महिलाका मिहिन भावना समेटेर बनाइएको 'रमिताको पिरती'मार्फत नै सुदीप्ताले आफूलाई अब्बल उभ्याएकी छन् । उनलाई अझै महिलाकै मुद्दा बोक्ने फिल्ममाथि काम गर्नुछ ।
What you should know
काठमाडौँ — कहिलेकाहीँ यस्तो हुन्छ, कुन फिल्म हलमा लागेर हट्यो ? पत्तो हुन्न ! प्रतिनिधिसभाको यो चुनावबीच यस्तै भयो ।
एउटा आशा बोकेको फिल्म हलमा लाग्यो । एक जवान महिलाको बिग्रिएको प्रेम सम्बन्धमाथिको कथा । त्यही सम्बन्धमार्फत आफूलाई खोज्ने कथा । आफैलाई प्रेम गर्ने यात्राको कथा । जहाँ आमा-छोरीको कोमल सम्बन्ध देखाइन्छ । मित्रताको महत्त्व बुझाइन्छ । सामाजिक, एक्सन अनि कमेडी फिल्महरुको भिडमा 'रमिताको पिरती', वास्तवमै नयाँ स्वादसहितको फिल्म हो ।
सहरमा हुर्केकी एउटी स्वतन्त्र महिलामाथिको कथाले मात्रै होइन, आना शर्माको निखारिएको अभिनयले 'रमिताको पिरती' हेर्नलायक बन्यो । तर, चुनावको छायामा पर्दा फिल्म पारखीले यो फिल्मको स्वाद चाख्नै पाएनन् ।
अब, यो फिल्मले निर्माण पक्षलाई के दियो ? छलफलको अर्को विषय होला । तर, 'रमिताको पिरती'ले नेपाली फिल्म क्षेत्रमा के दियो भन्ने प्रश्नको जवाफ हो, सुदीप्ता ।
महिलाका मिहिन भावना समेटेर बनाइएको 'रमिताको पिरती'मार्फत नै सुदीप्ताले आफूलाई अब्बल उभ्याएकी छन् । फिल्म कमजोरीरहित थियो होइन । तर त्यसलाई ढाकछोप गर्छ, सुदीप्ताको कथा वाचनले । एक महिलाको प्रेम सम्बन्ध, पारिवारिक कलह, मित्रतामाथिको उतारचढाव अनि आफूभित्रको आफूलाई भेट्ने कथा भन्न सुदीप्ताले समाएको एउटै शुत्र हो- इमानदारी । अहिले उनी त्यही प्रतिफल चाख्दै छिन् ।
'पहिलो फिचर थियो तर, एकदमै प्रशंसा पाएँ । इमानदार भएर बनाएको भएर होला एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु,' बौद्धमा भेटिएकी सुदीप्ताले हामीलाई सुनाइन् ।
फिल्म समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिना गाउँको एकैनासे फिल्मबीच सुदीप्ताले नयाँ स्वाद भित्र्याएको बताउँछन् । 'सहरको सम्बन्धमाथिको जुन कथा सुदीप्ताले उठाएकी छन्, त्यसले सहरको कथामाथि पनि फिल्म बन्न सक्छ भन्ने उदाहरण देखाएकी छन् । सहरमा भएका सुकिला मुकिकाहरुको जीवन पनि सहज छैन, उनीहरुको जिन्दगीमा पनि संघर्ष छ है भनेर दर्शक बाँध्ने प्लट फिल्ममा बुनेकी छिन्,' तिमल्सिना भन्छन्, 'सहरको कथालाई पनि रियलिस्टिक ढंगले देखाएकी छन् । पात्रहरु रियलिस्टिक संवाद बोल्छन् ।'
ओटीटीको सहारा
बौद्धको शान्त क्याफेमा भेटिँदा सुदीप्ता नयाँ फिल्म लेख्दै थिइन् । पहिलो फिल्मको प्रतिक्रियाले अर्को फिल्म बनाउने जोस थपिदिएको उनको अनुहारमै झल्किन्थ्यो । अहिले उनी 'ब्याड गर्ल गोज टू ब्यांकक' शीर्षकथामा प्लट लेख्दै छिन् । ‘रमिताको पिरती’ बनाउनुअघि सुदीप्ता आफ्ना दुई साथीसँग थाइल्यान्ड पुगेकी थिइन् । त्यही अनुभव र मित्रताकै सार पक्रँदै नयाँ फिल्म लेखिरहेकी छन् ।
