प्राइमा फेसी : बलात्कार, न्याय र पितृसत्तामाथिको प्रश्न

सहमतिमै ओछ्यानसम्म पुगेको जोडीबीचको यौन सम्बन्ध कतिबेला बलात्कार बन्छ ? अथवा कसैको असहमतिबिना जबरजस्त गरिएको यौन सम्बन्ध किन बलात्कार हो ?

चैत्र १२, २०८२

रीना मोक्तान

Prima facie: Questions on rape, justice, and patriarchy

What you should know

काठमाडौँ — महिलामाथि हुने बलात्कार । न्यायमा हुने झमेला । पितृसत्ता, प्रहरी प्रशासन अनि न्यायिक लडाइँ ।

'प्राइमा फेसी'ले समेट्ने यस्तै महिला मुद्दाले यो नाटक आफैमा शसक्त छ । आफ्नो लागि बोल्न सक्ने, अरुका अधिकारका लागि लडिदिन सक्ने महिला पात्रलाई नै पीडित बनाउँदै यो नाटकले बलात्कृत महिलाले भोग्ने पीडा र न्याय प्रणालीको झमेला महसुस गराइदिन्छ । 

सुजी मिलरद्वारा लिखित यो नाटकको अनुवाद अधिवक्ता दुर्गा कार्कीले गरेकी हुन् । चुनावअघि र पछि केही समय मञ्चन भएको यो नाटकको 'रेगुलर शो' कौसीले बन्द नै गरिसक्यो ।तर, कसैले बुक गरिहाले निर्देशक आकांक्षा कार्कीको टिम 'प्राइमा फेसी' देखाउन तयार हुनेछ । गत आइतबार पनि यस्तै एउटा समूहले यो नाटकलाई मञ्चन गराएको थियो । मञ्चमा थिइन्, अभिनेत्री पशुपति राई- नाटकको एक्ली कलाकार । नाटक झैं, बुलन्द अनि बेजोड !

बलात्कारजस्तो जघन्य अपराधको विषय उठाएको यो नाटक वास्तवमै महिला मुद्दा, पीडितका पीडा अनि संघर्षमाथिको बलियो बहस हो ।संवेदनशील विषयको गहिराइ नाप्दै यो नाटकले यौन हिंसापीडित महिलाको मानसिक, सामाजिक, पारिवारिक अनि न्यायिक लडाइँलाई नजिकबाट प्रस्तुत गर्छ । कुनै पुरुष कसरी बलात्कारसम्म पुग्छ भन्ने पाटो नाटकको केन्द्रीय विषय होइन । तर, सहमतिमै ओछ्यानसम्म पुगेको दुई जोडाबीचको यौन सम्बन्ध कतिबेला बलात्कार बन्छ ? अथवा कसैको असहमतिबिना जबरजस्त गरिएको यौन सम्बन्ध किन बलात्कार हो भन्ने निकै संवेदनशील विषयमाथि बहस छाडेको छ । न्याय प्रणालीमा पीडितले कति पीडादायी यात्रा गर्नुपर्छ भन्ने देखाउनु पनि नाटकको उद्देश्य हो । सहमति र असहमतिबीचको मझधारमा उभिएर यो नाटकले व्यंग्य गर्छ- बलात्कारी बचाउने समाज अनि न्याय प्रणालीमाथि । पितृसत्तात्मक समाजमाथि । 

बेलायत बस्ने प्रिजा योञ्जन (पशुपति) 'डिफेन्स लयर' हुन् । अर्थात्, प्रतिवादीका तर्फबाट मुद्दा लड्ने वकिल । भुइँवर्गबाट उठेकी योञ्जन पुरुषको प्रभुत्त्व भएको कानुन व्यवसायीको भिडमा प्रतिवाद गर्ने त्यस्ती वकिल हुन्, जो सधैं पीडकको पक्षमा वकालत गर्छिन् । कुनै मुद्दामा उनी कहिल्यै हार्दिनन् ।

कसरी ? उनकै शब्दमा भन्नुपर्दा कुनै मुद्दा जित्दा 'पहिलो' हुन्छिन्, नजित्दा 'दोस्रो' । कारण यो पेसा यस्तै छ, कुनै दिन- पहिलो । अर्को दिन- दोस्रो ।

