ सकिन्छ, मेकअप पुछिसकेपछि फेरि नीर शाहमा फर्कँदा रहेछन् । कहिलेकाहीँ भने पात्रमा प्रवेश गरेपछि निस्कन साह्रै गाह्रो हुँदो रहेछ । उनले कुमार नगरकोटीको नाटकमा 'नि:शब्द शमशेर' को भूमिका गर्दाको समयतर्फ चियाए, ‘नाटकको ३२-३३ शोपछि डर लागेर आयो र मैले निर्देशक युवराजजीलाई त्यो शो बन्द गर्न अनुरोध गरेँ । पात्रबाट आजीवन निस्कन सकिएन भने के होला भन्ने डर लागिरहन्छ ।’
उनको नजरमा जीवनभन्दा बाहिर पनि अर्को एउटा जीवन हुन्छ । जसलाई उनी साहित्य र संगीत मान्छन् । ‘हामीले बाँचेको जीवन त जीवन नै भयो, तर हामीले नबाँचेको, बाँचिरहेको जीवन नै साहित्य हो । साहित्यका पात्रहरू लेखकको कलममा आकार लिएर बाँचिरहेका हुन्छन् । संगीत त झन् जीवनको ढुकढुकी नै भयो । यी दुवैलाई सन्तुलित ढंगमा प्रस्तुत गर्ने कला नै सिनेमा हो,’ शाह गहिरो विचारमन्थन गर्छन् ।
नेपाली संस्कृति विश्वसामु पुग्ने र पुर्याउने माध्यम त कला नै हो । त्यो कसरी पुग्छ ? ‘नेपालको संस्कृति सिमेन्टीका बोरा वा चाउचाउ बेचेर विश्वसामु पुग्दैन । त्यो त कलाले नै पुग्ने हो,’ उनको सटिक जवाफ ।
उनलाई खड्किरहन्छ कि हामीले देवकोटा, लेखनाथ पौड्याल, भूपि शेरचन र सरुभक्तका रचनाहरूलाई विश्वसामु पुर्याउन सकेनौँ । त्यो पुर्याउन मात्र सके विश्वमा हाम्रो उचाइ बढ्ने धारणा छ उनको ।
साहित्य, सिनेमा र संगीतका कुशल पाठक, दर्शक र स्रोता मात्र होइनन् उनी । तीनै पाटोमा उत्तिकै अब्बल सर्जक पनि हुन् । के यी सर्जकले जीवनकालमा आफ्नो पुस्तक ल्याउलान् त ? लेखक/सम्पादक विमल आचार्यले शाहलाई सोधेका थिए । नीरले एउटा कुटिल व्यंग्य छाडे, ‘लेख्नु नपर्ने मान्छेहरूले जुन दिन लेख्न छोड्लान् । अनि म लेख्न सुरु गर्छु ।’