हरेक फिल्म लेखन फरक हुने सुदीप्ताको अनुभव छ । 'रमिताको पिरती' लेख्दा यही जोस उनमा थिएन । खासमा सुदीप्ताले 'रमिताको पिरती'लाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पठाउने सोच राखेकी थिइन् । फिल्ममा आफैले लगानी गरिन् । विस्तारै अन्य लगानीकर्ता जोडिँदै गए । सागर लम्साल निर्माताका रुपमा आबद्ध भए । फिल्मको खर्च बढ्दै गयो ।
सुदीप्ताको समूहलाई 'जेरी अन टप'को व्यापारले हिम्मत दिएको थियो । युवाको कथा भनिएको फरक विधाको फिल्मलाई पनि दर्शकले रुचाइदिन्छन् भन्ने आशा थियो । त्यसैले फिल्मको प्रचारमा उसैगरी समय खर्चे । तर, फिल्म प्रदर्शन गर्ने समय र चुनाव सँगसँगै भइदियो । हलभन्दा निर्वाचनस्थल पुगे दर्शक । अहिले सुदीप्तालाई लाग्छ, फिल्मको 'मार्केटिङ' र प्रदर्शनको 'टाइमिङ' मिलेन ।
अहिले 'रमिताको पिरती' ओटीटीमा छ । अन्तर्राष्ट्रिय दर्शकले पनि ओटीटीमै फिल्म हेरिरहेका छन् । उनीहरुको प्रतिक्रियाले दंग छिन्, सुदीप्ता । 'ओटीटीमा नेपाली मात्रै होइन अन्तर्राष्ट्रिय दर्शकले हेरिदिनुभएको छ । अब हाम्रो खर्च यहीँबाट रिकभर भइरहेको छ । हाम्रा नेपाली दर्शकले पनि यहीँ फिल्म हेर्न पाउनुभएको छ । लगानी उठाउन ओटीटी पनि राम्रो प्लेटफर्म रहेछ,' उनले सुनाइन् ।
बहिर्मुखी स्वाभावकी होइनन्, सुदीप्ता । तर, फिल्म प्रदर्शन ? हलमा पुगेर गरिने दर्शक भेट ? के-के हो के-के ? यी सबै काम उनी अनुकूल भइदिएन । फेरि सबैलाई मिलाएर अगाडि बढ्न पनि गाह्रो । दर्शकलाई हलसम्म डोर्याउन मार्केटिङमा नयाँ के गर्ने ? थुप्रै नयाँ अनुभव, दौडधुप र हस्याङफस्याङबीच 'रमिताको पिरती' हलसम्म आइपुग्यो । फिल्म हेरिसकेपछि कतिले सुदीप्तालाई भने-धन्यवाद है, यति राम्रो फिल्म बनाइदिनुभयो ।
निर्माण अनि प्रदर्शनका झन्झटिला यात्राबीच सुदीप्तालाई यस्तै प्रतिक्रियाले हो, लामो स्वास फेर्ने लगाएको । 'उहाँहरुले त्यसो भन्नुहुँदा उहाँहरुका लागि मैले केही राम्रो त गर्न पाएँ भन्ने हुन्थ्यो । त्यसले अझै फिल्म गर्दै जानुपर्छ भन्ने भएको छ,' उनले मुसुक्क मुस्कुराउँदै सुनाइन् ।
उनले 'रमिताको पिरती' अगाडि केही लघु फिल्म निर्देशन गरिसकिन् । कलेज अफ फिल्म स्टडिज 'ओस्कर'मा फिल्म पढेकी उनले थुप्रै विज्ञापन बनाइन् । नेपालस्थित युरोपेली युनियन (ईयू) मा केही समय भिडियो डकुमेन्ट्रीको काम सम्हालिन् । तर, डकुमेन्ट्रीमा सुदीप्ताले आफ्नो स्वाद भेटिनन् । फिचर बनाउने सोचेर त्यो जिम्मेवारी छाडिन् । तर, सोच्नेबित्तिकै फिल्म बनाउन कहाँ सकिन्छ र ?