तर, उनीहरु एउटा गजब्बको नियममा विश्वास गर्छन् - ट्याक्सी लाइन नियम । ट्याक्सी स्ट्यान्डमा उभिएको चालकले ग्राहकको अनुरोध मानेर गन्तव्यसम्म पुर्‍याउनैपर्ने नियम पालन गर्नुपर्छ । ग्राहकले भनिसकेपछि नाइँ भन्न उसले पाउँदैन । मुद्दा मामिलाको खेला पनि त्यस्तै हो । प्रतिवादी पीडक होस् या पीडित, जसको पक्षबाट पनि मुद्दा लडिदिनैपर्‍यो ।

Prima facie: Questions on rape, justice, and patriarchy

फौजदारी मुद्दाको प्रतिवादीलाई जिताउनु प्रिजाको पेसा हो । अधिकांश समय प्रिजाले बलात्कार, यौन हिंसा-दुर्व्यवहारकै प्रतिवादीका तर्फबाट पैरवी गरिरहेकी हुन्छिन् । मजबुत प्रमाण पेस गर्दै पीडक जोगाएर पहिलो बन्दै आएकी उनै प्रिजामाथि एकदिन प्रेमी जुलियन (एउटै चेम्बरमा काम गर्ने डिफेन्स लयर) ले बलात्कार गर्छ । आफै पीडित भएपछि प्रिजाले आफूलाई न्याय दिलाउन के-के गर्छिन् त ? कठघरामा आफै पीडित भएर उभिँदा प्रिजाले बल्ल महसुस गर्छिन्- बलिया प्रमाण पेस गर्दै पीडकलाई जोगाउने प्रतिवादी वकिलका तिकडम ! अनि बुझ्छिन्, केही मुद्दामा महसुस नै, देखिने प्रमाणभन्दा ठूलो विषय हो । कानुनभन्दा अगाडि न्याय ठूलो हो । 

यो नाटक बलात्कार र यौन हिंसाजस्तो जघन्य अपराधमा न्याय माग्ने पीडितले न्याय प्रणालीमा कस्तो संघर्ष भोग्नुपर्छ भन्ने बलियो उदाहरण हो । न्यायका लागि प्रहरीकहाँ पुगेकी पीडित महिलाले न्यायालयको ढोकामै असुरक्षित अनुभव गरेका थुप्रै उदाहरण हामीकहाँ नै भेटिन्छन् । जस्तै, आफूमाथि बलात्कार भएको केही घण्टामै प्रिजा प्रहरीकहाँ पुग्छिन् । डरैडरमा काँप्दै । विक्षिप्त मनस्थिति लिएर । तर, त्यहाँ उनलाई सुनिदिने महिला प्रहरी हुँदैन । पुरुष प्रहरीसामु अनकनाउँदै आफूमाथि भएको अपराध सुनाइदिन्छिन् । तर, उनलाई विश्वास गर्नुको साटो प्रश्नहरुको वर्षा त्यहाँ हुन्छ । उनीमाथि नै शंका गरिन्छ । यो दृश्यले पीडितको बयानलाई प्रहरीले समेत कसरी पत्याइदिँदैनन्, पीडितलाई झनै पीडामा पार्न त्यही घटनामाथि बारम्बार कसरी प्रश्नहरू तेर्स्याइरहन्छ ? यस किसिमको मुद्दामा प्रहरी प्रशासन कति असंवेदनशील भइदिन्छ ? आफूलाई बिझाइरहने उही घटना सम्झँदै पीडित झनै पीडित बनिनरहनुपर्ने न्याय प्रणालीको यो संरचनालाई नाटकले छर्लंग पारिदिन्छ । 

यस्तो मुद्दामा परिवारको साथ किन आवश्यक हुन्छ ? प्रिजालाई आमाले साथ दिएको देखाउँदै यस पक्षमा पनि नाटकले सोच्न लगाउँछ । छोरीले आफूमाथि भएको दुर्व्यवहारको कुरा गर्नेबित्तिकै प्रिजाकी आमाले उनलाई विश्वास गरिदिन्छन् । न कुनै प्रश्न न आशंका ! नेपालमा त कतिपय समय परिवारकै सदस्यले पनि पीडितमाथि प्रश्न गरिरहेका हुन्छन् । समाज, परिवार अनि विभिन्न अवरोध छिचोलेर कोही आफूमाथि भएको यौन हिंसाबारे बोल्दै छन् भने सुरुमा हामी नागरिक समाज अनि परिवारले कस्तो भूमिका खेल्नुपर्छ ? प्रिजाकी आमा बलियो उदाहरण हुन् ।

