आफैले लेखेका पात्रहरूले गरे अभि सुवेदीलाई अभिनन्दन 

कलाकारहरू घिमिरे युवराज, कर्मा, भोलाराज सापकोटा, सरस्वती चौधरी, सरोज अर्याल, दिलिप रानाभाट र पवित्रा खड्काले अभिका विभिन्न नाटकका चरित्रको भूमिका निभाएर उनैलाई अभिनन्दन गरेका हुन् ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Characters he wrote himself congratulated Abhi Subedi

What you should know

काठमाडौँ — 'सबैले एकचोटी आफैले आफैलाई छामौं, अनि पहिलेजस्तो छौं कि छैनौं ? भनेर हेरौं,' खुकुलो सर्ट, त्यसमाथि लामो गलबन्दी पहिरिएका पात्र मञ्चमा बोल्दै छन्,' एकचोटी को-को बाँकी रह्‌यौं, एकचोटी हेरौं त ।'

उक्त पात्रले बोल्ने बित्तिकै मञ्चमा रहेका अन्य पात्रहरू एकअर्काको मुखामुख हेर्छन् । अनि फेरि, बिस्तारै चलमलाउन थाल्छन् । एकनासले ओहोर-दोहोर गरिरहन्छन् । आमुन्नेसामुन्ने हुँदा एकअर्कासँग बोलिरहे झैं देखिन्छन् । 

त्यतिकैमा चर्को आवाजमा अर्को पात्र चिच्च्याउँछ -ए काठ्ठा ! छोड्दे त्यसलाई । चर्को बोलीले सबैको ध्यान तान्छ । तर, उक्त पात्रले चिच्च्याउन छोड्दैन । 'यसले के भनेको छ रे ? आफ्नो मात्र कुरा गर्नुपर्ने यसले ?,' दर्शकदीर्घातर्फ हेर्दै उनी कड्किरहन्छन्, 'ए काठ्ठा, के हो त्यसको कुरा ? यदि त्यसको कुरा मनासिब भएन भने यसको र यसका मानिसहरूलाई देश निकाला गरिदिनुपर्छ । ल भन् भन् भन् भन् भन्…के हो तेरो कुरा ?' 

शुक्रबार शिल्पी थिएटरको मञ्चमा यी दुई पात्र मात्रै होइन । प्राडा अभि सुवेदीले नाटक लेखनमार्फत जन्माएका थुप्रै पात्र एउटै मञ्चमा देखिए । 'अग्नीको कथा', 'सान्दाजूको महाभारत', 'चिरिएका साँझहरू', 'मायादेवीका सपना', 'आरुका फूलका सपना' र 'जीवनदेखि जीवनसम्म' नाटकका यी पात्रहरू एकै मञ्चमा त्यसै भने झुल्किएका थिएनन् ।

उनीहरू आफूलाई जन्माउने, जन्मदाता (सर्जक, लेखक, गुरु) एवं रंगकर्मी अभि सुवेदीलाई अभिनन्दन गर्न शिल्पीको मञ्च उक्लिएका थिए । कलाकारहरू घिमिरे युवराज, कर्मा, भोलाराज सापकोटा, सरस्वती चौधरी, सरोज अर्‍याल, दिलिप रानाभाट र पवित्रा खड्काले अभिका विभिन्न नाटकका चरित्र बनेर उनैलाई अभिनन्दन गरे । यी कलाकारले अभिनन्दनसहित सम्मानपत्र पनि प्रदान गरे । 

Characters he wrote himself congratulated Abhi Subedi

विश्व रंगमञ्च दिवसको अवसरमा नाट्यकलाको विश्व संगठन ‘इन्टरनेसनल थिएटर इन्स्टिच्युट–आइटिआई’का मानार्थ सदस्य तथा 'आइटिआई नेपाल'का संस्थापक अध्यक्ष प्राडा सुवेदीलाई अभिनन्दन गरेको हो । नाट्य क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै आइटिआई नेपालको नयाँ समूहले शिल्पीमा 'अभि-अभिनन्दन' आयोजना गरेको हो । 

'अभि-अभिनन्दन' कार्यक्रममा अभिले 'आइटिआई नेपाल'मार्फत आफू कसरी विश्व रंगमञ्चसँग जोडिए भन्ने पृष्ठभुमिबारे सुनाए । 'हामीसँग त्यतिबेला आइटिआईका विभिन्न सम्मेलनमा भाग लिन जाने खर्च हुन्थेन । आइटिआईको फि तिर्ने पैसा हुन्थेन,' अभिले भने, 'त्यतिबेला मैले हाम्रो अवस्था उनीहरूलाई सुनाएँ । उनीहरूले मलाई पेपर लेख्न लगाउँथे, अनि त्यसबापत पाएको पारिश्रमिक नै फि स्वरुप तिर्थें । यसरी आइटिआई चलाउँदै गयौं ।' 

इतिहास बिर्सन नहुने भन्दै अभिले अहिलेको राजनीतिमाथि पनि व्यङ्य गरिहाले ।'इतिहासको ठूलो समस्या विस्मृति हो । नेपालमा भयानक घटना हुन्छन् तर त्यसलाई हिजो केही पनि थिएन जसरी बिर्सन्छन् । अहिलेको घट्नामात्रै हाइलाइट भएर आउँछ । सायद राजनीतिमा अब त्यस्तै हुन्छ,' सुवेदीले भने, 'इतिहास बिर्सनु हुँदैन । इतिहास बिर्सेको राष्ट्र, मान्छे कोही पनि काम लाग्दैन ।' आफूलाई सम्झेर यस किसिमको सम्मान दिए पनि आफूले यस्तो नचाहेको कुरा अभिले सुनाउँदा उपस्थित सबै गललल हाँसे । उनले भनेका थिए, 'मलाई यो सम्मान चाहिँदैन तर गरेर ठिकै गरे ।' 

कार्यक्रममा कलाकार सरस्वतीले आइटिआई नेपालद्वारा भावानुवाद अमिरेकी रंगकर्मी विलियम डाफोको विश्व सन्देश पढेर सुनाइन् । 'सिर्जनाको एउटा कामलाई सबैले एकै समयमा, एउटै ठाउँमा बसेर अनुभव गर्नु यो नै थिएटरको सबैभन्दा ठूलो शक्ति हो । नाटक योजना बनाएर तयार गरिन्छ तर हरेकपटक प्रस्तुत गर्दा त्यो फरक हुन्छ । सामाजिक र राजनीतिक रूपमा पनि आज थिएटर पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ, । किनकि यसले हामीलाई आफूलाई र संसारलाई बुझ्न मद्दत गर्छ र गरिरहेको छ,' सरस्वतीले सन्देश सबैसामू पढिन् ।

विश्व रंगमञ्च दिवसको अवसरमा डाफोले सामाजिक सञ्जालले मानिसलाई टुक्राएर एक्लो बनाइरहेको प्रशङ्ग जोड्दै मानिस–मानिसबीचको सम्बन्धलाई उपकरणहरूसँगको सम्बन्धले बदल्ने खतरा बढिरहेको पनि उल्लेख गरेका छन् ।

'इन्टरनेटले प्रश्न उठाउन सक्छ तर थिएटरले सिर्जना गर्ने आश्चर्यको अनुभव  भने त्यहाँ कमै पाइन्छ । थिएटरले– ध्यान, सहभागिता र एउटै ठाउँमा भेला भएका मानिसहरूको स्वतस्फूर्त समुदाय सिर्जना गर्छ,' सन्देशमा लेखिएको छ, 'कथा, सौन्दर्य, भाषा,  शरीरको गति र मञ्च सजावट यी सबै मिलेर बनेको पूर्णकला नै थिएटर हो । यसले हामीलाई देखाउन सक्छ– के थियो, के छ, र हाम्रो संसार कस्तो हुन सक्छ ?' 

कार्यक्रममै आइटिआई नेपालको पुनः स्थापनाको औपचारिक घोषणासमेत भयो । करिब एक दशकदेखि आइटिआई विश्वबाट बिच्छेद भएको सम्बन्धलाई रंगकर्मी केदार श्रेष्ठको समूहले पुनः स्थापना गरेको छ । आइटिआई नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिला लक्ष्मी महर्जन, मोतीबहादुर कार्की (परिवर्तन), पवित्रा खड्का र सिजन दाहाल छन् ।

कान्तिपुर

Link copied successfully