सुदीप्ता जीवनको यस्तो घुम्तीमा आइपुगिन्, जहाँ आफ्नै अस्तित्व संकटमा परेको अनुभव गरिन् । आफूले आफैलाई महत्त्व दिन सकिनन् । उमेर ढल्कँदै गर्दा हुने पहिचानको संकटसँग जुधिन् । आफूभित्रका जोखिम पहिल्याइन् अनि आफू हुनुको अस्तित्त्व खोज्नुपर्यो । ती सब अनुभवलाई 'जर्नल'मा पोख्थिन् । जर्नल लेखिरहेकै समयमा एक दिन लाग्यो- यसलाई फिल्ममा परिणत गरे कस्तो होला ? यदि कुनै महिला प्रेममा टुट्छे, अनि अगाडिको जीवन कसरी बाँच्ने ? भन्ने निर्णय गर्न सक्दिनन् भने के होला ? अनि जन्मियो- 'रमिताको पिरती' ।
कोभिडकालमै यो फिल्मको लेखन सुरु भएको थियो । फिल्मको कथा थुप्रै पटक लेखिन्, मेटिन् । सच्याइन् । मेन्टरहरुबाट सल्लाह लिइरहिन्, फेरि लेखिन् । अनि सन् २०२५ मा आएर अन्तिम ड्राफ्टमाथि फिल्म बन्यो । सुदीप्ता कथा लेख्नेबित्तिकै निर्देशक अविनाशविक्रम शाह र फिल्मकर्मी केशव पाण्डेलाई आफ्नो लेखन देखाउँछिन् । 'रमिताको पिरती'को लेखन उनीहरुकै सल्लाहमा सकिन् ।
'एउटा समय यस्तो थियो, मेरो साथी हामी जीवनको फरक-फरक यात्रामा थियौं । तर, अर्को समय यस्तो आइदियो सबैले आफैलाई खोजेजस्तो । नेपालका युवाको अवस्था डिप्रेसिङ नै छ नि । सबै बिदेसिएकै छन् । यहाँ भएकाहरु पनि आफूलाई भ्ल्यालिडिएट गर्दियोस् भन्ने अवस्थामा पुगेको जस्तो । त्यतिबेला मलाई हामीले आफैलाई माया गर्न जान्नुपर्छ भन्ने लाग्यो,' सुदीप्ताले फिल्म लेखनको सुरुवाती क्षण सम्झिन्, 'केही कुरामा हामफाल्नुअघि, कुनै कुराको सुरुवात गर्नुअघि हामी युवाले आफैले आफैंलाई चाहिँ प्रेम गर्नुपर्छ भन्ने भइरहेको थियो । त्यही सन्देश राखेर फिल्म बनाएँ ।'
'आफैलाई प्रेम गर्नुपर्छ' भन्ने विषय समातेर सुरुमा सिरिज बनाउने सोच नआएको होइन । आफ्नै कम्पनी सिरो फिल्म्सबाट युट्युबमा सार्वजनिक गर्ने सोचिन् । तर, सिरिजमा पनि खर्च त लाग्ने नै भयो । त्यसपछि फिल्म नै बनाउने निधोमा पुगेको उनी सुनाउँछिन् ।
'मलाई विश्वले पनि यस्तो फिल्म हेरोस् भन्ने लागेको थियो, त्यसैले महोत्सव लक्षित गरेर नै फिल्म बनायौं,' सुदीप्ताले भनिन् । खासमा उनलाई 'गरिब' अनि 'गाउँ'का कथा मात्रै महोत्सवमा पुर्याउन सकिन्छ भन्ने भाष्य तोड्नु थियो । तर, निर्माताहरु जोडिँदै गएपछि उनीहरुका निर्णयले हल प्रदर्शनलाई प्राथमकिता राख्यो । त्यसैले पहिलो फिचरमार्फत महोत्सव पुग्ने सुदीप्ताको सपना यसपालि तुहियो ।
'दु:खसुखभन्दा पनि कुन इमोसन र स्टाइलमा फिल्म बनेको छ भन्ने कुरालाई महोत्सवले प्राथमिकतामा राख्छ नि त । त्यही कुरा स्थापित गर्न पनि फिल्म बनाउँदै थिए । निर्माताहरु थपिएपछि महोत्सव भन्दा पनि हल प्रदर्शन मुख्य केन्द्रमा रह्यो । पछि त मलाई पनि हलमा नै फिल्म प्रदर्शन गर्नु राम्रो निर्णय हो भन्ने भयो,' उनले भनिन् ।
फिल्मभित्रको पितृसत्ता !