बलात्कारजस्तो जघन्य अपराधको विषय उठाएको यो नाटक वास्तवमै महिला मुद्दा, पीडितका पीडा अनि संघर्षमाथिको बलियो बहस हो । त्यस अर्थमा यो नाटक नछुटाएकै बेस ।

Prima facie: Questions on rape, justice, and patriarchy

फेरि 'प्राइमा फेसी'ले साबित गरिदिएको छ कि महिलाको कथा भन्न महिला किन आवश्यक हुन्छ । अभिनेत्री पशुपतिको दुई दशकको खँदिलो अनि परिपक्व अभिनय अब्बलताको साक्षी बन्न यो नाटक हेर्नैपर्ने हुन्छ । २ घण्टासम्म यो नाटकमा बाँधिरहने प्रमुख कडी हुन् उनी । यो नाटकमा उनी एक्लैले थुप्रै चरित्र बाँचेकी छन् । लामा-लामा संवाद, समय र परिस्थिति (जस्तै: पात्र कहाँ कोसँग बोल्दै छ) वर्णनसँगै फरक चरित्र मञ्चमा उभ्याएकी छन्  ।

उदाहरणका लागि मञ्चमा आमा र उनको दृश्य हुन्छ । प्रेमीसँगको दृश्य पनि हुन्छ । उनी एकैक्षणमा आमा बन्छिन्, कहिले प्रिजा । एकैक्षणमा प्रेमिका बन्छिन् त कहिले प्रेमी । कहिले रुँदै गरेको प्रिजा बन्छिन् त कहिले उनैलाई थर्काइरहेको प्रहरी । कहिले प्रतिवादीको वकिल बनेर पैरवी गर्छिन् त कहिले कठघरामा उभिएकी वादी । सेकेन्डमा परिवर्तन हुने पात्रको विभिन्न भाव र हाउभाउ पक्रेर पशुपतिले जसरी एकैपटक थुप्रै कलाकारलाई मञ्चमा उभ्याउँछिन्, त्यसले अभिनयमा उनको सामर्थ्य र शक्ति प्रदर्शन गर्छ । अभिनयको तेजस्वी जादु मञ्चमा पशुपतिले पस्केकी छन् । रुँदारुँदै गह्रौं बनेको गलालाई तुरुन्तै बदलेर कठोर प्रहरीको आवाज पक्रनु, हाउभाउ बदल्नु अनि त्यो मनोभाव समातेर अभिनय गर्नु- नाटकमा पशुपतिले यस्ता थुप्रै चरित्रलाई जीवन्त बनाइदिएकी छन् । 

उनीबाट खिपेर यस किसिमको अभिनय निकाल्न सक्नु निर्देशक आकांक्षाकै पनि निर्देशकीय क्षमता हो । त्यसमाथि यसअघि नभनिएका, बहसमा ल्याउन नचाहेका यस्तै महिला मुद्दाका नाटकका लागि आकांक्षाजस्तो महिला निर्देशकको उपस्थिति किन पनि जरुरी छ भन्ने कुरा पनि यो नाटकले प्रस्ट्याउँछ । फेरि 'प्राइमा फेसी'ले साबित गरिदिएको छ कि महिलाको कथा भन्न महिला किन आवश्यक हुन्छ । 

Prima facie: Questions on rape, justice, and patriarchy

'प्राइमा फेसी'को नेपाली अनुवादमा खट्किएको एउटै विषय हो, 'सेटिङ' । नाटक बेलायतको सेटिङमा छ । अर्थात्, यो नेपाली महिलाकै कथा त हो, तर बेलायततिर बस्ने । बेलायतमै बस्ने भएर त प्रिजा सधैं आमा भेट्न ट्रेनको यात्रा गर्छिन् । तर, यही सेटिङलाई नेपालसँग जोडिदिएको भए पात्रसँग दर्शक अझ निकट हुन पाउने थिए । प्रिजाले ट्रेनको साटो बस चढेर नेपालको कुनै गाउँ पुगेर आमा भेटेको देखाइदिएको भए, नाटकले समाउने यस्तै स्थानीयताले दर्शकलाई पात्र र उनको यात्रासँग कति निकट पुर्‍याउँथ्यो होला ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully