यो नाटक चैत ११ सम्म मञ्चन हुनेछ ।
What you should know
काठमाडौँ — बनको हावा बहेर जान्छ, बनैको शिरमाथि
जीवनको सत्य, मोह र त्याग
रमाउनु पीरमाथि
तपाईंलाई थाहा छ ? नाटकमा संगीतले पनि मुख्य भूमिका खेल्छ ? पात्रहरुले झैं संगीत बोल्छ- कथा सुनाउँछ । मण्डला थिएटरमा मञ्चनरत नाटक 'चरणदास चोर'मा पनि संगीतले शसक्त शैलीमा कथा वाचन गरेको छ । नाटकको सुरुवातमै गाइन्छ बनेको हावा…। संगीत समूहले यो गीतलाई गाइरहँदा मञ्चमा मधेसको वातावरण देखाइन्छ । कोही शिरमा सामान बोकेर यताउता हिँड्छन् त कोही साइकल गुँडाउँदै आइपुग्छन् । साइकलमा झुन्ड्याएको हुन्छ-दुधको भाँडो । पहिलो दृश्यमै निर्देशक मिलन कार्कीले यहाँ मधेस देखाउँदै त्यहाँका जन-जीवन प्रस्तुत गरेका छन् । त्यसपछि गीतमा उल्लेख गरिए झैं सुरु हुन्छ - मोह र त्यागको कथा !
नाटकको मुख्य पात्र, चरणदास(विश्व विजय विक) चोर्दै हिँड्छन् । चोर्नु नै उनको काम । या भनौं चरणदलाई चोरीप्रति अगाध मोह छ । उनी पान बेच्नेदेखि चुरा बेच्दै हिँड्नेलाई पनि छोड्दैनन् । त्यसैले हवलदार जंगे उनलाई लखेटिरहन्छ । उनी जंगेबाट भाग्दै चोरी गरिहिँड्छन् । तर, चरण जे गर्छन् इमान्दारपुर्वक गर्छन् । 'म चोरी पनि इमान्दार भएर गर्छु । कारण चोर्नु मेरो कर्म हो,'चरण निर्धक्क भएर अरुलाई सुनाउँछन् । हवलदार जंग(विनय पन्त)को फन्दामा भने कहिल्यै पर्दैनन् । जसरी अरुलाई छक्क्याउँदै चोर्छन्, त्यसरी नै एक निमेषमै जंगेको आँखामा छारो हालेर भाग्न माहिर छन्-चरण । मनको सच्चा छन्, कोमल ह्रदयका छन् । चोरी गर्दै हिँड्ने क्रममा एकदिन उनीसँग एकदिन ठोक्किन्छन्, ढोंगी बाबा । बाबासँगको भेटपछि नै चरणले त्यागको जीवन जीउँछ । कसरी ? त्यसका लागि नाटक हेर्नुस् । पहिला बाबाको कुरा गरौं । नाटकमा बाबाको प्रवेश संगीतसँगै हुन्छ ।
मनको राहु, मनको साहु
आफ्नै मनको राजा हुँ
आदत, बिगत, जगत, नियत
सबै देख्ने बाबा हुँ
अलोक निरञ्जन, अलोक निरञ्जन
एकहुल अनुयायीसँगै नाच्दै बाबाले मञ्च टेकेको दृश्य रोचक छ । बाबाको भेष, नृत्य अनि त्यसमाथि अनुयायीहरुको एउटै आवाजको यो गीतले मज्जाले ध्यान तान्छ । बाबा बनेका कलाकार, उनको शारीरिक हाउभाउ, अनुहारमा देखिने भाव रमाइलो देखिन्छ । नाटकभरी यो चरित्रले दर्शक हँसाइरहन्छ । उनले जुन लवजमा बोल्छन्, त्यो आफैमा हाँसो लाग्दो छ । उनी सामान्यभन्दा पनि फिल्मी शैलीमा बोले झैं सुनिन्छन् । त्यसमाथि बाबाको भेषमा उनले गर्ने कार्यले पनि नाटक व्यंग्यात्मक छ । बाबा आफ्ना हरेक अनुयायीलाई बारम्बार गुरु दक्षिणा मागिरहन्छन् । बोलीपिच्छे, गुरुदक्षिणा माग्नु उनको नियत हो । बाबाको प्रवेश गीतमा भने झैं उनी मनको राहु हुन् जो पैसा मागेरै साहु बन्न खोज्छन् । यो चरित्रमार्फत नाटकले ढोंगी बाबाहरुलाई मात्रै व्यंग्य गर्दैन, तर पाखण्डी स्वभावलाई पनि प्रश्न गर्छ - चोरले त बाबा भेटेपछि बाटो बदल्यो, तिमीले कहिले सही बाटो समाउँछौ ? यो नाटकले यही चरित्रमार्फत ढोंगीहरुलाई देखाउँदै आफ्नो मार्ग बदल्न प्रेरित गरेको छ । साथै, आफ्नो जे जिम्मेवारी हो त्यसैमा अडिन, सत्यको मार्ग समाउन र असली बनेर जीवन जीउन लगाउँछ ।