'रमिताको पिरती' कास्टिङमै बलियो छ । मुख्य भूमिकामा देखिएकी आनाले 'र्यामी' चरित्रलाई अब्बल प्रस्तुत गरेकी छन् । गायनबाट चम्किएका समीर श्रेष्ठको अभिनय, कुनै अभिनेताको भन्दा कम छैन । छोटो भूमिकामा देखिएका विनय श्रेष्ठदेखि रेणुनाथ योगी अनि धीरज मगरकै अभिनय पनि चरित्र सुहाउँदो छ ।
आनाले खेलेको पात्र 'र्यामी' लेख्दा त धेरै समय सुदीप्ताले आफ्नो किशोरकाल सम्झिएकी थिइन् । आनाले गरेका फिल्मको रोजाइले पनि 'र्यामी' चरित्रमा सुदीप्ताले आना नै छानिन् ।
तर, आनालाई फिल्मको मुख्य चरित्र दिन निकै संघर्ष गर्नुपर्यो । पुरुष स्टारकै अनुहारले मात्रै फिल्म चल्छ भन्ने उद्योगमा आनालाई मुख्य भूमिकामा राखेर करिब २ करोड बजेट खर्चनु चुनौतीको विषय थियो । तर, जोखिम मोलेरै आनालाई लिनु सुदीप्ताको बलियो अडान हो ।
'नेपाली फिल्म क्षेत्रमा पुरुषको दबदबा छ । म्यानले नै लिड भूमिकामा धेरै काम गर्छ । यस्तो अवस्थामा महिलाले लिड गरेको कथामा सहायक बन्न स्वीकार गर्ने कमै हुँदो रहेछ,' उनले सुनाइन् । फिल्मको मुख्य भूमिकामा आना भएकै कारण कति लगानीकर्ता लगानीका लागि तयार भइदिएनन् । 'कति निर्माताले त फिल्म नै रिजेक्ट हान्नुभयो नि । आनाको धेरै फिल्म पनि नआएको अनि ऊ लिडमा भएको कुरा उहाँहरुलाई मनपरेन,' सुदीप्ताले सुनाइन्, 'कतिले कथा नै सुन्नुभएन । कतिचाहिँ चलेको अनुहार चाहिन्छ भन्नुहुन्थ्यो । तर आनाले यो फिल्ममा एकदम दु:ख गरेको छ । ६ महिना त वर्कशप नै गर्यौं ।'
पुरुष चरित्रहरुमा सुदीप्ताले सुरुमा चलेका स्टारहरुलाई अफर गरिन् । कोही आनाको सहायक बन्न चाहेनन्, त कसैले स्क्रिप्टमै खोट देखाइदिए । धीरज पहिलो कलाकार हुन्, जसले स्क्रिप्टमा सुरुमै विश्वास गरिदिए । स्क्रिप्ट पढ्नेबित्तिकै चरित्रका लागि तयारी सुरु गरिदिए । धीरजको यो व्यवहारले पहिलोपल्ट सुदीप्तालाई यो क्षेत्रले आफूलाई ‘स्वागत’ गरेको अनुभव भयो ।
गायक समीरले गरेको चरित्रमा सुरुमा आशिरमान देशराज जोशी सोचेकी रहिछिन् । तर, आशिरमान मुम्बई भएकै कारण यता आइहाल्ने वातावरण भएन । त्यसपछि फिल्ममा संगीतको काम गरिरहेका समीरलाई अफर गरिन् । समीरले पनि अडिसन दिए । फिल्ममा विनयले पनि निकै चोटिलो अभिनय गरेका छन् । विनयले पनि सुरुमै फिल्मको लागि 'हुन्छ' भनिदिएका थिए ।
फिल्म निर्माण प्रक्रियामा पितृसत्तात्मक सोच सुदीप्तासँग पनि ठोक्किन आइपुग्यो । छायांकनताका कतिले उनलाई पत्याइदिएनन् । कतिले उनको निर्देशन नसुनेझैं गरिदिन्थे । तर, त्यस्तो अवस्थामा आफ्नो शसक्त उपस्थिति देखाइदिइन् । आफूलाई नपत्याइदिनेहरुलाई 'फायर' गर्न उनी पछाडि परिनन् । यसरी विस्तारै उनले सबैबाट विश्वास बटुलिन् । 'छायांकनताका अलिकति डोमिनेट गर्न खोजे तर, त्यहाँ पनि म कन्फिडेन्ट भएर उभिएँ । अनि केही गर्न सकेनन्,' सुदीप्ता सशक्त सुनिइन् ।
'फिलिङ्स एक्सप्रेस गर्न फिल्म'
सुदीप्ता सानैदेखि विद्रोही स्वभावकी हुन् । परम्परागत सोचहरुसँग पहिल्यैदेखि लड्दै आइन् । 'स्कर्ट लाउन मिल्दैन' भन्ने ठाउँमा त्यस्तै पहिरन पहिरिदिन्थिन् । अतिरिक्त क्रियाकलापमा सधैं अगाडि । रनिङमा उतिकै रुचि । तेकवान्दोकी ब्ल्याकबेल्ट । तर, जीवनमा के गर्ने ? अन्योल हुँदै हुर्किन् ।
सुदीप्ताले के मात्र गरिनन् ? फोटोग्राफी सिकिन् । 'सोसल वर्क'मा स्नातक गरेर फेरि फिल्ममेकिङ पढिन् । वनस्थलीमा हुर्केकी उनले विद्यालय अध्ययन शुभताराबाट गरिन् । ह्वाइट हाउसबाट १२ सकेर 'सोसल वर्क' पढ्दासम्म पनि आफ्नो भविष्यप्रति अन्योल थियो ।
परिवारको साथ पाएरै उनी फिल्मतर्फ मोडिएकी हुन् । आमा बुटिक चलाउँछिन् । बुवा राजनीतितर्फ झुकाव राख्छन् । सन् २०१७/०१८ तिर ‘एकादेशमा फिल्म फेस्टिभल’ चलिरहँदा अचानक सुदीप्ताको ध्यान त्यहाँको एउटा सुटिङको दृश्यले तान्यो । केही मानिस क्यामराले केही खिच्दै थिए । उनलाई फोटोग्राफी सिक्न लगायो । ‘त्यतिबेला महोत्सवमा क्यामराले खिचेर केही सुटिङ भइरहेको थियो । त्यो देख्नेबित्तिकै फोटोग्राफी सिक्न गएँ । अनि विस्तारै फिल्मको कलेज खोजेर अस्करमा पढ्न थालेँ,' उनले सुनाइन् ।
त्यसबीच उनले न्युयोर्कमा फिल्म पढ्ने तयारी पनि थालेकी थिइन् । नेपालको खर्च बेहोर्न सकिने थियो, त्यसैले अस्करमा निर्देशन पढिन् । विद्यार्थी हुँदा '२९६' शीर्षकको लघु फिल्ममार्फत निर्देशनमा डेब्यु गरेकी सुदीप्ताको अन्तिम लघु फिल्म 'समर्स' हो ।
अस्करपछि नै उनको संगत फिल्म निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेलहरुसँग भयो । उनीहरुले सुदीप्तालाई निर्देशन दिन थाले । किम्फमा छनोट उनको लघु फिल्म देखेर ईयूले डकुमेन्ट्रीको जिम्मा दिएको थियो । त्यही क्रममै उनमा फिचर फिल्म गर्ने हुटहुटी जाग्यो । ‘मलाई आफ्नो फिलिङ्स एक्सप्रेस गर्ने बाटो फिल्ममेकिङ नै हो भन्ने लाग्छ । फिल्ममा आफूभित्रका कुरा निक्लिन्छन् । त्यही क्रममै रमिताको पिरती आइपुग्यो,' उनले भनिन् ।
अहिले कतिपय निर्माता सुदीप्तालाई भेट्न आइरहेका छन् । उनलाई भने महिलाकै मुद्दा बोक्ने फिल्ममाथि काम गर्नुछ । 'खासमा मैले अहिलेसम्म जस्तो फिल्म बनाएँ, त्यसमा मेरा आफ्नै कथा र भोगाइ छन् । आफूबाट आएको कथा नै खासमा रोचक बन्दो रहेछ । सायद आफ्नो कथा भन्नु सहज पनि होला,' सुदीप्ताले भनिन्, 'ट्याटु हानेपछि ट्याटु हानिरहन मन लाग्छ भनिन्छ नि । खासमा फिल्म पनि एउटा एडिक्सन नै रहेछ । अब मलाई कहिले नेक्स्ट फिल्म कहिले गर्ने ? भइसक्यो ।'
समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सिना सुदीप्तालाई लेखन र निर्देशनमा बलियो पकड भएको निर्देशकका रुपमा चर्चा गर्छन् । 'उसको निर्देशकीय काम हेरेपछि मलाई सुदीप्ता यो वर्षको उत्कृष्ट निर्देशक हो भन्ने लाग्छ । कहिलेकाहीँ लेखन राम्रो हुँदा निर्देशन चिप्लिन्छ । कहिले लेखन राम्रो हुँदैन निर्देशन राम्रो भइदिन्छ । तर, लेखन र निर्देशन दुवै पक्ष राम्रो भएको निर्देशक हो सुदीप्ता,' उनले प्रशंसा गरे ।
