चैत १९ देखि २३ सम्म हुने निफ फेस्टिभलमा रसियन फिल्म डेज कार्यक्रममार्फत पाँच रसियन फिल्म प्रदर्शन गर्दै सांस्कृतिक सम्बन्ध विस्तार गर्ने तयारी गरिएको छ ।
काठमाडौँ — नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्मस्क्रिनिङ हुने भएका छन् ।
चैत १९ देखि २३ सम्म हुन लागेको फेस्टिभलमा ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले जनाएको छ ।
निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकले बताए ।
‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो,’ उनले भने ।
नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्ष पूरा भएको अवसर पारेर निफमा रसियन फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको पाठकले जानकारी दिए ।
निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियन फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ ।
यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा स्क्रिनिङ हुनेछ ।
आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ ।