यो चरित्रमा कलाकार रिजनसिंह लामाले गरेको अभिनयले दर्शकलाई बाँधेर राख्छ । केही दृश्यमा संवाद कमसल बन्दा, यो चरित्रले बोक्ने वजन पनि सतही बनेको छ । जस्तै एउटा दृश्यमा चरण बाबाकहाँ आएर बिन्ती बिसाउँछ - गुरु मलाई तपाईंको शिष्य बनाउनुहोस् । त्यतिबेला उनी गुरुको पाउ पर्छन्, घुँडा समाउँछन् । त्यतिबेला बाबा बोल्छ - धोती छोड, जो पनि आउँछ, दर्शन गर्न खोज्छ । यो दृश्यमा प्रयोग दुअर्थी संवादले चरित्रले यहाँ पोख्ने भाव र नाटकले दिन खोजेको सन्देशमा अवरोध ल्याइदिन्छ । नाटकको अर्को दृश्यमा पनि यस्तै छ । नयाँ नियुक्त मन्त्रीले विभिन्न ठाउँमा उत्घाटन गरेको दृश्यले सत्तामा रहेकाहरुको कमजोर उपस्थितिमाथि व्यंग्य गर्छ । जनताले मन्त्रीलाई यसरी माला पहिरिदिन्छन् कि उनी कुन -कुराको उद्घाटनमा छन् त्यो नै देख्न सक्दैनन् । मासु पसलको उद्घाटनपछि मन्त्रीले 'यस्तो गन्हाउने के छ त्यहाँ ?' त्यसपछि कसैले भन्छ -बोका !
हबीब तन्वीररद्वारा ५१ वर्षअघि लेखिएको यो नाटकलाई सांगेतिक लयमा भन्न निर्देशक कार्कीले छनोट गरेको सिर्जनात्मक रोजाइ हो । त्यसमाथि तराईको सेटिङमा देखाउन गरिएको मिहेनत मञ्चमा लोभलाग्दो देखिन्छ । तर, यस किसिमको राजनैतिक व्यंग्यसहितको नाटकलाई प्रस्तुत गरिरहँदा निर्देशक कार्कीले यस्तो कमसल लाग्ने संवादमातर्फ अझ बढी ध्यान दिएका भए, व्यंग्यको तिखो प्रहार सत्ताको दुरुपयोग गर्ने, लापरवाही नेतृत्त्वप्रति पर्ने थियो ।
नाटकमा त्यस्ता दृश्य पनि छन्, जहाँ संवादसँगै चरित्रका हाउभाउले दर्शक हाँस्छन् । मन्त्री लडिसकेपछि ढोंगी बाबा भन्छ - झन्डैले लड्नु भो मन्त्रीज्यू ! जे होस्, यसअघि राजन खतिवडा र विकास जोशीको निर्दशनमा २ पटक मञ्चनमा आइसकेको यो नाटकले उही प्रश्न भने अहिले पनि बारम्बार सोधिरहन्छ । चरणले आफ्नो वाचा पूरा गर्यो -के तिमी पनि उसैगरी आफ्नो वाचामा कटिबद्ध छौ ? गरिब जनताको दु:खलाई ज्युँकोत्युँ देखाउँदै नाटकले नेतृत्त्वलाई यही प्रश्न गरिरहन्छ ।
पान बेचेर परिवार सम्हाल्दै आएका लखनदास देशमा बढ्दै गएको महंगीले डराएको छ । तर, उनीसँग पान बेच्नु बाहेक आम्दानीको अर्को उपाय छैन । त्यही पान पनि चरणले चोरिदिन्छ । तर, गाउँको जमिन्दारले उनीजस्ता गरिबलाई सहयोग गर्दैन, दमन मात्रै गर्छ । उनीसँग पीर गर्नुको अर्को विकल्प छैन । नाटकको सुरमै गाइए झैं, पीरमाथि रमाउने गरिब दिनदुखी चरित्रमार्फत यो नाटकले तल्लो वर्गका मानिसको अवस्था देखाएका छन् । जमिनदारहरु, शक्तिमा भएका हवलदारहरु, ढोंगीबाबाहरु यहाँ ठगेरै जीवन बिताउँछन् । गरिबमाथि हैकम चलाउँछन् । तर, गरिबको जीवन गरिबी मै ? जमिनदारहरु त यहाँ 'जाने भए जाउँ हिँड, झिझियाको मेलामा' भन्दै नाचिरहन्छन् । सेटिङअनुसारको यस्तै संगीतले नाटकमा छुट्टै उर्जा थपिदिन्छ । दर्शकलाई सोझै तराई पुर्याउँछ । चरित्रको भावसँग जोडिदिन्छ । नवराज सापकोटा, सौरभ चालिसे, ओजस लामा सुन्दर संगीतका लागि धन्यवादका पात्रहरु हुन् । नाटकको अन्तिम गीत त झनै मिठो छ ।
कथाको कुलो कथामै बग्छ
दुनिया छली छ, कथामै दाग छ
सत्यको कुण्ठा जीवनले बोक्छ
सत्यले किन बलिदान खोज्छ
